परिवर्तन व्यवस्थापन: सिद्धान्त, रणनीति र व्यावहारिक अभ्यास

तुलसीदेवी शर्मा,
१. पृष्ठभूमि
विश्वव्यापीकरण, तीव्र प्राविधिक नवप्रवर्तन, बजारको गतिशीलता र उपभोक्ताको व्यवहारमा आएको अभूतपूर्व परिवर्तनका कारण बीसौँ शताब्दीको उत्तरार्द्धदेखि एक्काइसौँ शताब्दीको डिजिटल युगसम्म आइपुग्दा संगठनहरू निरन्तर अस्थिरता र अनिश्चितताको सामना गरिरहेका छन्। परम्परागत स्थिर व्यावसायिक वातावरण अब इतिहास बनिसकेको छ। आधुनिक संगठनहरू VUCA (Volatile, Uncertain, Complex, Ambiguous) र BANI (Brittle, Anxious, Nonlinear, Incomprehensible) ढाँचाद्वारा चित्रित वातावरणमा सञ्चालित छन्। यस्तो परिस्थितिमा संगठनका लागि परिवर्तन कुनै ऐच्छिक विषय नभई दीर्घकालीन अस्तित्व, प्रतिस्पर्धात्मक क्षमता र निरन्तर विकासको अनिवार्य पूर्वसर्त बनेको छ। ऐतिहासिक रूपमा प्रारम्भिक संगठनात्मक सिद्धान्तहरूले स्थिरता, नियन्त्रण र पूर्वानुमानयोग्यतालाई जोड दिएका थिए। तर वैज्ञानिक व्यवस्थापन र परम्परागत नोकरशाही संरचनाले आधुनिक बजारका तीव्र चुनौतीहरूको सामना गर्न सकेनन्। सन् १९४० को दशकमा कुर्ट लेभिन (Kurt Lewin) ले समूह गतिशीलता र परिवर्तनका चरणहरू प्रस्तुत गरेपछि संगठनात्मक परिवर्तनलाई व्यवस्थित अध्ययनको विषय बनाइयो। त्यसपछिका दशकहरूमा कार्य अनुसन्धान मोडेल (Action Research Model), संगठन विकास (Organizational Development–OD) र मानवीय व्यवहारसम्बन्धी अध्ययनले परिवर्तन व्यवस्थापनलाई छुट्टै अध्ययन विधाका रूपमा स्थापित गरे। आधुनिक व्यावसायिक परिदृश्यमा, विशेषगरी प्रविधिकेन्द्रित युगमा, कृत्रिम बौद्धिकता (AI), डिजिटल रूपान्तरण र निरन्तर पुनर्संरचनाका कारण संगठनहरू ‘एकपटकको परिवर्तन’ बाट ‘निरन्तर अनुकूलनशीलता’ (Continuous Organizational Adaptation) को अवस्थामा पुगेका छन्। तथापि, रणनीति र प्रविधिमा ठूलो लगानी गरिए तापनि अधिकांश संगठनात्मक परिवर्तनका पहलहरू असफल हुने गरेको अध्ययनहरूले देखाएका छन्। यसको मुख्य कारण प्राविधिक पक्षमा मात्र ध्यान दिई परिवर्तनका मानवीय, मनोवैज्ञानिक र सांस्कृतिक पक्षलाई बेवास्ता गर्नु हो। तसर्थ, परिवर्तनको पृष्ठभूमिले के स्पष्ट पार्छ भने भौतिक संरचना र प्रविधिको परिवर्तनभन्दा मानिसहरूको सोच, व्यवहार र कार्यशैलीमा सकारात्मक रूपान्तरण ल्याउनु नै परिवर्तन व्यवस्थापनको मुख्य सार हो।

२. परिवर्तनको अवधारणा

२.१ परिवर्तनको परिभाषा

सामान्य अर्थमा परिवर्तन भन्नाले वर्तमान अवस्था (Current State) बाट अपेक्षित वा अझ उन्नत भविष्यको अवस्था (Desired Future State) तर्फको रूपान्तरणलाई बुझिन्छ। पुरानो कार्यशैली वा सोचप्रति असन्तुष्टि उत्पन्न भई नयाँ कार्यशैलीप्रति विश्वास जागृत हुँदा परिवर्तनको प्रक्रिया सुरु हुन्छ। संगठनको उद्देश्य, योजना, संरचना, प्रविधि, प्रक्रिया वा संस्कृतिमा आउने सुधारलाई संगठनात्मक परिवर्तन भनिन्छ।

Advertisement 1

यसलाई मुख्यतः तीन चरणमा बुझ्न सकिन्छ।

पहिलो, वर्तमान अवस्था (Current State): यसले संगठनमा विद्यमान पुरानो परिस्थिति, अभ्यस्त वातावरण, नियमित कार्यशैली, पुरानो प्रविधि र स्थापित कार्यप्रणालीलाई जनाउँछ।

Advertisement 2

दोस्रो, संक्रमणकालीन अवस्था (Transition State): यो पुरानो कार्यशैली त्यागेर नयाँ कार्यशैली अपनाउने बीचको अवधि हो। यस चरणमा अनिश्चितता, डर र मानसिक तनाव उत्पन्न हुन सक्छ। यही समयमा संगठनात्मक संरचनामा परिवर्तन गर्ने, कर्मचारीलाई तालिम दिने र नयाँ प्रणालीको परीक्षण गर्ने कार्य गरिन्छ। त्यसैले सुरुमा काम गर्न केही असहज महसुस हुन सक्छ।

तेस्रो, भविष्यको अवस्था (Future State): यसले नयाँ लक्ष्यको प्राप्ति, कार्यसम्पादनमा सुधार र स्थिरता, नयाँ प्रविधिको पूर्ण उपयोग, उच्च उत्पादकत्व र सकारात्मक संगठनात्मक संस्कृतिलाई जनाउँछ।

Advertisement 3

त्यसैले परिवर्तनलाई सफल बनाउन प्राविधिक र मानवीय दुवै पक्षबीच सन्तुलन कायम गर्दै संक्रमणकालीन अवस्थाका चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु अनिवार्य हुन्छ।

२.२ परिवर्तनका प्रेरक तत्त्वहरू (Forces of Change)

संगठनमा परिवर्तन स्वतःस्फूर्त रूपमा वा बाह्य तथा आन्तरिक दबाबका कारण उत्पन्न हुन्छ। परिवर्तनका प्रेरक तत्त्वहरूलाई मुख्यतः दुई भागमा विभाजन गर्न सकिन्छ।

१. बाह्य तत्त्वहरू (External Forces)

यी संगठनको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिर रहेका वातावरणीय कारकहरू हुन्, जसले संगठनलाई आफ्नो रणनीति परिमार्जन गर्न बाध्य पार्छन्।

  • प्रविधिको विकास: कृत्रिम बौद्धिकता (AI), स्वचालित मेसिनरी, क्लाउड कम्प्युटिङ र डेटा विश्लेषणले परम्परागत व्यावसायिक मोडेलहरूलाई विस्थापित गरिरहेका छन्।
  • बजार र प्रतिस्पर्धा: नयाँ प्रतिस्पर्धीहरूको प्रवेश, मूल्य प्रतिस्पर्धा र विश्वव्यापीकरणले संगठनहरूलाई थप लचिलो बन्न दबाब सिर्जना गर्छन्।
  • उपभोक्ता व्यवहारमा परिवर्तन: ग्राहकका रुचि, अपेक्षा र आवश्यकतामा तीव्र गतिमा परिवर्तन भइरहेको छ।
  • आर्थिक तथा कानुनी कारकहरू: मुद्रास्फीति, श्रम कानुनमा परिवर्तन, वातावरणीय नियम तथा व्यापारिक नीतिहरू।
  • सामाजिक तथा जनसांख्यिकीय परिवर्तन: विविधतायुक्त जनशक्तिको विकास तथा नयाँ पुस्ता (Gen Z/Millennials) को कार्यस्थलमा प्रवेश।

२. आन्तरिक तत्त्वहरू (Internal Forces)

यी संगठनभित्रै उत्पन्न हुने समस्या वा अवसरहरू हुन्, जसले संगठनात्मक परिवर्तनको आवश्यकता सिर्जना गर्छन्।

  • नेतृत्व तथा व्यवस्थापकीय निर्णय: नयाँ नेतृत्वको आगमनसँगै नयाँ दृष्टिकोण, प्राथमिकता र कार्यदिशाको निर्धारण।
  • कर्मचारीको असन्तुष्टि तथा व्यवहार: कर्मचारीको उच्च पलायन दर (Turnover), अनुपस्थिति तथा कमजोर मनोबल।
  • सञ्चालनगत अपर्याप्तता: पुराना प्रक्रियाका कारण उत्पादनमा ढिलाइ, गुणस्तरमा गिरावट वा लागतमा वृद्धि।
  • संगठनात्मक पुनर्संरचना: संगठनहरूबीचको एकीकरण (Mergers), प्राप्ति (Acquisitions) वा विभागीय समायोजन।

३. परिवर्तन व्यवस्थापन

३.१ परिवर्तन व्यवस्थापनको अर्थ र परिभाषा

परिवर्तन व्यवस्थापन भन्नाले संगठनलाई वर्तमान अवस्थाबाट अपेक्षित भविष्यको अवस्थामा पुर्‍याउने क्रममा मानवीय, प्राविधिक र प्रक्रियागत पक्षहरूलाई व्यवस्थित, नियन्त्रित र योजनाबद्ध रूपमा सञ्चालन गर्ने पद्धतिलाई बुझिन्छ। यसले संगठनका कर्मचारीहरूलाई परिवर्तन स्वीकार गर्न, नयाँ कार्यशैली अपनाउन र त्यसमा दक्षता हासिल गर्न सहयोग पुर्‍याउँछ। विभिन्न विद्वान् तथा संस्थाहरूका अनुसार परिवर्तन व्यवस्थापनका परिभाषाहरू निम्नानुसार छन्।

  • Prosci का अनुसार: इच्छित व्यावसायिक परिणाम हासिल गर्न परिवर्तनको मानवीय पक्षलाई नेतृत्व गर्ने संरचित प्रक्रिया तथा उपकरणहरूको प्रयोग नै परिवर्तन व्यवस्थापन हो।
  • John Kotter का अनुसार: अवरोधहरू हटाउँदै मानिसहरूलाई परिवर्तन स्वीकार गर्न प्रेरित गरी व्यक्ति तथा संगठनलाई वर्तमान अवस्थाबाट भविष्यको अवस्थामा रूपान्तरण गर्ने प्रक्रिया नै परिवर्तन व्यवस्थापन हो।
  • Kurt Lewin का अनुसार: विद्यमान व्यवहारलाई पगाल्ने (Unfreeze), नयाँ व्यवहारमा रूपान्तरण गर्ने (Move) र त्यसलाई पुनः स्थिर बनाउने (Refreeze) प्रक्रिया नै परिवर्तन व्यवस्थापन हो, जसले परिवर्तनलाई दिगो बनाउन सहयोग गर्छ।

४. परिवर्तन व्यवस्थापनका सिद्धान्तहरू

परिवर्तन व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न शास्त्रीय तथा आधुनिक सिद्धान्तहरू प्रतिपादन गरिएका छन्।

४.१ कुर्ट लेभिनको तीन चरणको परिवर्तन मोडेल (Lewin’s Three-Stage Change Model – 1940s)

कुर्ट लेभिनले परिवर्तन प्रक्रियालाई तीन चरणमा विभाजन गरेका छन्।

१. पगाल्ने (Unfreeze): परिवर्तनका लागि तयारी गर्ने चरण हो। यसमा विद्यमान अवस्था (Status Quo) लाई परिवर्तन गर्न आवश्यक वातावरण तयार गरिन्छ। मानिसहरूलाई परिवर्तन किन आवश्यक छ भन्नेबारे जानकारी दिइन्छ र मनोवैज्ञानिक सुरक्षा प्रदान गर्दै पुराना बानी तथा कार्यशैली त्याग्न तयार पारिन्छ।

२. परिवर्तन वा स्थानान्तरण (Change/Move): नयाँ व्यवहार, ज्ञान र कार्यप्रणाली लागू गर्ने चरण हो। यसमा नयाँ भूमिकाको विकास, तालिम तथा प्रभावकारी सञ्चारमार्फत नयाँ विचार र कार्यशैली अवलम्बन गरिन्छ।

३. पुनः स्थिरीकरण (Refreeze): नयाँ व्यवहारलाई संस्थागत तथा दिगो बनाउने चरण हो। यसमा नयाँ कार्यविधिलाई संगठनको संस्कृति, नीति तथा पुरस्कार प्रणालीसँग आबद्ध गरी स्थायित्व प्रदान गरिन्छ।

४.२ जोन कोटरको आठ चरणको परिवर्तन मोडेल (Kotter’s 8-Step Change Model – 1996)

जोन कोटरले ठूला संगठनहरूमा रूपान्तरण ल्याउन आठ चरणको व्यावहारिक ढाँचा प्रस्तुत गरेका छन्।

१. अत्यावश्यकताको भावना सिर्जना गर्ने (Create Urgency): बजारको वास्तविक अवस्था र सम्भावित जोखिमहरू देखाएर परिवर्तन नगर्दा उत्पन्न हुन सक्ने संकटबारे स्पष्ट पार्ने।

२. शक्तिशाली मार्गदर्शक गठबन्धन निर्माण गर्ने (Form a Guiding Coalition): परिवर्तनको नेतृत्व गर्न प्रभावकारी, सक्षम र प्रतिबद्ध नेतृत्व टोली गठन गर्ने।

३. दृष्टिकोण तथा रणनीति विकास गर्ने (Develop Vision and Strategy): परिवर्तनको स्पष्ट मार्गचित्र, उद्देश्य र लक्ष्य निर्धारण गर्ने।

४. दृष्टिकोणको व्यापक सञ्चार गर्ने (Communicate the Vision): संगठनका सबै तहसम्म परिवर्तनको दृष्टिकोण निरन्तर र स्पष्ट रूपमा सम्प्रेषण गर्ने।

५. कर्मचारीलाई सशक्तीकरण गर्ने (Empower Broad-Based Action): परिवर्तनका अवरोधहरू हटाउने र नयाँ विचार कार्यान्वयनका लागि जोखिम लिन कर्मचारीलाई प्रोत्साहित गर्ने।

६. छोटो अवधिमा सफलता हासिल गर्ने (Create Short-Term Wins): प्रारम्भिक चरणमै साना तर देखिने उपलब्धि हासिल गरी कर्मचारीको उत्साह र मनोबल बढाउने।

७. उपलब्धिहरूलाई समेकित गर्ने (Consolidate Gains): प्रारम्भिक सफलतामै सीमित नभई थप सुधार र व्यापक परिवर्तनका कार्यक्रम कार्यान्वयन गर्ने।

८. परिवर्तनलाई संगठनात्मक संस्कृतिमा संस्थागत गर्ने (Anchor Changes in Culture): नयाँ व्यवहार र कार्यशैलीलाई संगठनको मूल्यमान्यता, संस्कृति र परम्परामा समावेश गर्ने।

४.३ प्रोसीको ADKAR मोडेल (Prosci’s ADKAR Model – 2003)

जेफ हियाट (Jeff Hiatt) द्वारा विकसित ADKAR मोडेल व्यक्तिले परिवर्तन प्रक्रियालाई कसरी आत्मसात् गर्छ भन्ने विषयमा केन्द्रित छ।

तत्त्व (Element) अर्थ (Meaning) व्यवस्थापकीय भूमिका (Managerial Focus)
A – Awareness परिवर्तनको आवश्यकताबारे चेतना परिवर्तन किन आवश्यक छ र परिवर्तन नगर्दा के हुन सक्छ भन्ने स्पष्ट रूपमा सञ्चार गर्ने।
D – Desire परिवर्तनमा सहभागी हुने इच्छा व्यक्तिगत लाभ तथा अवसरहरू देखाएर आन्तरिक प्रेरणा जगाउने।
K – Knowledge परिवर्तन कसरी गर्ने भन्ने ज्ञान तालिम, शिक्षा तथा कार्यशाला सञ्चालन गर्ने।
A – Ability नयाँ सीप प्रयोग गर्ने क्षमता व्यावहारिक अभ्यास, कोचिङ तथा आवश्यक स्रोतसाधन उपलब्ध गराउने।
R – Reinforcement परिवर्तनलाई दिगो बनाउने सुदृढीकरण प्रोत्साहन, पुरस्कार तथा निरन्तर अनुगमन गर्ने।

४.४ विलियम ब्रिजेसको संक्रमण मोडेल (Bridges’ Transition Model – 1991)

विलियम ब्रिजेसका अनुसार, ‘परिवर्तन बाह्य घटना हो भने संक्रमण (Transition) आन्तरिक मनोवैज्ञानिक प्रक्रिया हो।’ मानिसहरूले परिवर्तनलाई आत्मसात् गर्ने क्रममा निम्न तीन चरणको अनुभव गर्छन्।

१. अन्त्य, गुमाउनु र त्याग्नु (Ending, Losing, Letting Go): पुरानो पहिचान, सम्बन्ध र दिनचर्या त्याग्नुपर्दा उत्पन्न हुने दुःख, असहजता र अस्वीकारको अवस्था।

२. तटस्थ क्षेत्र (Neutral Zone): पुरानो अवस्था समाप्त भइसकेको तर नयाँ अवस्था पूर्ण रूपमा स्थापित नभइसकेको संक्रमणकालीन अवधि। यस चरणमा अन्योल र तनावसँगै उच्च सिर्जनशीलताको सम्भावना रहन्छ।

३. नयाँ सुरुवात (New Beginning): नयाँ ऊर्जा, प्रतिबद्धता र पहिचानका साथ नयाँ कार्यशैली अवलम्बन गर्दै अघि बढ्ने अवस्था।

४. ६ अन्य महत्त्वपूर्ण सिद्धान्तहरू

  • General Electric को CAP Model: Shared Need, Vision, Mobilize Commitment, Make Change Last, Monitor Progress, Change Systems & Structures र Lead Change।
  • McKinsey को 7-S Framework: Strategy, Structure, Systems, Shared Values, Style, Staff र Skills बीच सन्तुलन कायम गर्ने।
  • Van de Ven & Poole (1995) का प्रक्रिया सिद्धान्तहरू: Teleological, Dialectical, Life Cycle र Evolutionary प्रक्रियाहरू।

५. संगठनात्मक परिवर्तन

५.१ संगठनात्मक परिवर्तनका प्रकारहरू

संगठनमा हुने परिवर्तनलाई तिनको क्षेत्र, गहिराइ र प्रकृतिका आधारमा विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ।

१. गति र परिमाणका आधारमा

  • क्रमिक परिवर्तन (Incremental Change): विद्यमान प्रणालीमा क्रमशः साना सुधार गर्दै जाने प्रक्रिया। उदाहरणका लागि, सफ्टवेयर अद्यावधिक।
  • रूपान्तरणकारी परिवर्तन (Transformational/Radical Change): संगठनको मूल संरचना, रणनीति तथा संस्कृतिमा व्यापक र तीव्र परिवर्तन ल्याउने प्रक्रिया।

२. प्रतिक्रियाका आधारमा

  • प्रतिक्रियात्मक परिवर्तन (Reactive Change): बाह्य संकट वा समस्या उत्पन्न भएपछि त्यसको समाधानका लागि बाध्य भएर गरिने परिवर्तन।
  • पूर्वानुमानात्मक परिवर्तन (Proactive Change): भविष्यमा आउन सक्ने अवसर तथा चुनौतीको पूर्वआकलन गरी योजनाबद्ध रूपमा गरिने परिवर्तन।

३. Nadler & Tushman को परिवर्तन वर्गीकरण (Typology of Change)

वर्गीकरण क्रमिक परिवर्तन (Incremental) रूपान्तरणकारी परिवर्तन (Transformational)
पूर्वानुमानात्मक (Proactive) ट्युनिङ (Tuning): कार्यदक्षता अभिवृद्धिका लागि गरिने आन्तरिक समायोजन। पुनः अभिमुखीकरण (Reorientation): भावी बजारको आवश्यकता सम्बोधन गर्न संगठनको रणनीतिमा परिवर्तन गर्ने।
प्रतिक्रियात्मक (Reactive) अनुकूलन (Adaptation): प्रतिस्पर्धीको कदमको प्रतिक्रियास्वरूप गरिने सुधार। पुनर्सिर्जना (Re-creation): संकटबाट बच्न संगठनलाई नयाँ स्वरूपमा रूपान्तरण गर्ने।

६. परिवर्तन व्यवस्थापनको प्रक्रिया

परिवर्तन व्यवस्थापन एकपटक सम्पन्न हुने घटना नभई चरणबद्ध प्रक्रिया हो। विभिन्न विद्वान्हरूले प्रस्तुत गरेका प्रक्रियालाई एकीकृत गर्दा निम्न पाँच प्रमुख चरणहरू पहिचान गर्न सकिन्छ।

१. आवश्यकताको पहिचान तथा निदान (Diagnosis)

↓

२. योजना निर्माण तथा रणनीति निर्धारण (Planning)

↓

३. सञ्चार तथा सरोकारवालाको संलग्नता (Communication & Engagement)

↓

४. कार्यान्वयन तथा क्षमता विकास (Implementation & Training)

↓

५. अनुगमन, मूल्याङ्कन तथा सुदृढीकरण (Monitoring & Reinforcement)

चरण १: आवश्यकताको पहिचान तथा निदान (Diagnosis & Recognition)

  • विद्यमान समस्या, कार्यसम्पादनमा आएको गिरावट तथा बाह्य अवसरहरूको पहिचान गर्ने।
  • तथ्याङ्क सङ्कलन, स्वाट विश्लेषण (SWOT Analysis) तथा फोर्स फिल्ड विश्लेषण (Force Field Analysis) मार्फत संगठन परिवर्तनका लागि कति तयार छ भन्ने मूल्याङ्कन (Readiness Assessment) गर्ने।

चरण २: योजना निर्माण तथा टोली गठन (Planning & Team Building)

  • स्पष्ट र मापनयोग्य लक्ष्यहरू (SMART Goals) निर्धारण गर्ने।
  • मार्गदर्शक गठबन्धन (Guiding Coalition) वा परिवर्तनका अभिकर्ताहरू (Change Agents) छनोट गर्ने।
  • आवश्यक स्रोत तथा साधनको उचित व्यवस्थापन गर्ने।

चरण ३: सञ्चार तथा प्रतिबद्धता हासिल गर्ने (Communication & Engagement)

  • परिवर्तन किन आवश्यक छ र यसबाट आफूलाई के फाइदा हुन्छ (WIFM – What’s In It For Me) भन्ने कुरा प्रत्येक कर्मचारीलाई स्पष्ट पार्ने।
  • द्विपक्षीय सञ्चार (Two-Way Communication) प्रणाली स्थापना गरी कर्मचारीका जिज्ञासा, आशङ्का र डरहरू सुन्ने तथा सम्बोधन गर्ने।

चरण ४: कार्यान्वयन तथा क्षमता अभिवृद्धि (Implementation & Training)

  • नयाँ प्रक्रिया वा प्रविधिको प्रयोग सुरु गर्ने।
  • नयाँ कार्यसम्पादनका लागि आवश्यक ज्ञान र सीप विकास गर्न कर्मचारीलाई तालिम उपलब्ध गराउने।
  • कार्यान्वयनका क्रममा देखिने प्रारम्भिक अवरोधहरू हटाउने।

चरण ५: अनुगमन, मूल्याङ्कन तथा दिगोपना (Monitoring & Sustaining)

  • प्रमुख कार्यसम्पादन सूचकहरू (KPIs) का आधारमा परिवर्तनको प्रभाव मापन गर्ने।
  • सफलता हासिल भएका क्षेत्रका कर्मचारीलाई पुरस्कार तथा प्रशंसा प्रदान गर्ने।
  • निरन्तर गुणस्तर सुधार (Continuous Quality Improvement – CQI) को चक्र अवलम्बन गर्ने।

७. सफल परिवर्तनका लागि नेतृत्वको भूमिका:

सफल परिवर्तनका लागि नेतृत्वले परिवर्तनको स्पष्ट दृष्टिकोण (Vision) र रणनीति निर्माण गर्ने, परिवर्तनको तत्कालीन आवश्यकता र औचित्य (Sense of Urgency) उजागर गर्ने, अधिकार र प्रभावकारिता भएका व्यक्तिहरूको शक्तिशाली मार्गदर्शन टोली (Guiding Coalition) गठन गर्ने, दुई-तर्फी, पारदर्शी र निरन्तर सञ्चार प्रणाली स्थापना गर्ने, कर्मचारीहरूप्रति समानुभूति (Empathy) र सक्रिय श्रवण (Active Listening) को अभ्यास गर्ने, कार्यस्थलमा मनोवैज्ञानिक सुरक्षा (Psychological Safety) र खुला संवादको वातावरण बनाउने, परिवर्तनको मार्गमा आउने संरचनात्मक तथा प्रक्रियागत अवरोधहरू हटाउने, कर्मचारीहरूलाई नयाँ विचार र कार्यसम्पादनका लागि सशक्तीकरण (Empowerment) गर्ने, परिवर्तनप्रतिको सम्भावित प्रतिरोध (Resistance) को पूर्वानुमान र कुशल व्यवस्थापन गर्ने, कर्मचारीहरूको आन्तरिक र भावनात्मक अभिप्रेरणा (Motivation) जगाउने, स्वयं उदाहरण बनेर सोहीअनुसारको व्यवहार प्रदर्शन गर्ने (Walk the Talk), टोलीको मनोबल बढाउन अल्पकालीन सफलताहरू (Short-Term Wins) को योजना बनाई उत्सव मनाउने, संगठनात्मक लक्ष्य र व्यक्तिगत प्रयासहरूबीच उचित सामञ्जस्य (Alignment) कायम गर्ने, नयाँ प्रणाली सञ्चालनका लागि आवश्यक तालिम, स्रोत र साधनको उपलब्धता गराउने, प्रविधि तथा डेटा-आधारित भावना विश्लेषण (Predictive Analytics) मार्फत निर्णय लिने, नेतृत्व अधिकारलाई संगठनका विभिन्न तहसम्म विस्तार (Distributed Leadership) गर्ने, निरन्तर सिकाइ (Continuous Learning) र प्रतिक्रिया (Feedback) को संस्कृति प्रवर्द्धन गर्ने, अन्तरविभागीय सहकार्य (Cross-Functional Collaboration) लाई प्रवर्द्धन गर्ने, कर्मचारीहरूको योगदानको कदर तथा उपयुक्त पुरस्कार प्रणाली लागू गर्ने र हासिल भएका सुधारहरूलाई संगठनात्मक संस्कृति तथा नीतिहरूमा संस्थागत (Anchor in Culture) गरी दिगोपन सुनिश्चित गर्ने भूमिका निर्वाह गर्नुपर्दछ।

८. परिवर्तन व्यवस्थापनको आवश्यकता तथा औचित्य

८.१ रणनीतिक औचित्य (Strategic Rationale)

परिवर्तन व्यवस्थापनले संगठनको दीर्घकालीन सफलता, रणनीति र बाह्य वातावरणसँगको सामञ्जस्यता सुनिश्चित गर्दछ। यसका प्रमुख रणनीतिक औचित्यहरू निम्न बमोजिम छन्:

  • तीव्र गतिमा परिवर्तन भइरहेको बजारमा प्रतिस्पर्धीभन्दा अगाडि रही प्रतिस्पर्धात्मक लाभ (Competitive Advantage) हासिल गर्न।
  • परिवर्तनलाई संस्थागत गरी संगठनको दीर्घकालीन स्थायित्व (Long-Term Sustainability) र अस्तित्व रक्षा गर्न।
  • नयाँ प्रविधि, विचार तथा प्रणालीहरूलाई सहज रूपमा भित्र्याई नवप्रवर्तनका लागि उत्प्रेरक (Catalyst for Innovation) बन्न।
  • समयमै रूपान्तरण नहुँदा नोकिया वा कोडाकजस्तै आउन सक्ने संकट, विघटन र संगठनात्मक विफलताबाट जोगिन।
  • प्रविधि, अर्थतन्त्र, नियमन र सामाजिक दबाबजस्ता बाह्य वातावरण (PEST Factors) सँग सामञ्जस्य कायम गर्न।
  • संगठनात्मक रणनीति, उद्देश्य र कार्यसम्पादन क्षमताबीच पूर्ण तालमेल (Strategic Alignment) मिलाउन।
  • बजारका उदीयमान अवसर तथा चुनौतीहरूको पूर्वानुमान गरी रणनीतिक छनोट (Strategic Choice) गर्न।
  • आधुनिक VUCA (अनिश्चितता) र BANI (अस्थिरता) परिवेशले सिर्जना गरेका जोखिमहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न।
  • डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगबाट नयाँ व्यावसायिक सम्भावनाहरू उजागर गर्न।
  • संगठनको प्राप्ति, विलय (Mergers & Acquisitions) तथा संरचनात्मक पुनर्गठनलाई सफल बनाउन।
  • आन्तरिक साधन, स्रोत र क्षमताहरूको अधिकतम परिचालन (Resource Optimization) सुनिश्चित गर्न।
  • संगठनात्मक जडता (Organizational Inertia) र पुराना असान्दर्भिक बानीहरूलाई अन्त्य गर्न।
  • ग्राहकको बदलिँदो रुचि, प्राथमिकता र वफादारिता (Customer Loyalty) कायम राख्न।
  • परिवर्तन आयोजनाहरूको पोर्टफोलियो व्यवस्थापन र प्राथमिकता निर्धारण (Portfolio Optimization) मा सुधार ल्याउन।
  • बजारमा संगठनको ब्रान्ड, साख, प्रतिष्ठा र मूल्य (Reputation & Value) लाई सुदृढ बनाउन।

८.२ सञ्चालनगत तथा मानवीय औचित्य (Operational & Human Rationale)

परिवर्तनको सफलता मूलतः मानिसहरूमा निर्भर रहने भएकाले यसका प्रमुख सञ्चालनगत तथा मानवीय औचित्यहरू निम्न बमोजिम छन्:

  • कर्मचारीमा उत्पन्न हुने अनिश्चितता, डर र असन्तुष्टिलाई सम्बोधन गरी प्रतिरोध (Resistance) न्यूनीकरण गर्न।
  • निरन्तरको परिवर्तनका कारण कर्मचारीहरूमा हुने परिवर्तनजन्य मानसिक थकान (Change Fatigue) र तनाव रोक्न।
  • प्रविधि वा संरचनामा गरिएको ठूलो लगानीको प्रतिफल (ROI & Value Realization) सुनिश्चित गर्न।
  • कर्मचारीहरूको संस्थाप्रतिको निष्ठा, प्रतिबद्धता, मनोबल र टिकाउपन (Employee Retention & Morale) अभिवृद्धि गर्न।
  • परिवर्तनका उद्देश्य र प्रक्रियाहरूबारे खुला, पारदर्शी र दुई-तर्फी सञ्चार (Effective Communication) कायम गर्न।
  • परिवर्तन योजना र निर्णय प्रक्रियामा कर्मचारीहरूलाई सहभागी गराई स्वामित्व (Co-ownership) बोध गराउन।
  • नयाँ कार्यप्रणाली सञ्चालनका लागि कर्मचारीहरूको सीप विकास र क्षमता अभिवृद्धि (Upskilling & Training) गर्न।
  • कार्यस्थलमा मनोवैज्ञानिक सुरक्षा (Psychological Safety) र अनुकूल संगठनात्मक संस्कृति निर्माण गर्न।
  • संक्रमणकालीन अवस्था (Transition State) मा हुन सक्ने उत्पादकत्वको गिरावट (Productivity Loss) लाई न्यूनतम बनाउन।
  • अस्पष्टता र सञ्चारहीनताका कारण सिर्जना हुने सूचनाको शून्यता (Informational Void) लाई हटाउन।
  • नेतृत्व र कर्मचारीहरूबीचको आपसी विश्वास (Trust) र खुला संवादको वातावरण सुदृढ गर्न।
  • नयाँ व्यवहार तथा अल्पकालीन सफलताहरूलाई संस्थागत र पुरस्कृत (Reinforcement & Reward) गर्न।
  • अन्तरविभागीय समन्वय, टोली कार्य र सहकार्य (Cross-Functional Collaboration) लाई प्रवर्द्धन गर्न।
  • व्यक्तिगत लक्ष्यहरूलाई संगठनको बृहत् दृष्टिकोणसँग (Alignment of Personal & Org Goals) जोड्न।
  • कर्मचारीहरूको कल्याण (Well-being), मानसिक स्वास्थ्य र भावनात्मक पक्ष (Managing Emotional Elephant) को प्रभावकारी संरक्षण गर्न।

९. परिवर्तनको प्रभाव तथा प्रतिरोध

९.१ परिवर्तनका प्रभावहरू (Impacts of Change)

परिवर्तनले संगठन तथा व्यक्तिमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभाव पार्दछ।

१. सकारात्मक प्रभावहरू (Positive Impacts)

  • उत्पादकत्व तथा कार्यदक्षतामा वृद्धि।
  • कर्मचारीको नयाँ प्रविधि तथा सीपमा पहुँच विस्तार।
  • संगठनात्मक संस्कृतिमा सुधार तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि।

२. नकारात्मक प्रभाव तथा चुनौतीहरू (Negative Impacts/Challenges)

  • प्रारम्भिक चरणमा कार्यसम्पादनको गति घट्नु (Dip in Performance Curve)।
  • कर्मचारीमा तनाव, चिन्ता तथा अनिश्चितता उत्पन्न हुनु।
  • परिवर्तन असफल भएमा ठूलो वित्तीय क्षति तथा संगठनात्मक निराशा (Cynicism) उत्पन्न हुनु।

९.२ परिवर्तनप्रतिको प्रतिरोधका कारणहरू (Reasons for Resistance to Change)

विद्वान्हरूका अनुसार मानिसहरूले परिवर्तनको नभई ‘परिवर्तनका कारण गुमाउनुपर्ने विषय वा क्षति’ (Loss) को विरोध गर्छन्। परिवर्तनप्रतिको प्रतिरोधका प्रमुख कारणहरू निम्न छन्।

  • अज्ञातको डर (Fear of the Unknown): भविष्यमा के हुन्छ भन्ने विषयमा स्पष्टता नहुनु।
  • आर्थिक भय (Economic Fear): रोजगारी गुम्ने, तलब घट्ने वा संगठनभित्रको हैसियत (Status) कमजोर हुने डर।
  • सुविधा तथा बानीमा अवरोध: स्थापित दिनचर्या र अभ्यस्त कार्यशैली परिवर्तन गर्नुपर्दा उत्पन्न हुने असहजता।
  • क्षमतासम्बन्धी डर (Competence Fears): नयाँ प्रविधि वा सीप सिक्न नसकिने हो कि भन्ने हीनभावना वा आशङ्का।
  • नेतृत्वप्रतिको अविश्वास: विगतका असफल परिवर्तनका अनुभवका कारण नेतृत्वको नियत तथा क्षमतामाथि शङ्का उत्पन्न हुनु (Organizational Cynicism)।

९.३ परिवर्तनप्रतिको प्रतिरोध सम्बोधन गर्ने रणनीतिहरू (Kotter & Schlesinger, 1979)

 

१. शिक्षा तथा सञ्चार (Education & Communication): परिवर्तनका कारण, आवश्यकता तथा फाइदाबारे स्पष्ट जानकारी प्रदान गर्ने।

२. सहभागित तथा संलग्नता (Participation & Involvement): निर्णय प्रक्रियामा कर्मचारीलाई सहभागी गराउने।

३. सहजीकरण तथा सहयोग (Facilitation & Support): भावनात्मक सहयोग, परामर्श तथा आवश्यक तालिम उपलब्ध गराउने।

४. वार्ता तथा सहमति (Negotiation & Agreement): परिवर्तनबाट प्रभावित समूहहरूसँग वार्ता गरी सहमति कायम गर्ने।

५. प्रभाव पार्ने तथा सहकार्यमा समावेश गर्ने (Manipulation & Co-optation): विरोध गर्ने समूहका प्रभावशाली नेतृत्वकर्तालाई परिवर्तन प्रक्रियामा महत्त्वपूर्ण भूमिका प्रदान गर्ने।

६. प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब (Explicit & Implicit Coercion): अन्तिम उपायका रूपमा आवश्यकताअनुसार कानुनी वा प्रशासनिक कडाइ अपनाउने।

 

१०. निष्कर्ष

परिवर्तन व्यवस्थापन संगठनको अस्तित्व, प्रगति र प्रतिस्पर्धात्मक क्षमता कायम राख्ने निरन्तर प्रक्रिया हो। परिवर्तन सफल हुन स्पष्ट दृष्टिकोण, प्रभावकारी नेतृत्व, कर्मचारीको सक्रिय सहभागिता, उचित सञ्चार तथा प्रविधि र मानवीय पक्षबीचको सन्तुलन आवश्यक हुन्छ। परिवर्तनप्रतिको प्रतिरोधलाई अवरोधका रूपमा मात्र नलिई त्यसलाई संवाद, सहकार्य, क्षमता विकास र विश्वासका माध्यमबाट अवसरमा रूपान्तरण गर्नुपर्छ। अतः परिवर्तनलाई बाध्यात्मक प्रक्रियाका रूपमा नभई सिकाइ, नवप्रवर्तन र संस्थागत विकासको अवसरका रूपमा आत्मसात् गर्दै संगठनमा निरन्तर अनुकूलनशीलता र सुधारको संस्कृति विकास गर्नु नै सफल परिवर्तन व्यवस्थापनको सार हो।

सन्दर्भ सामग्री:

  • Bridges, W. (1991). Managing transitions: Making the most of change. Addison-Wesley.
  • Hayes, J. (2021). The theory and practice of change management. Macmillan International Higher Education.
  • Hiatt, J. (2006). ADKAR: A model for change in business, government, and our community. Prosci Learning Center Publications.
  • Kotter, J. P. (1996). Leading change. Harvard Business School Press.
  • Lewin, K. (1951). Field theory in social science. Harper & Row.

 

प्रकाशित :२०८३ कार्तिक २९ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]