उपसचिवको ‘कमाइ’: ८७ ठाउँमा जग्गा, २२ वटा घर,१९ बैंकमा रकम मौज्दात

२२ बर्ष सरकारी सेवा गर्दा एक जना उपसचिव तहका कर्मचारीसँग कति बचत होला ? इमान्दार ढंगले मासिक ३० हजार हाराहारी तलब थाप्दा घर परिवार चलाउनै सकस हुने पीडा पोख्छन् इमान्दार कर्मचारीहरु । तर २० बर्ष जागिरे अवधिमा एक जना उपसचिवले आर्जन गरेको सम्पत्ति सुन्दा जो कोहीले जीव्रो टोक्ने अबस्था ।
०५५ साल वैशाखमा वन सेवाको वन अधिकृत तृतीय श्रेणी बाट सरकारी सेवामा प्रवेश गरी ०६८ साल चैतमा जिल्ला वन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीमा बढुवा भएका हेमराज बिष्ट अहिले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, धनगढीमा निमित्त वन निर्देशकका रूपमा कार्यरत छन्।
Advertisement 1
उनले सरकारी सेवामा प्रवेश गरेको यो २२ बर्षको अवधिमा आफ्नो र पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको अनुसुन्धानबाट खुलेसँगै अख्तियारका अधिकारीहरु समेत अचम्मित भएका छन् । विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ । कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा रहेको अख्तियारको आरोपपत्रमा लेखिएको छ ।
बिष्ट वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका साधारण सदस्य, पदाधिकारीको किर्ते दस्तखत, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने, एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई रूख कटानमा संलग्न रहेको अख्तियारको ठहर छ।अख्तियारको दुरूपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भनी सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले दोषीमाथि छानबिन गरी कडा कानुनी कारबाही गर्न सिफारिस गरेको थियो। बिष्टले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अनुसन्धान गरिएको थियो।
Advertisement 2
अकुत आर्जनमा डामिएका उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले बिष्टले सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी बिष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ। आरोपपत्रमा बिष्टलाई छुट्टै सजायको पनि माग छ।
Advertisement 3
अख्तियार दुई जना अनुसन्धान अधिकृत खटाएर विष्टको सम्पत्ति खोजबिनमा जुटेको थियो । त्यसक्रममा हेमराजले सेवा प्रवेश गरेको पाँच महिनापछि २०५६ असोज ६ देखि २०७७ असोज १८ को अवधिमा काठमाडौं, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्कीलगायत जिल्लाका ८७ ठाउँमा जग्गा खरिद गरेको भेटिएको थियो । उनले २०७१ र २०७४ मा सबैभन्दा बढी ८र८ ठाउँमा जग्गा जोडेको देखिन्छ । उनी २०७१ मा प्यूठान र २०७४ मा सुर्खेतको जिल्ला वन अधिकृत थिए । सुर्खेतमा २०७२ जेठदेखि २०७५ असोजसम्म बसेका उनले त्यस अवधिमा काठमाडौंसहित १९ ठाउँमा जग्गा किनेको भेटिएको छ । २०७५ देखि २०७७ को ३ वर्षमा १५ ठाउँमा जग्गा किनेका उनी त्यसबीचमा जिल्ला वन कार्यालय कैलाली, जिल्ला वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र धनगढी र वन निर्देशनालय धनगढीमा कार्यरत थिए ।
उनले बाँकी जग्गा २०५६ देखि २०७० को बीचमा हरेक वर्ष खरिद गरेका देखिएको छ । त्यसमध्ये ५५ ठाउँको जग्गा बेचिसकेका छन् । काठमाडौंको कपन र चुनिखेलमा २२ वटा घर बनाएका उनले १९ वटा बेचिसकेका छन् भने ३ वटा घर पत्नी रुबीका नाममा राखेका छन् । त्यतिमात्र होइन, काठमाडौं, भक्तपुर, दाङ, कैलालीलगायत ३२ ठाउँमा अझै करोडौं मूल्य पर्ने जग्गा आफू र पत्नी रुबीका नाममा राखेका छन् । काठमाडौंको कपनमा मात्रै उनको नाममा १२ ठाउँमा जग्गा छ भने कपन र महांकाल क्षेत्रमा २२ वटा घर बनाएको पाइएको छ । त्यस्तै चपलीमा आठ ठाउँमा जग्गा छ ।
उक्त सम्पत्ति आफू सरकारी सेवा प्रवेश गर्नुअघिको बचत र त्यसपछिका सेवा–सुविधालगायतबाट किनेको विष्टको जिकिर छ । तर, उनको जिकिर पत्याउनै नसकिने अख्तियारको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । ‘आरोपितले नै आफू सरकारी सेवा प्रवेश गरेपछि स्वआर्जित घरजग्गा विवरणअन्तर्गत २२ वटा घर बनाएको, त्यसमध्ये १९ वटा बेचेर ३ वटा भाडामा लगाएको, ८७ ठाउँमा जग्गाजमिन किनेकोमा ३२ स्थानको राखेर अरू बिक्री गरेको देखाएका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘१९ वटा बैंक खाता खोलेका छन्, पैत्रिक सम्पत्ति पनि उल्लेख गर्ने किसिमको नरहेकाले सरकारी सेवा प्रवेश गरेपछि आर्जित जग्गाजमिन वैध स्रोतबाट किनेको कुनै पनि हालतमा देखिँदैन ।’
२०७५ भदौ १ अघिसम्म जिल्ला वन अधिकृतलाई वन र वन्यजन्तुसम्बन्धी अपराधको मुद्दा छिन्ने अधिकार थियो । उनी सातपटक जिल्ला वन अधिकृत भए । वन अधिकृतलाई वनसम्बन्धी मुद्दा छिन्ने अर्धन्यायाधिक अधिकार हुन्छ । त्यस अवधिमा विष्टले मुद्दा प्रभावित बनाउन आर्थिक मोलमोलाइ गरेको हुन सक्ने अख्तियारका अनुसन्धान अधिकृतले बताए । अवैध सम्पत्तिलाई वैध बनाउन विष्टले विभिन्न व्यक्तिलाई १ करोड ४० लाख रुपैयाँ सापटी दिएको जनिने ‘कपाली तमसुक’ अख्तियारमा पेस गरेका छन् ।
तर, सम्पत्ति वैध बनाउने आशयले त्यस्तो कागज बनाइएको अख्तियारको ठहर छ । घर बहालबाट पाएको भनी ३३ लाखभन्दा बढी रकमको विवरण पेस गरेकामा ११ लाख १६ हजारको मात्रै घर बहाल लिएको वैध स्रोत खुल्छ । उनले अकुत सम्पत्ति वैध बनाउनकै लागि काठमाडौंमा बस्ने पत्नी रुबीलाई धनगढीको एक नर्सरीको कर्मचारी भएको र त्यसबाट आकर्षक तलब भत्ता आउने उल्लेख गरेका छन् ।