भोटेकोशी बाढीः सर्लाहीका ९ जना सम्पर्कविहीन

सर्लाही। भोटेकोशी नदीमा आएको बाढीका कारण सर्लाहीका नौ जना सम्पर्कविहीन भएका छन्।
लालबन्दी नगरपालिका–९ निवासी माधव काफ्ले, अनुज काफ्ले, लालबन्दी नगरपालिका–५ का कृष्णप्रसाद धमला, द्वारिका दङ्गाल र चिरञ्जीवी खतिवडा सम्पर्कविहीन भएका हुन्। उनीहरु केही दिनअघि गोसाइँकुण्ड तीर्थयात्रामा गएका थिए।
सोही बाढीका कारण हरिवन नगरपालिका–११ कडरिया चोक निवासी सक्षम कार्की र मनिल कायस्थ पनि सम्पर्कविहीन भएको परिवारजनले बताएका छन्।
उनीहरु साथीहरूसँग मिलेर रसुवाको गोसाइँकुण्ड यात्रामा गएको र बुधबार बिहानबाट सम्पर्कविहीन भएको मनिलका बुबा बालगोपाल कायस्थले जानकारी दिए।
भोटेकोशीको बाढीले त्रिशूली ‘३बी’ जलविद्युत् आयोजनामा कम गर्ने सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीका प्राविधिक सुनिलकुमार कुशवाहा र ईश्वरपुर नगरपालिका–७ बयलबासका लक्ष्मण श्रेष्ठ सम्पर्कविहीन छन्।
उनीहरु कार्यरत आयोजना बाढीले ध्वस्त बनाएपछि उनीहरु सम्पर्कविहीन भएका हन्। उनीहरूको खोजीका लागि परिवारले हारगुहार गरेका छन्।
जिल्ला प्रहरी कार्यालयले एक सूचना सार्वजनिक गर्दै बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको आफन्तको विवरण उपलब्ध गराई दिन आग्रह गरेको छ।
प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १६:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%







