खरेललाई सचिव बनाउन यस्तोसम्म खेलोफड्को
प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक डाक्नुभएको छ । अपरान्ह तीन बजे सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक डाक्नुभएको हो ।
Advertisement 1
मन्त्रिपरिषद्को बैठकले सचिव बढुवासम्बन्धी निर्णय गर्न सक्नेछ । यस अघि सचिव बढुवा सिफारिस समितिले तीन जना सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवत्रय रामेश्वर दंगाल, मुकुन्द प्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवाका एक जना र प्राविधिकतर्फका एक जना सचिवको दरबन्दी थप गर्ने निर्णय गरेको थियो । हाल लोकसेवा आयोगमा कार्यरत रहेका सहसचिव शंकर खरेल आगामी ४ गते अनिवार्य अवकाश पाएर घर जाँदैछन् । सहसचिवमै घर जान लागेको खरेललाई सचिवमा बढुवा गराउनकै लागि दरबन्दी थपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
आज बस्ने मन्त्रिपरिषद्को बैठकले तेश्रो नम्बरमा सिफारिस भएका खरेललाई नै सचिवमा बढुवा गर्नसक्ने आँकलन गरिएको छ ।