व्यस्तता ? उपेक्षा ? वा दायित्वहीनता ?

व्यस्तता अविरल प्रवाहमान समयको क्रमिकताको एउटा हिस्सा हो । जीवनको आवश्यकता हो, जीवन्तताको परिचय र जीवित रहनुको सार्थकता पनि हो । हरेक जीवित प्राणी यहाँ सम्मकी किरा फट्यांग्रा र बोटबिरुवा समेत व्यस्तताले आफ्नो जीवनको उपस्थितिको आभास दिरहेका हुन्छन् त्यसमा पनि प्राणीहरुमध्ये आफूलाई सर्वश्रेष्ठ प्राणीको रुपमा स्वपरिभाषित गर्दै आएको गर्वित मानिसको व्यस्तता आलोचित पो कसरी हुन सक्छ ? तर पनि नश्वर जीवनमा आफ्नो व्यस्तताको सार्थकता कता लगानी हुँदैछ भन्ने कुरा मानिसले सोच्नपर्ने हुँदैन र ? सम–सामयिक ज्वलन्त आवश्यकताप्रति आँखा चिम्लिएर विषय बस्तुको गाम्भीर्यता छनौटमा असफल हुनु पनि कमजोर मानसिकताको रुपमा लिन सकिँदैन र ?
कुनै पनि मानिस उपेक्ष्य हुँदैन न सबै मानिस पुज्य नै हुन्छन् । कुनै पनि कार्यक्रममा सबै मानिसहरु आमन्त्रित हुँदैन, त्यसको अर्थ अनामन्त्रितको उपेक्षा र आमन्त्रितको पुजाको अर्थमा पनि लिनु हँुदैन । उद्देश्य, प्रयोजन र कार्यक्रमिक अन्तरसम्बन्धका कारण मानिस आमन्त्रित हुने गर्दछन् । आमन्त्रणलाई गर्व ठान्दै त्यसलाई अस्वीकार गर्दा मपाईंत्वको बोध गर्ने मानसिकता मेरो आफ्नो भाषामा मानसिक रुग्णताको लक्षण हो (मानसिक रोग) ।

Advertisement 1

आज हाम्रो समाजमा समाजका महत्वपूर्ण निकाय र अंगहरुमा पदासीन केही व्यक्तिहरुमा कार्यक्रमको औचित्य र महत्वप्रति भन्दा पनि आफ्नो उपस्थितिको स्तर मापनको रोगले पीडित मनोदशा बढी देखिन्छ । प्रमुख अतिथि हुन नपाउँदा कार्यक्रममा उपस्थिति नै न हुनु एक त कार्यक्रमको महत्वप्रतिको अज्ञानता हो भने अर्कोतिर कार्यक्रममा उपस्थित जनसमुदाय, प्रमुख अतिथि, अतिथि र आमन्त्रित अतिथिगण एवम निमन्त्रणाकर्ताको समेत उपेक्षा हो, निरादर हो, कार्यक्रमकै अपमान समेत हो । यदि उपस्थित जनाउन कुनै कार्यव्यस्तता वा विशेष कारणले न सकिएमा जानकारी गराउनु एउटा सभ्य र सामाजिक भावनाले प्रेरित मानिसको कर्तव्य पनि हो । कुनै पदमा आसीन व्यक्ति त यसप्रति झनै गम्भीर हुनुपर्ने हो, किनकि त्यहाँ मानिस वा व्यक्ति होइन पद आमन्त्रित गरिएको हुन्छ । पदीय आत्मसम्मानको अर्थ नबुझ्ने मानिस पदमा बस्नु मर्यादित मान्न सकिँदैन । अमर्यादित व्यवहार पनि एक खाले मानसिक रोगको लक्षण नै हो ।

प्रसंग गत आश्विन २४ गतेको हो । इ.स. १९९२ देखि हरेक वर्ष विश्वव्यापी रुपमा मनाइँदै आएको विश्व मानसिक स्वास्थ्य दिवस तत्सम्बन्धित विषयलाइ नै अंगाल्दै सेवारत संस्थाले आफ्नो प्रथम प्रकाशन ‘ब्युटिफुल माइन्ड एक चिनारी’ पुस्तक बिमोचन कार्यक्रम समेतको आयोजना गरेको थियो । खैरहनी नगरपालिकाका प्रमुख श्री लालमणि चौधरी प्रमुख अतिथिमा आमन्त्रित हुनुहुन्थ्यो । अत्यन्तै व्यस्तताका बाबजुद पनि हामी उहाँको समय लिन सक्यौं । विशिष्ठ अतिथिहरु हुनुहुन्थ्यो संविधानसभा सदस्य र पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी एवम् चितवन जिविसका पूर्वसभापति तथा जिविस माहासंघका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटा निर्धारित समयमा नै सुरु भएको उक्त कार्यक्रममा सम्मानित व्यक्तिहरुको उपस्थिति हाम्रो लागि गौरवको विषय थियो ।

Advertisement 2

धेरै जना सम्मानित व्यक्तिहरु र संघ–संस्थाहरुका प्रमुख वा प्रतिनिधिज्यूहरु पनि उक्त कार्यक्रममा आमन्त्रित हुनुहुन्थ्यो । उहाँहरुको उपस्थितिप्रति हामी आशावादी थियौं । विभिन्न संघ–संस्था र आदरणीय व्यक्तित्वहरुले प्राप्त सम्मानलाई बिर्सिएर आफ्नो अनुपस्थितिले आफ्नो वास्तविकता उजागर गर्नु हुन्छ भन्ने हामीले सोचेका पनि थिएनांै ।
आमन्त्रित उपस्थित पाहुनाज्यूहरुप्रति हामी कृत्य–कृत्य हुँदै सधंैभरि आभार प्रकट गरि रहनेछौं । अनुपस्थित माहानुभावहरुप्रति पनि हाम्रो सदासयता कायम नै छ । आमन्त्रित सूचिमा रहेका उहाँहरुको परिचय उपस्थित जनसमुदायबीच पस्किन पाउनुलाई पनि सौभाग्यको रुपमा लियौं । उहाँहरुप्रतिको हाम्रो आदरभाव यथावत छ । हामीले हाम्रो कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सक्यौं, हामी सन्तुष्ट छांै र उपस्थित–अनुपस्थित सम्पूर्णमा प्रगतिको सदभाव व्यक्त गर्दछौं ।

मानसिक रोगले आज विश्व आक्रान्त छ । को धनी, को गरिब सबैको घर–घरमा कोभिडको भाइरस झैं विनाबाधा प्रवेशले यसको भयावहताबारे अलिकति पनि सचेत मानिसहरुलाई झक्झकाइ रहेको छ । यसको प्रलयकारितालाई बेलैमा सचेत ढंगले सामना गर्न सकिएन भने मानव समाजमा यसले धेरै ठूलो क्षति पु¥याउने निश्चित छ । यसप्रति जिम्मेवार पदमा आसीन व्यक्तिहरु, विभिन्न संघ–संस्थाहरु, सचेत नागरिक समाजको उत्प्रेरक भूमिका सँगै राजनीतिक दलहरुको सक्रिय सहयोग र मार्गदर्शनको अभाव हुन दिनु हँुदैन । त्यसप्रति सबैको सामूहिक जिम्मेवारीलाई आत्मसात गर्न जरुरी छ ।

Advertisement 3

मानसिक रोग एउटा व्यक्तिलाई लागेपनि यसको चेपेटामा पूरा परिवार, समाज र मानव सभ्यतालाई समेत दुष्प्रभाव पार्दछ । मानसिक रोगी तनाशाह नेता र राज्य संचालकहरुको इतिहास यसका साक्षी हुन् । तर विडम्बना हाम्रो देशमा राजनीतिक दलहरुले अझै पनि जनोपयोगी, समाजोपयोगी संस्कार मूल्य मान्यताहरु विकास गर्न सकेका छैनन् । नातावाद, कृपावाद, भाइभतिजा, फरियावाद, अनियमितता र भ्रष्टाचार यिनका विशेषता बनेको छ । यस्तो अवस्थामा यी दलहरुको प्रतिनिधित्व गर्दै विभिन्न तहगत संरचनामा निर्वाचित जनप्रतिनिधिहरु अपवादमा मात्र जनता र समाजप्रति जवाफदेही भएको पाइन्छ । चामलमा बियाँझै रहेका संस्कारित जनप्रतिनिधिहरुलाई समेत भ्रष्टहरु सँगै एकाकार गर्नु पर्ने बाध्यता दुखद् पक्ष हो ।

प्रकाशित :२०७८ कार्तिक १६, मंगलवार ०५:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry