भूपु भइसक्दा पनि फाइल भटाभट

निजामती सेवामा लागेर ३७ बर्ष भोटो फटाएको,दर्जनौं सर्टिफिकेटमा त्यही जन्ममिति टिपाएका ,देश विदेश घुमेका कर्मचारीलाई आफ्नो उमेर थाहा भएन भन्दा पत्याइदिने,कस्ले ? यसपटक एक जना बझाङ्गीले आफ्नो उमेर ढाँटेर निजामती किताबखानादेखि मन्त्रालयका अधिकारीहरुसम्मलाई उल्लुमात्र बनाएको रोचक प्रंसग छ ।
यस्ता बदनाम खेलाडी हुन कलकबहादुर खड्का । जागिरे जीवनभर मालदार अड्डामात्र बिताएका उनी अनिवार्य अवकाशमा जानु अघिसम्म चावहिल मालपोतका हाकिम थिए । जहाँ उनले अवकाशपछिको ६ महिना बढी हाकिम भएरै चलाए ।भूपु भएपछि एउटा सामान्य नागरिकको हैसियतमा पुगेका उनले मालपोतको कुर्सीमा बसेर गर्न मिल्ने÷नमिल्ने सबै खालको निर्णय गरे । त्यो निर्णय गैरकानुनी भयो कि भएन ?

Advertisement 1

गत वैशाख ४ मै अवकाश पाएका उनले असोज मसान्तसम्म हाकिम भएर ६ महिनाको अतिरिक्त तलब त खाए नै, त्यहाँ बसेर गर्न मिल्ने नमिल्ने सबै खालका काम गरेर अकुत आर्जन समेत गरेका मालपोतका कर्मचारीहरु सुनाउँछन् । अवकाशपछिको ६ महिना हाकिम बनेर मालपोत कार्यालय चलाएको फेला परेपछि रातारात उनले ४, २०७८ देखि २०७८ असार ३१ सम्म एकलाख ५२ हजार पाँचसय र २०७८ साउन १ गते देखि असोज मसान्तसम्मको दुई लाख १२ हजार छ सय सन्ताउन्न रुपैया कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत फिर्ता गरेका छन् । यसरी तलब फिर्ता गरेकै भरमा उन्मुक्ति दिइएको हो । जबकी निजामती सेवा ऐन अनुसार,यस्तो बदमासी गर्ने कर्मचारीको हकमा पेन्सन पट्टा नै रोक्का गर्ने व्यवस्था छ ।

साधरण नागरिकको हैसियतमा पुगिसकेका उनले कुर्सीमा रहँदा सरकारी जग्गादेखि छुट जग्गा र विवादित जग्गा दर्ता गर्ने लगायतका बदमासीपूर्ण निर्णयहरु गरेका छन् । ती निर्णयहरु के हुन्छन ? अवकाशको ६ महिनासम्म जागिर खाइरहँदा समेत मन्त्रालयदेखि मालपोत तथा भूमिव्यवस्था विभागले किन थाहा पाएन ? इकर्मचारीले त्यहाँका हाकिम पिताम्बर घिमिरेसँग जिज्ञासा राख्दा उनले आफू विभागमा आउनुभन्दा अगावैको बिषय भएकाले जानकारी नभएको भन्दै पन्छिए ।

Advertisement 2

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका कर्मचारीले भने निजामती किताबखानाको कमजोरीका कारण यस्तो समस्या आएको प्रतिक्रिया दिए । कर्मचारीको अवकाश हुनु ६ महिना अगावै यस्तो जानकारी सम्बिन्धत मन्त्रालयलाई दिनुपर्नेमा कलकको हकमा किताबखाना चुकेको ती सहसचिवको भनाई छ तर किताबखानाले भने आफूहरुले पठाएको अवकाशको विवरण भूमि व्यवस्था मन्त्रालयले लुकाएर बदमासी गरेको आरोप लगाएको छ । एक जना पूर्व प्रशासकले भन्छन, कलकले तलब मात्रै फिर्ता गरेर हुँदैन यो अवधिमा उनले गरेका निर्णयहरु रद्द हुनुपर्दछ । यो अवधिमा उनले गरेका दूरगामी निर्णयहरुका कारण राज्यले कति क्षति ब्येहोरेको छ ? त्यसको लेखाजोखा हुनुपर्ने र कलकबाट अख्तियार दुरुपयोग भएको हुँदा उनको पेन्सनपट्टा नै रोक्का हुनुपर्ने कर्मचारीहरुको भनाई छ ।

Advertisement 3

 

यसरी उमेर ढाँटेर सरकारी कर्मचारीले अनिवार्य अवकाश हुने समयभन्दा ६ सात महिनादेखि चार–पाँच वर्ष बढी अवधि जागिर खाने कर्मचारीहरु देखिएका छन् । बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट कम्तिमा १ लाखदेखि बढीमा २० लाखसम्म जफत गरिएको छ । जस्तो सिरहाका साहायक वन अधिकृत रामसेवक यादवबाट १६ लाख,तत्कालीन जिसस सल्यानका नासु महेशराज न्यौपानेबाट १३ लाख ४५ हजार,नासु प्रदेशी थारुबाट ११ लाख ४१ हजार,वन अधिकृत श्याममोहनलाल दासबाट ९ लाख,कृषि विकास अधिकृत घुसारुप्रसाद यादवबाट ९ लाख,नासु राजेन्द्र महत्तोबाट ७ लाख असुल उपर गरिएको छ ।

अहिलेसम्म उमेर ढाँटेर जागिर खाने कर्मचारीहरुबाट २ करोड भन्दा बढी रकम असुल उपर गरिएको निजामती किताबखानाले जनाएको छ । यसरी उमेर ढाँटेर जागिर खाने कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ तर कलकबहादुरको हकमा भने पेन्सनपट्टा रोक्नुको सट्टा उल्टै तलब फिर्ता लिएर उन्मुक्ति दिएको भेटिएको हो ।

प्रकाशित :२०७८ फाल्गुन ४, बुधबार ११:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry