डा. कार्की र आचार्य सचिवमा बढूवा हुँदै,दुवाडीको के होला ?
अहिले ५ सचिव पद रिक्त छ । जसमध्ये सचिव बढूवा सिफारिस समितिले प्रशासन सेवा तर्फ तीन जनाको नाम सिफारिस गरिसकेको छ । कृषि तथा वन सेवाबाट डा योगेन्द्र कुमार कार्कीको नाम सिफारिस भइसकेको छ । यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फबाट मंगलवारमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ज्येष्ठ सहसचिव सुरेश आचार्यको नाम सिफारिस भएको छ ।
कार्की र आचार्य दुबै जनाको नाम जेष्ठताका आधारमा सिफारिस भएको हो । निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन अन्तरगत ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप डा कार्की र आचार्यको नाम सिफारिस भएको हो । आचार्यको नाम अघिल्लो बर्ष भदौंमै सिफारिस भए पनि उनको बढूवा हुन सकेको थिएन् । झण्डै १४ महिना पछि उनको नाम जेष्ठताको आधारमा सिफारिस भएको छ । यस्तै डा कार्की जेष्ठताको आधारमा गत वैशाखमै सिफारिस भइसक्नुपर्ने हो तर उनीभन्दा कनिष्ठ राजेन्द्र भारी सचिव बनेर अवकाश पाइसकेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले डा कार्की र आचार्यलाई सचिव बनाउने निर्णय गर्नेछ । यस्तै प्रशासनतर्फको एक जनालाई सचिव बनाउने छ । यसअघि प्रशासनतर्फ सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस भइसकेको छ । यस अघि दुवाडीको नाम ५ पटकसम्म सिफारिस भए पनि बढूवा भएका थिएनन् । यो छैटो पटकको सिफारिस हो । अहिले उनी सचिव बन्ने प्रवल सम्भवना रहेको छ ।