झोला सिलाएर आत्मनिर्भर बन्दै डडेल्धुराकी गौरी

डडेल्धुरा। अमरगढी नगरपालिका–५ तुफानडाँडाकी गौरी ऐर झोला सिलाएर मासिक रु २० हजार आम्दानी गर्दै आत्मनिर्भर बनेकी छन्। अमरगढी नगरपालिका–४ भलियाकी २९ वर्षीया उनले २ वर्षदेखि ‘प्रगतिशील महिला लघुउद्यमी झोला समूह’ मार्फत झोला उत्पादन गर्दै आएकी हन्।
Advertisement 1
नगरपालिकाबाट डेढ महिनाको तालिम लिएपछि उनले झोला उत्पादन सुरु गरेकी हन्। व्यवसाय सुरु गर्दा नगरपालिकाले कपडा र सिलाइ मेसिन पनि उपलब्ध गराएको उनले बताइन्। सुरुमा ५ जना महिला आबद्ध रहेको समूहमा अहिले भने ऐर एक्लैले व्यवसायलाई निरन्तरता दिइरहेकी छन्।
उनले टिफिन ब्याग, साइड ब्याग, स्कुल ब्याग र जेब्रा ब्यागलगायतका झोला उत्पादन गर्दै आएकी छन्। एउटा झोला तयार गर्न करिब चार घण्टा लाग्ने भएकाले दैनिक दुईदेखि तीनवटासम्म झोला उत्पादन गर्ने गरेको उनले बताइन्। उनले उत्पादन गरेका झोलाको माग डडेल्धुरासँगै बैतडीबाट पनि आउने गरेको छ।
Advertisement 2
झोला बनाउन आवश्यक कच्चापदार्थ डडेल्धुरामा सहज रूपमा उपलब्ध नहुँदा धनगढीबाट ल्याउनुपर्ने बाध्यता रहेको ऐरले बताइन्। हाल उपलब्ध मेसिनबाटै काम गरिरहनुभएकी उनले लगानी बढाएर व्यवसाय विस्तार गर्ने योजना सुनाइन्। “पहिला सामान्य खर्चका लागि पनि घरपरिवारमाथि निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैले नै धान्दै आएकी छु”, उनले भनीन्।
परिवारको सहयोग पाएकाले आफू आफ्नो पेसाप्रति सन्तुष्ट रहेको उनले बताइन्। उद्यमी ऐरले अन्य महिलालाई पनि सीप सिकेर आत्मनिर्भर बन्न आग्रह गर्दै झोला बनाउन सिक्न चाहने महिलालाई सीप सिकाउन तयार रहेको बताइन्।








