बैतडीका ७ जना उम्मेदवारको जमानत जफत

बैतडी। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो।
Advertisement 1
खसेको सदर मतको १० प्रतिशत कटाउन नसक्ने एक स्वतन्त्रसहित सात जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवरले २९९, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालले समान ९४÷९४, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए। उनीहरूको सबैको जमानत जफत गरिएको हो।
Advertisement 2
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।
आइतबार सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए।
Advertisement 3
आइतबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।














