पन्ज्युनयाँ क्रिकेटको उपाधि शुसितमलाई
बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा सम्पन्न दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको उपाधि आयोजक शुसितम युवा क्लबले जितेको छ । मङ्गलबार भएको फाइनल खेलमा शुसितमले कैलपाल क्रिकेट क्लबलाई २४ रनले हराउँदै उपाधि चुमेको हो ।
Advertisement 1
उपाधिसँगै शुसितमले रु ७७ हजार ७७७ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता कैलपालले रु ३३ हजार ३३३ पाएको छ । शुसितमले १२५ रनको लक्ष्य दिएपनि कैलपाल १७ दशमलव पाँच ओभरमा १०० रनमै समेटियो । कैलपालका लागि हरि ओझाले अविजित ३७ रनको योगदान दिए । कैलपाल यसअघि पहिलो संस्करणको उपविजेता टोली पनि हो । कैलपालको पारी ध्वस्त पार्ने क्रममा शुसितमका किरन कार्कीले चार तथा जनक कार्कीले तीन विकेट लिए । शुसितमका जनकसिंह कार्की म्यान अफ द फाइनल भए ।
त्यसअघि पन्ज्युनयाँ खेल मैदानमा टस हारेर ब्याटिङ गरेको शुसितमले निधारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि जनकसिंह कार्कीले सर्वाधिक ४४ रन बनाए। बलिङतर्फ कैलपालका गोविन्द चन्दले तीन विकेट लिए ।
Advertisement 2
यसैबीच प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत १२५ रन र सात विकेट लिनुभएका शुसितमका कप्तान गोपाल कार्की म्यान अफ द सिरिज हुनुभयो । उहाँले रु पाँच हजार ५५५ पुरस्कार प्राप्त गरे । शुसितमका लागि १३४ रन बनाउनुभएका सन्तोष कार्की उत्कृष्ट ब्याट्सम्यान घोषित भए। शुसितमका लागि १६ विकेट लिनुभएका किरन कार्की उत्कृष्ट बलर हुनुभयो । दुवैले समान रु तीन हजार ३३३ पुरस्कार प्राप्त गरे ।