मधेसमा खेलिने ‘हुक्कापाति’ को तयारी हुँदै

सप्तरी। मधेसका जिल्लाहरूमा पितृलाई स्वर्गमा पठाउन जनविश्वाससहित खेलिने ‘हुक्कापाति’ को तयारी सुरु भएको छ। लक्ष्मीपूजाको दिन घरमा पूजा सकेर सन्ठी, सनपाट र खरले बनाएको हुक्कापाति खेल्ने चलन रहिआएकाले यहाँका स्थानीयले तयारी थालेका हुन्।
Advertisement 1
लक्ष्मी पूजा गर्ने बेलामा कलशमा बालिएको दियोबाट सल्काएर हुक्कापाति खेल्ने चलन परापूर्वकालदेखि रहँदै आएको मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष देवेन्द्र मिश्रले बताए। “घरमा भएका सबै पुरुष सदस्यका लागि हुक्कापातिको व्यवस्था गरिन्छ। लक्ष्मीपूजा सकिएलगत्तै घरमूली पुरुषले अघिअघि र अन्य सदस्यले पछिपछि एउटाएउटा हुक्कापाति बोकेर बलिरहेको दियोमा सल्काउँछन्। त्यो हुक्कापाति प्रत्येक कोठामा देखाउँदै धान र दुबो छर्कने गरिन्छ। अन्त्यमा सबैले बोकेको हुक्कापाति एकै ठाउँमा बालिएको आगोमा फालेर यो खेल खेल्ने परम्परा छ”, उनले भने।
आफूलाई सम्झना भएदेखि निरन्तर हुक्कापाति खेल्दै आए पनि किन खेलिन्छ ? भन्ने अहिलेसम्म प्रस्ट नभएको राजविराज नगरपालिका–८ का मनोज दासले बताए। उनले भने, “पुस्तौँदेखि खेल्दै आइएको परम्परा भएकाले यसलाई निरन्तरता दिँदै आएका छौँ। तराई–मधेसका अधिकांश युवाले अनिवार्य रूपमा हुक्कापाति खेल्दै आएका छन्। पितृलाई स्वर्गमा पठाउने जनविश्वास रहेकाले पनि यसलाई निरन्तरता दिँदै आएका हौँ।”
Advertisement 2
प्राचार्य राजीव झाका अनुसार पितृलाई स्वर्गलोकमा पठाउन मधेसमा हुक्कापाति खेल्ने चलन रहिआएको जनविश्वास छ। “दसैँअघि हुने सोह्रश्राद्धमा पितृहरू मृत्यु लोक आएपछि लक्ष्मीपूजासम्म फर्केर गएका हुँदैनन्। उहाँहरूलाई यतै रमाइलो लाग्न थाल्छ। त्यसैले पुनः फर्किन चाहँदैनन्। उहाँहरूलाई पुनः स्वर्ग जाने बाटो देखाउनका लागि हुक्कापाति खेल्ने परम्परा चलेको जनविश्वास छ,” उनले भने। हुक्कापाति खेलिसकेपछि पितृहरू स्वर्ग लोक जाने जनविश्वास रहेकाले लक्ष्मीपूजाको दिन हुक्कापाति खेल्ने गरिएको प्राचार्य झाले बताए।
“अहिले पितृको क्रियाश्राद्ध कतैकतै छोरीले पनि गर्न थालेका छन्। पहिले छोराले मात्र गर्दै आएकाले हुक्कापाति खेलेर पितृलाई स्वर्ग पठाउने काममा बढी मात्रामा हाम्रा पुर्खाले छोरा मान्छेलाई सहभागी गराउँदै आएका थिए,” मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष मिश्रले भने। पुस्तान्तरण र संस्कृतिको संरक्षणका लागि पनि यस्ता मौलिक परम्परालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।








