७ समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता, २३ जनाको बचत पूर्ण भुक्तानी

काठमाडौं। समस्याग्रस्त सहकारीमा बचत रकम फसेर लामो समयदेखि भुक्तानीको प्रतीक्षामा रहेका बचतकर्तामध्ये १२२ जनाले रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सातवटा सहकारीका बचतकर्तालाई ऋण असुलीबाट प्राप्त रकम वितरण गरेको हो।
Advertisement 1
समितिले सार्वजनिक गरेको विवरणअनुसार तीनवटा सहकारीका २३ जना बचतकर्ताले आफ्नो सम्पूर्ण बचत फिर्ता पाएका छन् भने अन्य ४ सहकारीका ९९ जनाले आंशिक रकम प्राप्त गरेका छन्।
पूर्ण बचत फिर्ता पाउनेमा नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका बचतकर्ता रहेका छन्।
Advertisement 2
त्यसैगरी कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ९९ जना बचतकर्तालाई आंशिक रकम भुक्तानी गरिएको समितिले जनाएको छ।
ऋण असुलीबाट उठेको रकम बचतकर्तालाई
Advertisement 3
सरकारले समस्याग्रस्त सहकारीका ऋणीबाट असुल भएको रकम नै बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। सहकारीमा फसेको बचत फिर्ता गर्ने प्रक्रियालाई ऋण असुलीसँग जोडेर अघि बढाइएको हो।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर भुक्तानी गरेको जनाएको छ। आगामी चरणमा पनि बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी क्रमशः भुक्तानी गर्दै जाने योजना रहेको छ।
सहकारीमा बचत फसेका हजारौँ सर्वसाधारण लामो समयदेखि आफ्नो रकम फिर्ताको प्रतीक्षामा रहेका बेला पछिल्लो भुक्तानीले केही बचतकर्तालाई राहत दिएको छ। यद्यपि सात सहकारीका १२२ जनाले रकम पाउँदैमा समग्र बचतकर्ताको समस्या समाधान हुने अवस्था छैन।








