राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले वार्षिक प्रगतिपत्र सार्वजनिक

काठमाडौं। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (NVTTC) ले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यहरूको विवरण सार्वजनिक गरेको छ। प्रतिष्ठानले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रगतिपत्रमा सीपमूलक जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा तालिम प्रणालीको सुदृढीकरणमा हासिल उपलब्धिहरू समेटिएका छन्।

Advertisement 1

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागलाई ध्यानमा राखी प्रतिस्पर्धी, दक्ष र उद्यमशील जनशक्ति उत्पादन गर्न प्रतिष्ठानले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ। यसै सन्दर्भमा प्रतिष्ठान अन्तर्गत विकास समिति गठन गरी नीतिगत सुधार र कार्यक्रम व्यवस्थापनमा विशेष ध्यान केन्द्रित गरिएको उल्लेख गरिएको छ।

गत आर्थिक वर्षमा प्रतिष्ठानले संस्थाको नियमावली र कार्यस्थलमा आधारित तालिम कार्यविधि स्वीकृत गरी मन्त्रालयमा पेश गरेको छ। SDC को सहयोगमा ५ वर्षे रणनीतिक योजना तयार पारिएको छ भने श्रम बजारसँग प्रत्यक्ष रूपमा जोडिएका ९ वटा रोजगारदाता संघसंस्थासँग समझदारीपत्रमा हस्ताक्षरसमेत गरिएको छ। साथै, ४ अन्तर्राष्ट्रिय संस्थासँग सीप प्रमाणीकरणका लागि सहकार्य अघि बढाइएको छ। इटहरी, वलवा र बुटवलका तालिम केन्द्रहरूको संगठन तथा व्यवस्थापनसम्बन्धी सर्वेक्षण सम्पन्न गरी सिफारिस मन्त्रालयमा बुझाइएको छ। प्रतिष्ठानले पाठ्यक्रम निर्माण कार्यविधि र सीप परीक्षणसम्बन्धी नियमावलीको मस्यौदा समेत तयार गरेको छ।

Advertisement 2

कार्यगत पक्षमा, प्रतिष्ठानले श्रम बजारको मागअनुसार १९ वटा नयाँ सीपमूलक तालिमको पाठ्यक्रम निर्माण गरी स्वीकृति प्राप्त गरेको छ। प्रशिक्षण प्रणालीलाई मजबुत बनाउने उद्देश्यले ७७ जना कर्मचारी र प्रशिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण (TOT) प्रदान गरिएको छ। प्रतिष्ठान तथा त्यसका केन्द्रमार्फत ५,३०० जनालाई विभिन्न विषयमा सीपमूलक तथा सीप अभिवृद्धि तालिम दिइएको छ। तालिम लिएका ३४९ जनाको सीप परीक्षणसमेत सम्पन्न गरिएको छ। त्यस्तै, १४८ जना प्रशिक्षार्थीलाई – जसमा १०८ महिला र ४० पुरुष छन्। उद्यमशीलता तालिम प्रदान गरिएको छ।

श्रम बजारको अवस्था विश्लेषण तथा तालिम प्रभावकारिता मूल्याङ्कनका लागि २ वटा संस्थासँग सहकार्यमा अध्ययन गरिएको छ। अन्तर्राष्ट्रिय रोजगारीको तयारीका सन्दर्भमा दक्षिण कोरिया, इजरायल र वेलायत जाँदै गरेका ८,३२२ जनालाई पूर्व–प्रस्थान अभिमुखिकरण तालिम दिइएको छ।

Advertisement 3

प्रतिष्ठानले आगामी आर्थिक वर्षका लागि पनि विस्तृत योजना अघि सारेको छ। श्रम बजारको मागअनुसार १९ नयाँ पाठ्यक्रम निर्माण गरिनेछ भने १० वटा रोजगारदाता संस्थासँगको सहकार्यमा ८६० जनालाई कार्यस्थलमा आधारित तालिम दिइने र तिनीहरूको रोजगारी सुनिश्चित गरिनेछ। बेरोजगार ९८० युवालाई आधारभूत तथा सीप अभिवृद्धि तालिम प्रदान गरिनेछ। त्यस्तै, परम्परागत पेशा अपनाएका ५०० जनालाई उद्यमशीलता तालिम दिइनेछ, जसले उनीहरूलाई स्वरोजगार बन्न प्रोत्साहन गर्नेछ।

महोत्तरीको वलवामा आधुनिक ल्याबसहितको आवासीय तालिम केन्द्र निर्माणका लागि १ विघा १५ कठ्ठा जग्गा प्राप्त भइसकेको छ भने रु. १३ करोड २७ लाखको लगानीमा भवन निर्माण कार्य प्रारम्भ गरिनेछ। आगामी वर्षमा प्रतिष्ठान र केन्द्रमार्फत ५,७६० जनालाई सीपमूलक तथा सीप अभिवृद्धि तालिम प्रदान गरिने र २,५०० जनाको सीप परीक्षण गरिने लक्ष्य लिइएको छ।

प्रतिष्ठानले प्रस्तुत गरेको प्रगतिपत्रले व्यावसायिक तालिमको क्षेत्रलाई थप सुदृढ गर्न नीतिगत सुधारसँगै कार्यान्वयन पक्षमा समेत महत्वपूर्ण योगदान गरेको उक्त सार्वजनिक कार्यक्रममा जानकारी दिइयो।

प्रकाशित :२०८२ श्रावण ९, शुक्रबार १७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry