अविवाहित आमा,श्रीनेहा
भर नहुने जिन्दगीमा अनिगिन्ती हुन्छन रहरहरु । तर कहाँ पूरा हुन्छन र मान्छेका सबै रहरहरु ? रहर थियो मोडल बन्ने अर्थात ग्याल्मरको दुनिँयामा हराउने । यही रहरलाई पच्छ्याउँदै जीवनका केही बर्ष हिडियो पनि तर मान्छेको जीवनमा अनायसै आउँछन्,यस्ता मोडहरु र मोडिन्छ जीवनको बाटो । पढाई पत्रकारिता र समाजशास्त्र । मनको उत्कट चाहनालाई पछ्याउँदैं केही प्रतियोगितामा भाग पनि लिए र सफल भए पदक हात पार्न । केही मुभीहरुमा काम पनि गरे । संयोगले जीवनमा यस्तो मोड आइपुग्यो जस्ले बदलियो जीवनका सपना, गन्तव्य र नक्सा ।
Advertisement 1
२८ बर्ष अघि जन्मिए । सानै उमेरमा बुवा बित्नुभयो । बुवाको जिम्मेवारी पनि आमाको काँधमा थियो । बुबाले दिने माया ममता दिएर हुर्काउनुभयो आमाले । अध्ययन पूरा गरेसँगै जेम्स स्कुलमा सात वर्षसम्म नृत्य प्रशिक्षण गर्दथें । यस्का साथैं मोडलिङ प्रतियोगिताहरु, नृत्य, अभिनयमा जमिरहेकै थिए । कलेजबाट फर्कदै गर्दा एक दिन आँखा अगाडि ठोकीए एक मानव,मानसिक सन्तुलन ठीक थिएन उनको । कुलोको फोहोर पानी निकै कष्टसँग पिइरहेका थिए । प्यारले बोलाए र बोतलको पानी पिउन दिए । भोलीपल्ट देखि उनकै लागि केही न केही खानेकुरा बोकेर जान्थें र उनलाई खुवाउँथें । यो सिलसिला चल्यो करिब एक साता । घरमा सल्लाह गरें र उनलाई बाटोबाट उठाएर ल्याएर उनलाई नुहाई धुवाई कपाल काटेर नयाँ लुगा लगाइदिएपछि उनको स्वरुप फेरियो ।
अस्पतालमा उनको उपचार प्रक्रिया चल्यो । यसरी उपचार सुरू गरिएका उनलाई फेरि बाटामै छोडे केही अर्थ थिएन । उनलाई पुन बाटोमै छोड्न मनले मानेन । सधैंभरी आफ्नै घरमा राख्न पनि सक्ने स्थिती पनि थिएन । उनको सुधार हुँदै गर्दा कानमा ठोक्कियो वालुवाटारमा एक जना अधैंवेंशै महिला उसैगरी मानसिक सन्तुलन गुमाएर हिडिरहेको छिन् । उनको पनि उपचार प्रक्रिया प्रारम्भ भयो ।
Advertisement 2
अनायसै यसरी जोडिए मानसिक रोगीहरुको सेवामा । एक पछि अर्काे,अर्काे पछि अर्काे थपिँदै गए मानसिक रोगीहरु । उपचार प्रक्रिया चल्दै गर्दा केही ठीक पनि हुँदै गए । ठीक भएका ती वेवारिसेहरुलाई कहाँ पठाउने,फेरि सडकमै ? मनले मानेन । तिनका उपचार सिलसिला चल्दा लगाइरहेका गहना बेचिए,मोवाइल बेचियो । र मानसिक सन्तुलन गुमाएकाहरुलाई आश्रम दिने गरी एउटा घर बनाउने सपना जन्मियो ।
एउटा टिम बन्यो सात जनाको । साथी केशव प्रसाद रिजाल,रमिला पोखरेललगायत समाहित भयौं टिममा । र दर्ता ग¥र्यों संस्था स्नेही काख । जतिखेर संस्था दर्ता भयो त्यतिखेर म मात्र १६ वर्षको मात्र थिए । करिअर बनाउने,पैसा कमाउने समय थियो त्यो । आफ्नो करिअर र आर्थिक अवस्था बलियो बनाउन लागि पर्ने उमेरमा हामी भने बिरामी र बालबच्चाको उद्धारमा हिँडिरहेकी थियौं । आफ्नो जीवन उनीहरूकै सेवामा समर्पित गर्ने सोच बनाइरहेका थियौं । शुरु शुरुमा हाम्रो कामलाई पागलपन भन्नेहरु पनि प्रशस्त थिए ।
Advertisement 3
संस्था दर्ता गर्ने त भनियो तर स्थापना गर्न पैसा चाहिन्थ्यो । हामीसँग प्रर्याप्त पैसा थिएन । कानुनी जानकारी टिमका कसैलाई थिएन । तर भन्छन नि तँ आट म पु¥याउँछु ।
संस्था दर्ता त भयो । हामीलाई मनोरोगीहरु राख्नका लागि घर चाहिएको थियो । प्रारम्भ भयो जग्गा खोज्ने । धेरैतिर भौतारियौं तर काठमाडौंका जग्गाधनी कोही पनि आफ्नो जग्गा हामीलाई भाडामा दिन तयार भएनन् । मानसिक रोगीलाई राख्ने भन्ने वित्तिकै जग्गा धनीहरु पन्छिहाल्थें । कतै जग्गा भेटिएन । यद्यपि आतिएनौं । भन्छन,जहाँ इच्छा त्यहाँ उपाय । कुसुन्ती हाइटमा एउटा जग्गा भेटियो । त्यहाँ फोहोरको डंगुर चुलिएको थियो । टोलभरिको फोहोर थुपार्ने ठाउँ थियो त्यो । त्यही माथि बग्दथ्यो ढल । हाम्रो टिमले त्यही जग्गामा संस्थाको घर बनाउने निधो ग¥र्यौ । फोहोरको डंगुर आफैंले सफा ग¥र्यौ र स्थापना ग¥र्यौ नेपाल स्नेही काख ।
एउटा समस्या सामाधान हुन्छ,फेरि भुकुती खेल्दै आइपुग्छ अर्काे समस्या । सोचेका थियौं अब स्नेही काखको घर बनाएपछि सबै समस्याहरु हल हुन्छन् । त्यहाँ मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु राखिएको थाहा पाए पछि टोलभरका मानिसहरुले दुख दिने सिलसिला चल्न थाल्यो । कोही फोहोरको पोका फालिदिन्थे त कोही महिला प्रयोग गरिसकेका प्याड ल्याएर फालिदिन्थें । सहनु बाहेक हामीसँग अरु उपाय थिएन । उजुरी कस्लाई गर्ने ? सिंगो टोल नै हाम्रो खिलाफमा थियो । तर समय सदैव एकनास कहाँ चल्छ र ? लक्ष्य उदेश्य र गन्तव्य पवित्र भएपछि हामीलाई खराब सोच्नेहरु आफैं सच्चिदै गए । हामीले संस्थाभित्रराखेका केही मानसिक रोगीहरुले सुधार भएको देखेपछि उनीहरुको व्यवहार पनि परिवर्तन हुँदै गयो । हामी र हाम्रो कामप्रति सकरात्मक हुँदै गए ।
यद्यपि कुरा काट््नेहरु पनि भेटिन्थें । कोही डलर कमाउनका लागि संस्था खोलेका भन्थें । कुरा काट्नेहरु काटिरहुन हामी हाम्रो लक्ष्य र उदेश्यमा अडिक थियौं । शुरु शुरुमा दुई चार जना मात्र मानसिक रोगीहरु हुन्थें । विस्तारै घर परिवारबाट बहिष्कृत भएका,बाटोमा अलपत्र बसिरहेका,प्रहरी वा समाजबाटै मानसिक रोगी भेटिएसँगै हामीलाई जिम्मा लगाउने क्रम बढ्न थाल्यो । संस्था स्थापना भएको यो एक दशकको यो यात्रामा अहिले कुसुन्ती र धापाखेलमा गरी ८१ जना मनोरोगीहरु हामीसँग छन् । उहाँहरुको औषधोपचार,खानपानमा मासिक झण्डै दश लाख हाराहारी खर्च हुन्छ । केही सेलिव्रेटी,समाजका अगुवा,गन्यमान्यहरु आफ्नो जन्मोत्सवमा हाम्रो आश्रममा आएर उहाँहरुलाई खुवाउनुहुन्छ । र केही भरथेग भक्ष्रहेको छ । संस्थाकै आडमा १७ जना बालबालिकाहरु हुर्किरहेका छन् । आफ्नै कोखबाट जन्म नदिए पनि मलाई आफ्नै सन्तान जस्ता लाग्छन्, कति मान्छे बच्चा दिनुहोस न भन्दै आउँछन । तर आफैंले नजन्माए पनि हुर्काएका यी बच्चा अरुलाई दिनु आफ्नै मुटुको टुक्रा काटेर दिनुजस्तो लाग्छ । मनले मान्दैन ।
स्वभावैले मानसिक रोगीहरु आक्रामक हुन्छन । कोही कराउने,भुताल्ने, चिथोर्नेदेखि जे ले भेट्यो त्यहीले हान्ने । केही त हातमा टोकिदिन्छन् । उद्धारका क्रममा मानसिक रोगीले हातमै टोकिदिने यी घटनाहरु त अब सामान्य लाग्न थाले । यी त दैनिकी नै भएको छ । यस्ता मनोरोगीहरु माया र स्नेहका भोका हुन्छन् । माया र स्नेह दिएको खण्डमा उनीहरु पूर्ववत अबस्थामा फर्कन सक्छन् । परिवार,आफन्तबाट माया नपाएर डिप्रेशनमा गएकाहरु धेरै देखेको छु । उहाँहरु यही आएर ठीक भएर फर्कनुभएको छ । धेरै छन् टुटेका र दुखेका दिल बोकेर हिड्नेहरु ।
कति आफ्ना पीडा दुनिँयाका सामु देखाउँछन,कति लुकाउँछन । कतिपय विजनेश म्यान,जस्का श्रीमान बाहिर छन् । केही वकिलका श्रीमतीहरु मानसिक रोगले गाँजेर बेवारिसे बनेका छन् । जस्लाई रेस्क्यु गरेर यहाँ ल्याएका छौं । उपचार पछि उहाँहरुकै घर परिवारको जिम्मामा लगाएर पठाएका छौं । संस्थाले अहिलेसम्म निको भएर फर्किनेको संख्या ६३ जना छन् ।
कतिपय हामीले भेट्दा आफू को हो ? घर कहाँ हो ? केही थाहा नपाएका मनोरोगीहरु हुन्छन् । माया,प्रेमले विस्तारै उनीहरु पूर्ववत अबस्थामा फकिएका छन् । बेघरहरूलाई साना हस्ताकला काममा संलग्न गराइएको छ । दुर्घटना,इमोसनल,एकान्तपना यी डिप्रेशनका कारण हुन । थाहा छैन आज सद्धे मान्छे भोली चरम डिप्रेशनमा पनि पुग्नसक्छ । अहिले पनि १७ जना नानीबाबुसहित ८१ जना अधवैंशे महिलाहरूले मलाई आमाकै नाताले सम्बोधन गर्दछन् । म सुते र सपना देखे कि जीवन आनन्दमय छ । म उठेर देखे कि जीवन सेवा थियो । मैले गरें र देखे कि सेवामा नै आनन्द थियो । मोडल बन्ने रहर थियो अहिले सामाजिक सेवामा भिजिरहेको छु । सिंगो जीवन नै यसैमा व्यतित गर्ने प्रण छ ।
सुनेको छु राज्यले मनोरोगीहरुलाई मासिक भत्ता दिन्छ रे तर बाटामा अलपत्र भेटिएका ती मनोरोगीसँग नागरिकता हुँदैन । राज्यले नागरिकता नभई भत्ता दिँदैन । कम्तिमा हाम्रो संस्थासँग रहेका यी मनोरोगीहरुलाई नेपालकै छोरा छोरी मानेर भत्ता दिए कमसेकम उनीहरुको औषधोपचार खर्च भए पनि जुट्थ्यो कि । सरकारसँग हामीले आग्रह गरेका छौं । हेरौं सुनुवाई हुन्छ कि हुन्न । भनिन्छ नि जमिनमुनी गाढिएको जराले कहिल्यै पनि आफ्ना हागाँबिगालाई फलमय बनाएको इनाम माग्दैन । यही सेवामा रमाइरहेका मलाई अरु कुनै लोभ लालच छैन । मानसिक रोगीलाई पनि राज्यले एउटा नागरिककै हैसियतले व्यवहार गरोस । राज्यबाट यतिमात्र छ अपेक्षा ।