पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ : पुलको नामकरण गर्नेलाई पुरस्कार

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट सीधा अर्को टापु जोड्ने)  प्रविधिको संसारकै लामो दावी गरिएको सो पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको छ । पुलको नामकरण गरेका बागलुङ नगरपालिका–५ मालिकाका घनश्याम सापकोटालाई नगरपालिकाले नगद रु २५ हजारले पुरस्कृत गरेको हो ।

Advertisement 1

सापकोटाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ अर्थात् गण्डकी स्वर्णिम झुला राखेका थिए । शहीद दिवसमा आइतबार आयोजित कार्यक्रममा बाङ्गेचौरमा रहेको शहीदपार्कको मध्यभागबाट पर्वत जोड्ने गरी कालीगण्डकी खोचमा बनेको पुलको नामकरण गर्ने सापकोटालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार हस्तान्तरण गरेका छन ।

नगरपालिकाले पुलको नामकरणका लागि सार्वजनिक सूचना गरेको थियो । उपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा बनेको नाम छनोट समितिले उत्कृष्ट २५ नाम छनोट गरेको थियो । सापकोटाले नाम मात्रै राखेका थिएन उनले राखेको नामको विस्तृत अर्थसमेत समावेश गरेका थिए । पाँच सय ६७ मिटर लामो पुललाई आवतजावतको साधन मात्रै नभई बागलुङको पर्यटनसँग जोड्ने भन्दै नामकरण गरिएको हो । बागलुङका झण्डै ५०० बढी झोलुङ्गे पुलमध्ये नामकरण भएको यो पहिलो पुल हो । अन्य पुलमा सोही ठाउँ वा खोला, नदीमाथिको पुल भनेर चिन्ने गरिन्छ ।

Advertisement 2

शहीदपार्कमा भएको कार्यक्रममा त्यहाँ रहेका शहीदको शालिकमा माल्यार्पण गरिएको थियो । शहीदको सम्झना गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शहीदको बलिदानीले नै अहिलेको व्यवस्था आएको बताए ।

प्रकाशित :२०७८ माघ १७, सोमबार १२:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry