ऋषि कट्टेलले मुद्दा जिते, ओली प्रचण्डको नेकपा खारेज

नेकपाको आधिकारिताको लडाई ऋृषि कट्टेलले जितेका छन् । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ ।
Advertisement 1

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपाले वैधानिकता नपाउने फैसला सुनाएको छ। अदालतले निर्वाचन आयोगमा दर्ता भइसकेको एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरणबाट गठन भएको नेकपाको अस्तित्व नरहने निर्णय सुनाएको हो।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा नेकपा थपेको थियो ।कट्टेलले ७५ सालमै आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भन्दै रिट दर्ज गरेका थिए । सो मुद्धाको फैसला दुई बर्ष पछि गर्दै उनले अदालतबाट न्याय पाएका हुन । कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।
Advertisement 2
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।सर्वोच्च अदालतले नेकपाको आधिकारिकता दिएसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।
दुवै अध्यक्ष रहेको नेकपा प्राविधिक रुपमा फुटे पनि कानूनी रुपमा फुटेको छैन । यदि ओली र प्रचण्डले संयुक्त हस्ताक्षर गरेर नाम नदिए नेकपा विवाद अर्को झमेलमा फस्नेछ र दलको दर्ता खारेजसम्म हुनसक्छ ।