गृहमा अनेकन गडबडी

एमाले अध्यक्ष केपी ओलीले कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिइरहेकै बेला देउवा सरकारले पनि सोहिअनुरुप आफू निकटस्थ कर्मचारीहरुको खटन पटन शुरु गरेको छ । साढे तीन बर्षसम्म सबैखाले अवसरबाट बन्चित रहेका तिनैलाई छानी छानी प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउन थालिएको हो ।

Advertisement 1

ओली सरकारको पालामा सिडिओ बनेर विभिन्न जिल्ला हाँक्न गएका उपसचिव र सहसचिवहरुलाई पाँच,सात महिना नबित्दै फिर्ता बोलाएर त्यहाँ कांग्रेस निकट कर्मचारीलाई ब्यवस्थापन गर्न लागिएको हो ।

गत शुक्रवारमात्र गृहले प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । सिडिओ हरिप्रसाद घिमिरेलाई १० महिनामै काठमाडौंमा तानेर त्यहाँ मोहनराज जोशीलाई खटाइएको छ ।

Advertisement 2

यस्तै कास्कीका थानेश्वर गौतमलाई दश महिनामै काठमाडौंमा तानेर त्यहाँ सहसचिव जयनारायण आचार्यलाई खटाइएको छ । नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक आचार्य नेतृत्वको समितिले असोज १० गते प्रतिवेदन बुझाएको थियो । यस्तै रसुवा,तेह्रथुम,मुगु,भोजपुर,डोटी,महोत्तरी,मनाङका प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् । ७ महिनाअघि रसुवाको प्रजिअको जिम्मेवारी सम्हाल्न पुगेका ईश्वरीप्रसाद ढकाल गृहमा तानिएका छन् ।

उनी यसअघिका गृहसचिव महेश्वर न्यौपानेका साढु हुन् । त्यहाँ नवराज जैसीलाई खटाइएको छ । जैसी उपसचिवमा बढुवा हुनुअघि कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको सचिव थिए । बढुवा भएलगत्तै गृहको कर्मचारी प्रशासन महाशाखा चलाइसकेका उनलाई रसुवामा खटाइएको हो । यस्तै,लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल ५ महिनामै तानिएका छन् । त्यहाँ अध्यागमनबाट शिशिर वैद्यलाई खटाइएको छ । लुइँटेल गत वैशाखमा मात्र लमजुङ्ग गएका थिए ।

Advertisement 3

यस्तै मुगुमा रोमबहादुर महत, भोजपुरमा कमल ढकाल,महोत्तरीमा बासु दाहाल, मनाङ्गमा रविन्द्र आचार्य, म्याग्दीमा चिरञ्जिवी राना,तेह्रथुममा अनुज घिमिरे तोकिएका छन् । सुनिल खनाल गत असारमा गृह मन्त्रालयमा सरुवा भएपछि डोटी प्रजिअविहीन भएको थियो । निमित्तका भरमा चलिरहेको जिल्ला प्रशासन कार्यालयमा मन्त्रालयले शंकरबहादुर विष्टलाई प्रजिअ तोकेको छ ।

यस अघि नै गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो गृह जिल्लामा ऋृषिराम तिवारीलाई खटाइसकेका छन् । उनलाई भूमिसुधार तथा मालपोतबाट गृहमा तानिएकै भोलिपल्ट रुपन्देहीको सिडिओमा खटाइएको हो । गत भदौ ३० मा सरकारले ८५ सहसचिवको सरुवा गर्दा १४ जना गृहमा तानिएका थिए,तीमध्ये अझै ६ जनालाई जिम्मेवारी दिन सकिएको छैन ।

ती ६ सहसचिवको दैनिकी मन्त्रालय जाने,हाजिर गरेर घर फर्कनेमा सीमित हुन थालेको छ । यही बीच अस्ति शुक्रवार १६ उपसचिवलाई जिम्मेवारी हेरफेर गरी दर्जनलाई गृहमा तानेर जिम्मेवारबिहिन बनाइएसँगै अहिले तिनलाई बस्ने ठाउँकै अभाव भएको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित :२०७८ आश्विन १९, मंगलवार ०८:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry