रैथाने प्रविधि हराउन दिनु भएन

हामी यतिबेला आएर दिगो विकासका कुरा गरिरहेका छौं । त्यो पनि हाम्रो देशका लागि विदेशी संस्थाहरुले सिकाइरहेका छन् । दिगो विकासका लागि प्राविधिक र आर्थिक सहयोग पनि उतैबाट आउने गर्दछ । हामी यसमा दंग परेर हेरिरहेका छौं । यो तरिकाले देशको विकास हुन्छ भनेर ठानिरहेका छौं । सयौं वर्ष पहिलेदेखि हाम्रा पूर्खाहरुले विकास गरेका प्रविधि अहिले हामी शिशु कक्षाका विद्यार्थीले कखरा सिके झैं सिक्दै छौं ।
पश्चिमाहरु जंगली तरिकाले जिइरहेका बेला हाम्रा पुर्खाहरुले धेरै क्षेत्रमा प्रविधिको विकास गरेका थिए । कृषि, रोग कीरा व्यवस्थापन, सिँचाइ, स्वास्थ्य, भवन निर्माण, उद्योग व्यवसाय, शिक्षा, मनोरञ्जन, धर्म संस्कृति आदि सबै क्षेत्रमा प्रविधिको विकास भएको थियो । ठाउँ अनुसार कृषि प्रविधिको विकास गरिँदै आएको थियो । हिमाल, पहाड, उपत्यकाहरु र तराईलाई सुहाउने कृषि प्रविधिको विकास गरिएको थियो । खेतिपाती गर्न सहज होस् भनेर माटो सुहाउँदा कृषि औजारहरुको विकास गरिएको थियो । खेत जोत्ने, पाखो बारी जोत्ने हलो अलग किसिमको बनाइएको हुन्थ्यो । दाँधे, समाहा, पटाहा, लिड्को, जुवा, जोतारा, हडम्लो, कुटा कोदाला, कोदाली, फाली आदिको विकास पनि माटो र ठाउँ अनुसार विकास गरिएको हुन्थ्यो ।
सिँचाइको लागि कुलो, नहर खन्ने छाँद, बाँध निर्माण गर्ने प्रविधि पनि ठाउँ अनुसार स्थानीय मानिसहरुले स्थानीय स्रोत साधनको प्रयोग गरी आफैंले विकास गरेका थिए । कुन खालको खेतबारी र माटोमा कुन खालको बाली लगाउने, सिँचाइ कसरी गर्ने, कति समयको अन्तरालमा गर्ने, झारपात नियन्त्रणका लागि कतिबेला दाँधे लगाउने, कसरी गोडमेल गर्ने, कुन खालको औजारको प्रयोग गर्ने आदि सबै अनुभवको आधारमा तय गरिन्थ्यो र त्यसको जानकारी सन्ततिहरुलाई पनि दिने गरिन्थ्यो ।
Advertisement 1
बोट बिरुवामा रोग कीरा लाग्दा नीमको रस र तेल प्रयोग गर्ने, गाईको गहुँत छर्ने, लसुन र प्याजको रस छर्ने चलन पहिले पनि थियो । भण्डारण गरेको अन्नमा कीरा नलागोस् भनेर नीमको पातको प्रयोग गर्ने, तितेपातीको पात र फूलको प्रयोग गर्ने, बोझो र टीमुरको धुलो मिसाउने प्रचलन पहिलेदेखि चल्दै आएको हो । बीउ भण्डारण गर्न भुड्का, घ्याम्पा, बाँसको चोयाले बनेका कोठा, डाला, परालले बनेका पुरीयाको प्रयोग गर्ने चलन थियो । घुन पुतलाबाट जोगाउन खरानी तोरी, रायो, बाबरीको धुलो प्रयोग गर्ने चलन थियो । मुसा, घुन र पुतलाबाट अन्नलाई जोगाउन बाँसको भकारी र कोठा बनाउने र बाहिरबाट गाईको गोबरले पोतर अन्न भण्डारण गर्ने अनि माथि सुकेको पराल राखी त्यसमाथि खरानी राखी गोबर, माटो र भुस वा बाबियोको टुक्रा मिसाएर टालिदिने प्रचलन थियो ।
भकारीमा अन्न राख्दै जाने अनि नीमको धुलो वा टिमुर वा तुलसी वा जीरा वा बोझोको धुलो पनि पातलो कपडामा पोको पारेर बीचबीचमा राख्ने र बाहिरबाट भकारीमा यिनीहरुको झोल पनि छर्ने गरिन्थ्यो । यसो गर्दा अन्नमा लाग्ने घुनपुत्लाहरुको नियन्त्रण हुन्थ्यो । अहिले आएर वानस्पतिक विषादीको प्रयोगलाई रासायनिक विषादीले विस्थापन गरेको छ । जुन वातारण र मानव स्वास्थ्यको अति हानिकारक छ ।
Advertisement 2
अहिले हामीले हाम्रा रैथाने प्रविधिलाई भुलेर दिगो कृषि, वैदिक कृषि, प्राकृतिक खेती, यौगिक खेती, अर्गानिक खेती भनेर फेरि विदेशीका विश्वविद्यालयमा सिक्दै छौं । पहिले यी सबै हामीकहाँ पुर्खाहरुले गर्दै आएका थिए । हाम्रा बाबुबाजेको पालासम्म अपनाएर पनि आएका थिए । हाम्रा पालामा आएर सबै हराए र अहिले फेरी सिक्न लाग्दै छौं ।
त्यसैगरी स्वास्थ्य उपचारका लागि पनि हाम्रा आफ्नै पद्धतिहरु थिए । रोग लाग्दा, बिरामी पर्दा हाम्रा वैद्यहरुले नाडीको चाललाई हेरेर रोग पत्ता लगाउने र स्थानीय जडीबुटीहरु र विभिन्न वन–औषधिहरुको प्रयोग गरी उपचार गर्दथे । जटामसी, पाँचऔंले, पाखनवेत, केसरी, सर्पगन्धा, सिलाजित, मह, बेसार, तुलसी, बेलको पात, आँपपिपलको पात, गोलाइची, पलाँश, हर्चुल, आकासवेली, मरिच, जिरा, गुर्जाे, सिमली, घोडटाप्रे आदि विभिन्न वनस्पतिहरुको प्रयोग गरिन्थ्यो र सबैखालका रोगहरुको निदान गरिन्थ्यो ।
निर्माण प्रविधिको कुरा गर्दा हाम्रो आफ्नो मौलिक प्रविधि थियो । पुराना शैलीका घुमाउने घरहरु, खरखडाईले बनेका घरहरु, खर, स्याउला, सल्लाको फलेकले बनेका छानाहरु, ढुंगाले बनेका सिँढीहरु, ढुंगालाई कुँदेर बनाइएका धाराहरु, बाँस र फलेकले बारेर बनाइएका छाप्राहरु, काठबाट बनाइएका फड्केहरु, ढुंगाले वा टायलले बनेका घरहरु, चुनासुर्की प्रयोग गरी बनाइएका मन्दिरहरु, स्याउलाले बनेका गोठहरु, सजीवन, सिउँडी, खिर्रो आदि प्रयोग गरी बनाइएका बारहरु, स्याउला, कीला, मुढा र बाँसको प्रयोग गरी बनाइएका छाँद तथा बाँधहरु बिस्तारै लोप हुन थालेका छन् । आफ्नै स्थानीय स्रोत र साधनको प्रयोग गरी, स्थानीय जनशक्ति र हाम्रो आफ्नै स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएका यी संरचनाहरु विस्तारै विस्थापित हुन थालेका छन् ।
Advertisement 3
अहिले गाउँ, सहर, तराई, पहाड जताततै सिमेन्ट, छड, जस्तापाता, सिंहमर्मर (मार्बल), आधुनिक टायल आदिको प्रयोग गरी घर, गोठ, विद्यालय, पाठशाला, मठ मन्दिर र टहराहरु बनिरहेका छन् । दुर्गम गाउँमा पनि मानिसले बोकेर, खच्चडको प्रयोग गरी या हेलिकप्टरमै भएपनि सिमेन्ट, छड, जस्तापाता, सिंहमर्मर आदि निर्माण सामग्रीहरु ओसारेर घर, गोठ, विद्यालय, पाठशाला, मठ मन्दिर, अफिस आदि निर्माण गर्न थालिएको छ । आधुनिकताको नाममा आफ्नो परम्परागत प्रविधिहरु जुन वातावरमैत्री पनि थिए, तिनीहरुलाई छोडेर आयातीत प्रविधि अँगाल्न थालिएको छ । स्थानीय ढुंगा, माटो र काठबाट बनेका घुमाउने घरहरुको साथै दुइपाखे, बार्दली र पिँढी भएका रातो माटो, कमेरो, गेरु र खोटो लगाई सिंगारिएका हाम्रा पुराना शैलीका घरहरु टाढैबाट हेर्दा डाँडाहरुमा टलक्क टल्केका अति सुन्दर देखिन्थे । तिनीहरुको अहिले पनि जगेर्ना गर्न सके पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्दथे ।
ढुंगा, माटो, कमेरो, काठ, खर, खडाई, स्याउला, बाँस आदि निर्माण सामग्रीहरु हामी देशका हरेक कुनामा पाउँछौं । सिमेन्ट, छड, कर्कटपाताको अनुपातमा यिनीहरु सस्तोमा जतिबेला पनि उपलब्ध हुन सक्दछन् । यी बस्तुहरुको प्रयोग गर्ने हाम्रो आफ्नै परम्परागत प्रविधि पनि छ । यिनीहरुको प्रयोग गर्दा निर्माण खर्च कम हुन्छ, स्थानीय मानिसहरुले रोजगारी पाउँछन् । यसरी बनाइएका संरचनाहरु भूकम्प प्रतिरोधी पनि बनाउन सकिन्छ । टाढाबाट ल्याइएका सामग्रीहरु ढुवानी गर्दा धेरै खर्च लाग्नुको साथै कार्बन उत्सर्जन पनि ज्यादा हुन्छ र वातावरण प्रदूषण तथा जलवायु परिवर्तनलाई पनि बढाउने गर्दछ ।
वातावरणीय दृष्टिले पनि उत्तम ठहरिएका र पर्यटकहरुको लागि आकर्षक बन्ने आफ्नै स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएका यी संरचनाहरुलाई हाम्रा स्थानीय निकायहरुले विस्थापित हुन दिनु हुँदैन । हाम्रोमा रैथाने प्रविधिहरुको अभ्यास लामो समय देखि हुँदै आएको थियो र समय अनुसार प्रविधिको विकास पनि हुँदै थियो । पुर्खाहरुबाट सन्ततिहरुमा प्रविधि हस्तान्तरण पनि हुँदै आएको थियो । जब विदेश गएर अध्ययन गर्ने तालिम र भ्रमणमा जाने क्रम चल्यो, विदेशी सहयोग लिने प्रचलन बढ्यो र आयातीत प्रविधिलाई महत्व दिन थालियो, त्यसपछि आएर रैथाने प्रविधि हराएर गए । आफ्नो रैथाने प्रविधिको विकासको लागि समय अनुसार अनुसन्धान गर्दै लगी परिमार्जन र विकास गर्दै लैजानु पर्नेमा अन्धाधुन्द विदेशी प्रविधि भिœयाएर रैथाने प्रविधिहरुलाई विस्थापन गर्ने काम भयो । पञ्चायती व्यवस्थामा तथा राजाहरुको शासनकालदेखि नै विदेशबाट पढेका तर नेपालको रैथाने प्रविधिको बारेमा जानकारी नभएका मानिसहरु योजना तर्जुमा गर्ने र निर्णय लिने स्थानमा पुगेकाले रैथाने प्रविधिले कहिल्यै प्राथमिकता पाउन सकेन र हराउँदै गए ।
जबसम्म हामी आफ्नो रैथाने प्रविधिको विकास गर्दै अगाडि बढिरहेका थियौं, त्यतिबेला हाम्रो अर्थतन्त्र, कृषि, उद्योग, शिक्षा लगायत सबै क्षेत्र आफ्ना खुट्टामा उभिएको थियो । बेरोजगारीको समस्या पनि धेरै थिएन । अब पनि हामीले ती हाम्रा रैथाने प्रविधिलाई जगेर्ना गरी तिनीहरुको विकास र प्रवर्धन गरी भरपुर फाइदा लिने योजना बनाउनु जरुरी छ ।