वडाध्यक्षद्वारा कार्यालयमै डोरीले बाँधेर युवकमाथि निर्घात कुटपिट

जाजरकोटको एक जनप्रतिनिधिले स्थानियलाई कार्यालय परिसरमै डोरीले बाँधेर कुटपिट गरेका छन्। जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर नेपालीले स्थानीय सर्पे नेपालीलाईलाई कार्यालय परिसरमै डोरीले बाँधेर कुटपिट गरेका हुन्।

Advertisement 1

यही साउन १५ गते वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले निर्घात कुटपिट गरेका भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि यो घटनप्रति धेरैले चासो राखेका छन्।

वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेला मदिरा सेवन गरेर आएका नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।

Advertisement 2

प्रहरीले भने मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा दिने क्रममा स्थानीयबाट ती युवामाथि केही हातापात भएको जनाएको छ। घटनाको विषयमा अहिलेसम्म कुनै पक्षबाट उजुरी नआएको स्थानीय प्रहरीले जनाएको छ।

सम्बन्धित पक्षबाट उजुरी आएमा आवश्यक छानविन गरी दोषीमाथि कारबाही गरिने प्रहरी निरीक्षक खुमानन्द न्यौपानेले बताए।

Advertisement 3

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाप्रति चासो राखेका छन्। उनले असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि कानुनी कारबाहीको भागिदार बन्नुपर्ने बताएका छन्।

प्रवक्ता शर्माले घटनाप्रति गृहमन्त्री बालकृष्ण खाँडकोसमेत ध्यानाकर्षण गराएका छन्।

‘जाजरकोट जुहि चाँदेको घटना निन्दनीय छ। असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनै दलका हुन्, कानुनी दण्डको भागिदार बन्नैपर्छ,’ शर्माले बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराउँछु। यस्तो अमानवीय प्रवृत्ति निरुत्साहित गर्न दल र समाजको एक्यवद्धता जरुरी छ।’

प्रकाशित :२०७८ श्रावण २०, बुधबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry