व्यवसायीले ५ प्रतिशत ब्याज मै ऋण पाउने बाटो खुल्यो,कस्ता व्यवसायीले पाउँछन् ऋृण ?
कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायीले ५ प्रतिशत ब्याज मै कर्जा पाउने बाटो खुलेको छ । सरकारले श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय संचालन निरन्तरतको लागि सरकारले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
Advertisement 1
अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट पारित कार्यविधि अनुसार उद्यम व्यवसाय (घरेलु, साना तथा मझौला उद्यम एवम् व्यवसाय) ले २ वर्षसम्मका लागि ५ प्रतिशत व्याजमा ऋण पाउने छन् । यस्तो ऋण रकम नेपाल राष्ट्र बैंकले वर्गीकरण गरेका अतिप्रभावितले १० करोड रुपैयाँसम्म, मध्यम प्रभावितले ७ करोडसम्म र न्यूनप्रभावितले ५ करोड रुपैयाँसम्म पाउने छन् ।
कस्ता व्यवसायीले पाउँछन् ऋण ?
Advertisement 2
सरकारले हालै स्वीकृत गरेको कार्यविधि अनुसार सस्तो व्याजदरको कर्जा लिनको लागि योग्य हुने उद्यम व्यवसाय यस्ता छन्ः
– व्यवसाय कोभिड–१९ बाट प्रभावित भएको हुनुपर्छ ।
Advertisement 3
– नेपाल सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको हुनुपर्छ ।
– श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको हुनुपर्छ । श्रमिक तथा कर्मचारी संख्या भन्नाले स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी तथा आउटसोर्सिङ्ग गरिएका समेतको संख्यालाई मान्ने कार्यविधिमा उल्लेख छ ।
– श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६÷०७७ को साउनदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानून बमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेको हुनुपर्छ ।
– व्यवसायीले कर्जा प्राप्त गर्न पेश गरेको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको वित्तीय विवरणसँग भिडान भएको तथा करचुक्ता प्रमाणपत्र लिएको हुनुपर्छ । तर, प्रचलित कानून बमोजिम लेखापरीक्षण गर्नु नपर्ने साना ब्यवसायीहरुको हकमा आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण तथा करचुक्ता प्रमाणपत्र लिएको हुनु पर्नेछ ।
– श्रमिक वा कर्मचारीको तलब बैङ्क खातामा जम्मा गरी भुक्तानी दिने गरेको हुनुपर्छ ।
हेर्नुस प्रभावित क्षेत्रको सुचि :
अति प्रभावित क्षेत्रः
१) पर्यटनः
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार।
(२) हवाई तथा पर्यटकीय यातायात;
(३) मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;
(४) चलचित्र उत्पादन, वितरण, सिनेमा हल;
(५) स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी;
(६) मूलभूत रुपमा सडेर गलेर जाने वस्तु (पेरिसेवल गुड्स) जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;
(७) कुखुरापालन व्यवसाय;
(८) पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;
(९) तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय;
(१०) वैदेशिक रोजगार सेवाप्रदायक, शैक्षिक परामर्श सेवाप्रदायक।
मध्यम प्रभावित क्षेत्रः
१) खप्ने सामान जस्तै- प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय;
२) निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कूल, चाइल्ड केयर;
३)यात्रुवाहक स्थल यातायात;
४)ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप;
५)कानूनी, लेखा, इन्जिनियरिङ्ग लगायतका परामर्श सेवा वा व्यवसाय;
६)अस्पताल, क्लिनिक, नर्सिङ्गहोम, डायग्नोस्टिक सेन्टर;
७)हेल्थ सेन्टर वा फिट्नेस सेन्टर;
८)भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण;
९)वन तथा खनिजजन्य उद्योग;
१०)निर्माण व्यवसाय;
११)औषधि उत्पादन;
१२)छपाइ, प्रकाशन तथा सञ्चार गृह;
१३) पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय।
न्यून प्रभावित क्षेत्रः
१)उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना
२)अनलाईन (इ-कमर्स) मा संलग्न व्यवसाय;
३)खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय;
४)दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण;
५)आयातजन्य व्यापार;
६) पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय;
७) औषधि बिक्री वितरण;
८) विज्ञापन सेवा;
९) इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनी;
१०)मदिरा तथा सुर्तीजन्य उद्योग व्यापार, व्यवसाय;
११) ट्रक, ढुवानी व्यवसाय;१२) सुन, चाँदीका गहना तथा बहुमूल्य पत्थर सम्बन्धी व्यवसाय।
https://drive.google.com/file/d/1pIUdve0LAEQ2MnfX3RJ-Z11JtQcR5XSB/view