विमानस्थल र एयरलाइन्सको लापरवाहीले यात्रुको उपभोक्ता अधिकार हनन : मानवअधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको छ । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलमा गरेको स्थलगत अवलोकनका क्रममा उडान सेवा विलम्ब हुनु र यात्रुले सास्ती बेहोर्नुमा एयरलाइन्सको लापरवाही रहेको निष्कर्ष निकालेको हो ।
Advertisement 1
आयोगको सङ्घ र प्रदेश कार्यालयले तीन महिनाको अवधिमा गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनमा हवाई यात्रु खासगरी सुत्केरी, बिरामी, महिला, अपाङ्गता भएका व्यक्ति, अत्यावश्यक कामकाजी र ज्येष्ठ नागरिकले बढी सास्ती बेहोर्नुपरेको उल्लेख गरेको छ । तोकिएको समयमा र विना झन्झट यात्रा गर्न पाउने आम उपभोक्ताको अधिकारका सम्बन्धमा सरोकारवाला पक्षलाई जिम्मेबार बनाउन तथा विमान उडानको निर्धारित समयमा ढिलाइ हुन नदिन गरिएको व्यवस्थापनबारे सम्बन्धित विमान सेवा कम्पनीसँग जानकारी लिने जनाएको छ ।
आज ‘हवाई उडान र नागरिकको उपभोक्ता अधिकार’सम्बन्धी छलफल कार्यक्रममा आयोगका उपसचिव मञ्जु खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै यात्रुको उपभोक्ता अधिकार सम्बन्धमा विमानस्थल तथा विमान सेवा कम्पनीमा गरिएको स्थलगत अनुगमनको सार प्रतिवेदन प्रस्तुत गर्दै उडानबारे यात्रुलाई समयमा सही सूचना नदिइँदा यात्रुले सास्ती बेहोर्नुपरेको पाइएको बताए ।
Advertisement 2
विमानस्थल, सरोकारवाला यात्रु र एयरलाइन्ससँग गरिएको अवलोकन अध्ययनबाट तथ्याङ्कअनुसार आधा घण्टादेखि आठ घण्टासम्म उडान ढिलो हुने गरेको र एयरलाइन्सले बेलैमा र सही सूचना नदिने गरेका कारण यात्रुले कठिनाई भोग्नुपरेको निष्कर्ष निकालिएको छ । लामो समयसम्म विमानस्थलमा पर्खनुपर्ने कारण यात्रु विमानस्थल परिसरका महङ्गा र गुणस्तरहीन खानेकुरा खान बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । साथै विमान उडान ढिलो हुने देखिएमा यात्रुलाई अग्रिम जानकारी नगराइने गरेको तथा विमान उडानको समय परिवर्तनबारे विमानस्थलमा आइपुगेपछि मात्रै अवगत गराउँदा यात्रु दोहोरो मारमा परेको उल्लेख गरिएको छ ।
विमानस्थलमा यात्रुको चाप बढे पनि उनीहरुका लागि विश्रामस्थल, खानेपानी, शौचालयलगायतको सुविधा पर्याप्त नहुँदा यात्रुले सास्ती खेप्नुपरेको जनाइएको छ । हिमाली र पहाडी भेगका उडानमा यात्रुले बढी सास्ती बेहोर्नुपरेको पाइएको छ ।
Advertisement 3
कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले उपभोक्ताको हकहित संरक्षण र सेवालाई व्यावहारिक र मर्यादित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले विमानस्थल र एयरलाइन्सले समयमा सही सूचना नदिएकाले उपभोक्ताले सास्ती भोग्नुपरेको भन्दै उपभोक्ताको अधिकारप्रति सजक रहन सबैमा अनुरोध गरे । विमानस्थलले आुनिक सुविधा दिन तथा नियामकले प्रभावकारी अनुगमन गरेर सेवालाई प्रभावकारी बनाउन अध्यक्ष मगरले आग्रह गरे । उनले हवाई उडानका यात्रुले भोगिरहेको समस्याबारे कसरी समस्या समाधान गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल गरेर छिट्टै सरकारलाई राय सुझावसहितको प्रतिवेदन पेश गर्ने जानकारी दिए ।