‘बिद्रोही’ न्यायधीशहरुबीच नै विभाजन :- यी ५ न्यायधीश इजलाशमा फर्कन तयार
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामालाई बटमलाइन बनाएर तीन सातादेखि इजलास बंक गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् ।
Advertisement 1
कात्तिक ७ गतेको टी ब्रेकपछि इजलास बंक गर्दै आएका सर्वोच्चका १९ जना न्यायधीशमध्ये पाँच जना एकातिर र बाँकी १४ जना अर्कातिर हुने स्थितिमा पुगेका हुन् ।
अहिले सर्वोच्चमा प्रधानन्यायाधीशससहित २१ जना न्यायाधीशको दरबन्दी छ । त्यसमध्ये एउटा खाली छ । तीमध्ये १४ जना न्यायाधीश एकातिर र बाँकी ५ जना अर्कातिर देखिएका छन् ।
Advertisement 2
अहिले न्यायाधीश ईश्वर खतिवडा देश बाहिर (अमेरिकामा) हुनुहुन्छ । उहाँसहितका अन्य न्यायधीशहरुले विगत २१ दिनदेखि प्रधानन्यायधीश राणाविरुद्ध आन्दोलन गर्दै आएकामा न्यायाधीशहरु नै विभक्त हुने स्थितिमा पुगेका छन् ।
कात्तिक ७ गतेदेखि इजलास बंक गर्दै आएका न्यायाधीशहरु अर्को सातापछि बन्दीप्रत्यक्षीकरणका मुद्दामात्र हेर्न राजी भएका थिए । २२ दिनसम्म प्रधानन्यायाधीश राणाविरुद्ध सँगै बसेर आन्दोलन छेडिरहेका सर्वोच्च अदालतका पाँच जना न्यायधीशले आन्दोलन बहिष्कार गर्दै आजदेखि इजलासमा बसेपछि विद्रोही न्यायाधीशहरुको समूह विभक्त भएको हो ।
प्रधानन्यायाधीश राणाले सोमबारका लागि आठ संयुक्त र दुइ वटा एकल इजलास गरी १० इजलासमा पेसी तोक्नुभएको थियो । यसअघि विद्रोही न्यायाधीशहरुबीच बन्दीप्रत्यक्षीकरणमा मुद्दा मात्र हेर्ने र प्रधानन्यायाधीश राणासँग बेञ्च सेयर नगर्ने सहमति भएको थियो ।
Advertisement 3
सो सहमति विपरित विद्रोही न्यायाधीशहरु नै विभाजन भई राणा पक्षधर भनेर चिनिनुभएका न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल आज इजलासमा फर्कनु भएको छ । त्यसमध्ये १० नम्बरको संयुक्त इजलासबाट न्यायाधीशद्धय केसी र चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा फैसला सुनाउनुभएको छ ।
यस्तै ७ नम्बरको इजलासबाट न्यायाधीशद्धय प्रकाशकुमार ढुंगना र कुमार रेग्मीको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाई गर्दै फैसला सुनाएको हो ।
तीन सातादेखि इजलास बहिष्कार गर्दै आएका पाँच जना न्यायाधीशले आज बसेको नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसियनसँगको छलफल नै बहिष्कार गरेका छन् ।
सो छलफलमा १३ जना न्यायाधीशमात्र उपस्थित थिए भने पाँच जना न्यायाधीश इजलासमा बसेर मुद्दा हेरिरहेका थिए । आज नेपाल बार र सर्वोच्च बारसँगको छलफल बहिष्कार गरेका उनीहरु भोलीदेखि नियमित इजलासमा फर्कने तयारीमा लागेका हुन् ।
ती पाँच जना न्यायाधीशमध्ये हाम्रो सम्पर्कमा आएका एक जनाले अब अन्य १४ जना सहकर्मी न्यायाधीशहरुसँग छलफलमा नबस्ने र भोलिदेखि नियमित इजलासमा फर्कने प्रतिक्रिया दिनुभएको छ । उहाँले फूलकोर्ट बाहेक अरु कुनै पनि किसिमको छलफलमा आफूहरु ९पाँच न्यायाधीश० सहभागी नहुने निश्कर्षमा पुगेको समेत बताउनुभयो ।
यता पाँच जना न्यायाधीश अनुपस्थित रहेसँगै आज बसेको सर्वोच्च बार, नेपाल बार र न्यायाधीशहरुबीचको छलफल निष्कर्षविहीन बनेको बैठकमा सहभागि एक अधिवक्ताले जनआस्थालाई सुनाए ।
न्यायाधीशहरुसँगको वार्तामा सर्वोच्च बारको तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे र नेपाल बारको तर्फबाट अध्यक्ष, उपाध्यक्ष र महासचिव सहभागी थिए ।
सबै न्यायाधीश उपस्थित नभएपछि छलफल निष्कर्षविहीन टुंगिएको छ । सबै न्यायाधीशहरुसँग भोलि मध्यान्ह १२ बजे बस्ने गरी बैंठक टुंगिएको ती अधिवक्ताले सुनाए ।
यता, नेपाल बारले भने आफ्नो आन्दोलन यथावत रहने भन्दै प्रधानन्यायाधीश राणाको राजीनामालाई बटमलाइन बताउँदै आज पनि विज्ञप्ति जारी गरेको छ ।