थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं। प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ।
Advertisement 1
समितिको आजको बैठकले उक्त प्रतिवेदन सदस्यबाट प्राप्त राय–सुझावलाई समेटेर परिमार्जनसहित बहुमतले पारित गरेको हो। बैठकले उक्त प्रतिवेदन संसद्मा पेस गर्ने निर्णय गरेको छ।
त्यसअघि बैठकमा उक्त प्रतिवेदनमाथि सामान्य छलफल भएको थियो। छलफलमा सदस्य बलातवी शर्मा, मोहनलाल आचार्य, सरस्वती लामा, मनिष खनाल, प्रकाशचन्द्र परियार, साजिदा खातुन सिद्धिकी, स्मृति सेन्चुरी, नीनुकुमारी कर्ण, खिमा विक र अफ्साना बानुले भाग लिए।
Advertisement 2
बैठकले बालसुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन पनि संसद् बैठकमा पेस गर्ने निर्णय गरेको समितिका सचिव रामहरि थापाले जानकारी दिए।
गत जेठ ८ गतेको समितिको बैठकले पाँच÷पाँच सदस्यीय ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ र ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति’ गठन गरेको थियो।








