संगठनात्मक व्यवहारका परिवर्तित सोचहरु

विषय प्रवेश
संगठनमा कार्यरत कर्मचारीे वा कर्मचारिहरुको समुहले संगठनमा के कस्तो व्यक्तिगत वा व्यवसायिक व्यवहार प्रस्तुत गर्छन् र उक्त स्वभाव वा बानी व्यवहारले समग्र संगठनको व्यवसायिक वातावरणमा के कस्तो प्रभाव पर्दछ भनि गरिने व्यवस्थापकिय अध्ययनलाई संगठनात्मक व्यवहार भनिन्छ ।संगठनात्मक व्यवहार साँगठनिक वातावरणमा व्यक्तिगत रुपमा वा समुहगत रुपमा कर्मचारिहरुको व्यक्तिगत वा समूहगत काम प्रतिको धारणा, उत्प्रेरणा वा व्यवसायिक व्यवहारलाई बुझ्नु, अनुमान गर्नु वा मापन गर्नु ,व्यक्तिगत व्यवहारलाई वा समुहगत व्यवहारलाई संगठनात्मक उदेश्य प्राप्ति गर्ने सन्दर्भमा वा कर्मचारिहरुकै व्यक्तिगत वा समुहगत उद्येश्य हाँसिल गर्न उपयुक्त ढँगले उनीहरुको व्यवसायिक व्यवहारलाई व्यवस्थापन गर्नु हो ।

Advertisement 1

संगठनात्मक व्यवहारको अवधारणा
संगठनमा आबद्ध मानिसको व्यक्तिगत, समूहगत र संगठनात्मक क्रियाकलापको अभ्यास नै संगठनात्मक व्यवहार हो । एउटा पूर्ण संगठनका लागि उद्देश्य संरचना अधिकार कामको विभाजन, प्रभावकारी संचारको व्यवस्था र कार्यसंस्कृति आवश्यकता पर्छ । संगठनमा कार्यरत मानिसका अन्तरनिहित भावना, दृष्टिकोण विश्वास र व्यवहारको अध्ययन गरी कमी कमजोरी सुधार गर्ने विषय नै संगठनात्मक व्यवहार हो ।

सङ्कठनात्मक व्यवहार सङ्कठन र व्यवहार दुई शब्द मिलेर बनेको छ । सङ्कठन भन्नाले दुई वा दुईभन्दा बढी मानिसहरूको समूह हो जुन निश्चित ढाँचामा रही सामूहिक उद्देश्य प्राप्तिका लागि समन्वयात्मक ढङ्कमा कार्य गर्दछ । व्यवहार निश्चित वातावरणमा कुनै व्यक्तिद्वारा गरिने विभिन्न क्रियाकलाप हो । कुनै पनि दुई व्यक्तिको व्यवहार समान वातावरणमा पनि उस्तै हुँदैन र उही व्यक्तिको पनि फरक वातावरणमा उस्तै व्यवहार हुँदैन । यसैले व्यक्ति व्यवहारिक रूपमा अस्थिर हुन्छ । तर सङ्कठनको लक्ष्य प्राप्तिका लागि व्यक्तिहरूको व्यवहार महत्वपूर्ण हुन्छ ।

Advertisement 2

सङ्कठनात्मक व्यवहारले खासगरी सङ्कठन भित्र व्यक्ति, समूह र संरचनाको भूमिका कस्तो रहन्छ भन्ने विषयको अध्ययन गर्दछ । यसरी सङ्कठनमा कार्यरत मानिसहरूको व्यवहारको विभिन्न पक्षहरूको अध्ययन गरिन्छ । संगठनात्मक व्यवहार सन् १९६० र ७० को दशक देखी प्रयोगमा आएको हो । सन १९२०को दशकको हाउथ्रन एक्सपेरिमेन्ट पछि संगठनात्मक व्यवहारलाई सामाजिक तथा मनौबैज्ञानिक ढँगबाट अर्थाइने काम भयो । साथै, कर्मचारिलाई संगठन भित्र सामाजिक तथा मनौबैज्ञानिक ढँगबाट बुझ्ने क्रममा सँगठनको उत्पादकत्वको कुरा, शान्त कार्य वातावरण, सामुहिक कार्य कुशलता र कर्मचारी बिदा जस्ता कुरामा आधारित हुन्छन् भनि बिश्लेषण गरिएको थियो ।

कर्मचारीको संगठनात्मक व्यवहार अध्ययन गर्ने क्रममा व्यक्तिगत, समुहगत र सँस्थागत तहमा अध्ययन गर्नुपर्छ । व्यक्तिगत तहमा कर्मचरीको व्यक्तित्व, बानी वा स्वभाव, कार्य सन्तुष्टी बिश्लेषण, कर्मचारिको सिकाई, कर्मचारिको काम प्रतिको उत्प्रेरणा र काम प्रतिको कर्मचारिको धारणा बुझ्ने प्रयास गर्नुपर्छ । समुहगत तहमा कर्मचारीको तहगत विश्लेषण, कर्मचारीहरुको सामाजिक परिवेष तथा साँस्कृतिक पक्ष र संगठनात्मक तहमा कर्मचारिहरुको बहु आयमिकता, समुह समुहको अन्तर सँवाद र अन्तरद्धन्द्ध, समुह समुह बिचको कार्यक्षमता, अधिकार र दायित्व जस्ता कुराहरुको अध्ययन गर्नुपर्छ ।

Advertisement 3

संगठनात्मक व्यवहारको अध्ययन गर्न आन्तरिक धारणा र बाह्य धारणा छन् । आन्तरिक धारणा प्रत्येक कर्मचारीहरुको व्यबहार, सोच, अनुभव र बोलिचालिमा आधारित हुन्छन् भने बाह्रिय धाराणा कर्मचारीहरुको काम गर्ने तरिका, काम गर्ने सोच संगठन भन्दा बाहिरका कृयाकलापले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ भन्ने हो । र यी भिन्न भिन्न कर्मचारीहरुमा हुने स्वभावगत धारणाले नै सँस्थाको उदेश्य र सँस्थाको उत्पादकत्वमा प्रभाव पार्छ ।

साथै, संगठनात्मक व्यवहारमा मनोविज्ञान, समाजशास्त्र र मानव शास्त्र र मानव सँसाधन व्यवस्थापनका बिभिन्न बिषय बस्तुको प्रयोग हुने हुँदा यो अप्लाईड साइन्स हो । यसैका आधारमा कर्मचारीहरुको मनोभावना बुझी उनीहरुलाई काम प्रति उत्प्रेरित गरिन्छ । किनभने कुनै पनि कर्मचारीको व्यवहार घरमा एक प्रकारको र कार्यलयमा भिन्न प्रकारको हुन सक्छ । त्यसैले संगठनात्मक व्यवहारबाट सँस्थागत लक्ष्य हाँसिल गर्न प्रत्येक कर्मचारीको व्यवहार बुझ्नु नितान्त आवश्कय छ ।
समग्रमा, संगठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन् ? त्यस्तो व्यवहार किन देखाउँछन् ? त्यस्तो व्यवहारबाट संगठनमा कस्तो प्रभाव पर्दछ भन्ने सम्बन्धमा संगठनात्मक व्यवहारमा अध्ययन गरिन्छ । संगठनमा रहेर मानिसले देखाउने व्यवहार जसले मानिस, समूह तथा संरचना को व्यवहार र कार्यशैलीको विश्लेषण अनुमान र नियन्त्रणको वर्णन गर्छ । संगठनमा कार्यरत मानिस, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै संगठनात्मक व्यवहार हो र कार्यशैलीले निक्र्योल गर्छ ।

सङ्कठनात्मक व्यवहारमा प्रभाव पार्ने तत्वहरू
सङ्कठनात्मक व्यवहारमा प्रभाव पार्ने तत्वहरूमा विश्वव्यापीकरणबाट सिर्जित मान्यताहरु, कर्मचारीको व्यक्तिगत व्यवहार र शैली,साङ्कठनिक संरचना र सोको शैली, सहभागितामुलक संस्कृत एवं समावेशी अवधारणा,परिवर्तनको सामना,साङ्कठनिक निष्ठा,कर्मचारीहरूमा विषमता,प्रतिस्पर्धात्मक अवस्था, सामाजिक उत्तरदायित्व र व्यवस्थापकीय आचरण र प्रविधिको विकास प्रमुख रहेका छन् ।

सङ्कठनात्मक व्यवहारका नविन प्रवृत्तिहरू
सङ्कठनात्मक व्यवहारका नविन प्रवृत्तिहरूमा प्रतिस्पर्धात्मक क्षमतामा जोड,आत्मनिर्देशन, स्वनियन्त्रण र स्वअनुशासनमा जोड,मानव केन्द्रित अवधारणामा जोड,विकेन्द्रीकरणमा जोड,कर्मचारीलाई साझेदारको रूपमा लिने व्यवहारको सुरुवात,कार्यसन्तुष्टिको भावनामार्फत उत्प्रेरणाको अभिवृद्धि,सङ्कठनात्मक एवं व्यक्तिगत लक्ष्य बीच उचित सन्तुलन र एकीकरणमा जोड,संगठनात्मक कार्य संस्कृति,प्रविधीमा परिवर्तन आदि रहेका छन् ।

संगठनात्मक व्यवहारको अध्ययनको महत्व
संगठनात्मक व्यवहारको अध्ययनले संगठन र कार्यरत मानिसलाई लक्ष्य प्राप्तिमा कसरी प्रभावकारी रूपमा लगाउन सकिने,संगठनको दिशा वा गतिबारे सही जानकारी दिने, संगठनको कमजोरी सुधार्न सहयोग पुग्ने,व्यवस्थापकीय खुबीको विकास हुने,कर्मचारीका अपेक्षा र उत्प्रेरणाको स्तरको जानकारी हुने,संगठनभित्रको द्वन्द्व समाधानमा सहयोग पुग्ने,सेवाग्राही र सहकर्मीसँगको व्यवहारबारे जानकारी हुने,परिवर्तनलाई आत्मसात् र व्यवस्थापन गर्न सजिलो हुने,संगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ भनेर हेर्न मदत पुग्ने, व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ता काम वा क्रियाकलापबाट व्यक्ति संगठनप्रति उत्प्रेरित हुन्छ भन्ने अध्ययनमा मदत पुग्ने गर्दछ । सङ्कठनात्मक व्यवहारको अध्ययनले व्यवस्थापनलाई सक्षम र सुदृढ बनाउन एवं सङ्कठनको उद्देश्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैगरीे, सँगठनात्मक व्यवहारको महत्व निम्न अनुसारका प्रष्टाउन सकिन्छ ।कर्मचारी बिच कार्यालयमा सह सहसम्बन्ध स्थापित गर्न मद्त मिल्छ ।संगठनाका बिभिन्न तह र तप्का विच सहकार्यको वातावरण बन्छ ।कर्मचारीको स्वभाव, व्यवहार र काम प्रतिको धराणा बुझ्न सजिलो हुन्छ ।संगठनमा कर्मचारी कर्मचारी वा विभाग बिभाग बिच सन्चारको बातावरण स्थापित हुन्छ । त्यसैले संगठनात्मक व्यवहारको अध्ययनले संगठन र संगठनमा कार्यरत कर्मचारीलाई सँस्थागत तथा व्यक्तिगत लक्ष्य प्राप्तिमा कसरी प्रभावकारी रुपमा लैजान सकिन्छ भनेर मार्गनिर्देश गर्दछ । र कसरी ती बिभिन्न समुदाय वा जातीबाट प्रतिनिधित्व गर्ने कर्मचारिहरुको व्यक्तिगत क्षमतामा सुधार गर्न के कस्ता व्यवस्थापकिय क्षमतामा सुधार गर्नुपर्छ र ती कर्मचारीहरुका अपेक्षा, चाहाना र कार्यगत स्वभाव के कस्ता हुन्छन् भनेर पनि जानकारी पाउन सकिन्छ । किनभने संगठनात्मक व्यवहारले संगठनमा काम गर्ने व्यक्ति, समूह र सँरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर समग्र व्यवसायिक वतावरणमा के कस्तो हुने गर्छ भनेर हेर्ने काम गर्छ ।संगठनामा संगठनात्मक व्यवहार ठिक ढँगले हुनसक्यो भने तहगत रुपमा सँस्थागत उपलब्धि हाँसिल गर्न सकिन्छ । साथै, एकल कर्मचारी वा समुहगत कर्मचारीको उपयुक्त ढँगले प्रयोग तथा परिचालन गर्न सकिन्छ । साथै, कर्मचारी कर्मचारी बीच हुने कार्यगत समस्या वा समुह समुह बिच हुने कार्यगत असमानतालाई समयमै समाधान गर्न सकिन्छ । यसबाट संगठनलाई सुधार गर्दै संगठनलाई दीर्घकालिन रुपमा बिकास गर्न सकिन्छ ।

संगठनात्मक व्यवहारका अवसर र चुनौती बिश्वव्यापीकरणसँगै प्रतिस्पर्धात्मक क्षमता अघि बढाउनु, कार्यवल बिविधताको उचित प्रयोग गर्नु, कार्यस्थल सुरक्षा र गुणस्तरियता अभिबृद्धि गर्नु, कर्मचारी अभिमुखिकरण र अविबृद्धि गर्नु, गुणस्तर र उत्पदकत्वमा वृद्धि गर्नु, कर्मचारीको क्षमता विकास गर्नु, व्यवस्थापकिय सुधार प्रभावकारी ढंगले अघि बढाउनु र सुचना तथा सन्चारको बढ्दो प्रयोग र बिकास , कर्मचारीको कार्य व्यवहार र ज्ञान दक्षताको मूल्यांकन, गुनासाहरूको अध्ययन, कर्मचारीको सन्तुष्टिको तह, दोहोरो सञ्चार, सहभागितामूलक व्यवस्थापनका बारेमा खोज तथा अनुसन्धान गरेर समस्या पत्ता लगाई समाधान गर्ने परिपाटीको विकास गर्ने कार्यहरु चुनौतीपुर्ण रहेका छन् ।

नेपालको संठनात्मक व्यवहारमा रहेका समस्याहरु
नेपालको सन्दर्भमा संगठनमा कर्मचारिहरुको कार्य व्यवहार, कर्मचारी ज्ञान, दक्षताको मुल्यांकन, गुनासाहरूको अध्ययन प्रभावकारी हुन सकेको छैन । साथै, कर्मचारिहरुको सन्तुष्टिको तह, दोहोरो सञ्चार बिधी र कर्मचारीहरुको सहभागितामुलक व्यवस्थापनका बारेमा खोज तथा अनुसन्धान गरेर उपयुक्त समाधान गर्ने परिपाटी सघन रुपमा अभ्यासमा आएको छैन । कार्यालय हातामा कुन पदको व्यक्तिले कसलाई कस्तो व्यवहार गर्ने, के काम गर्ने, जवाफदेही र उत्तरदायित्व के के हुन सक्छन् भन्ने कुराको निर्धारण नहुँदा अवस्था झन जोखिम पुर्ण हुँदै गएको छ । साथै, संगठनात्मक सृदृढिकरण र संरचनात्मक सुधारको अभावले आम सर्वसाधारणमा संस्थागत छवि राम्रो बन्न सकेको छैन । संघसंगठनको दैनिक क्रियाकलाप एडहक वा पुरातन प्रवृत्तिबाट चलेको देखिन्छ । संगठनको कार्यप्रकृति अनुरूपको पद सृजना, योग्यता र व्यावसायिकताको आधारमा कार्य विभाजनका साथै कार्य अदलबदलसमेतको अभावले संगठनहरू आक्रान्त छन् ।

नेपालको संगठनात्मक संरचनामा हेर्ने हो भने कर्मचारीले प्राप्त गरेको दक्षता, व्यावसायिकता बौद्धिक क्षमता र थप शिक्षा प्राप्तिलाई मानव संसाधन सूचना प्रणालीमा आबद्ध गरेको देखिँदैन । सेवा प्रवेश गर्दा जुन प्रमाणपत्रहरू छन् सो नै यथावत् भएको अवस्थामा कतिपय संगठनमा देखिन्छ । यसले व्यक्तिको व्यवहार र व्यावसायिकता पहिचान गर्न कठिन हुन्छ । अर्कोतिर उपयुक्त व्यक्ति, पेशा र ठाउँमा कार्य विभाजनको सिद्धान्तको पालन गर्न सकिँदैन ।संगठनमा कार्य विस्तृतीकरण र कार्य विशिष्टीकरणको अवलम्बन गरेको पाइँदैन । नेपालका संगठनमा व्यवहारमा सुशासनको पालन गरेको पाइँदैन । के मन्त्री, के सचिव, के कार्यकारी निर्देशक के सहायक सबैमा अनुशासन, समर्पण र कर्तव्यपरायणताको अभाव देखिन्छ । सुशासनमा कमी, बढ्दो भ्रष्टाचार, नियमकानूनको उल्लंघन, तथा उत्तरदायित्व, जवाफदेहिता, पारिदर्शिता, समन्वय, सञ्चार र आत्मनिर्भरताको अभावले संगठनको उत्पादकत्व अपेक्षित बढेको छैन ।

नेपालमा संगठनात्मक व्यवहारका लागि आगामी कार्य दिशा
संगठनले कर्मचारिको मनोभावना, योग्यता र क्षमता बुझि सोही अनुसार उनिहरुलाई अभिप्रेरित गर्दै काममा लगाउनु पर्दछ ।संगठनात्मक व्यवहारमा मुलत आन्तरिक तथा बाह्रिय परिपेक्षहरुको प्रभाव मुल्याँकन गरिन्छ । त्यसैले संगठनात्मक व्यवहार अध्ययनमा कर्मचारीको स्वभागत आनीबानी बुझी उनीहरुलाई संगठित गर्दै सँस्थागत लक्ष्य हाँसिल गर्न सँगठन कृयाशिल हुनु पर्दछ । कर्मचारीको क्षमता, दक्षता चाहाना र कर्मचरीको सामाजिक तथा सँस्कृतिक पक्षको बारेमा अध्ययन गर्नुपर्छ । र सोही अनुसार कर्मचारीलाई व्यवहार गरी संगठनात्मक लक्ष्य हाँसिल गर्न सक्नुपर्छ । संस्थागत तह अनुसार सबै कर्मचारी बिच सह सम्बन्ध स्थापना गर्दै कर्मचारीहरुबाट कार्य सम्पादन गर्ने गराउनु पर्छ । र सँस्थागत लक्ष्य हाँसिल गर्नुपर्छ ।सँस्थामा प्राप्त साधन श्रोतको परिचालनमा ध्यान दिँदै कार्य सम्पादन गर्न सक्नुपर्छ । व्यवसायिक वतावरण आन्तरिक तथा बाहिय वातावरणमा आएका विभिन्न प्रकारको अवसर र चुनौति र कमिकजोरीलाई सुधार गर्दै कर्मचारिको मनोभावना बुझि संगठनात्मक कामहरु गर्नुपर्छ ।
संगठनमा कर्मचारीहरुमा तनाव व्यवस्थापनको अभाव, उत्प्रेरणामा कमी, उचित तालिमको अभाव, कार्य वातावरणमा ह्रास, वृत्तिविकासमा देखिएको पक्षपात, राम्रोभन्दा हाम्रो भन्ने मान्यता संगठनात्मक व्यवहार अध्ययनका प्रमुख बाधक बिषय भएकाले व्यक्ति वा समुहको बिभिन्न पक्षको अध्ययन गरी अघि बढ्नु पर्दछ । संगठनात्मक व्यवहारका परिवर्तित सोचहरु जस्तै, गुणस्तर र उत्पादकत्व, प्रविधी र उत्खन्न, नैतिकता,विश्वव्यापी वातावण र प्रभाव , बहु सँस्कृतिक पक्षको व्यवस्थापन, खोज तथा अनुसन्धान, कर्मचारी व्यवस्थापन निती नियम,राष्ट्रिय नितिनियम, अन्तराष्ट्रिय नीति नियम हुन् । यी परिवर्तित सोचलाई ध्यान दिँदै सँगठनात्मक व्यवहारका व्यक्तिगत तह वा समूहगत तह वा संगठनात्मक तहका तहगत कामहरु गर्नुपर्छ । साथै,संगठनात्मक व्यवहारलाई चुस्त तथा प्रभाकारी बनाउन संगठन भित्र प्रविधिको विकास गर्न, कर्मचारिहरुको व्यावसायिकतामा सुधार गर्न, संगठनको उत्पादकत्व र गुणस्तर बढाउन संगठनात्मक व्यवहारमा समय सापेक्ष सुधार ल्याउन जरुरी छ ।
नेपालले सुखी नेपाली र समृद्ध नेपालको सपनालाई पूरा गर्न, अन्तरराष्ट्रिय क्षेत्रमा शाख वृद्धि गर्न, विदेशी लगानी आकर्षण गर्न, प्रविधिको विकास गर्न, कर्मचारीको व्यावसायिकतामा सुधार गर्न, संगठनको उत्पादकत्व र गुणस्तर बढाउन संगठनात्मक व्यवहारमा तीव्र सुधार जरुरी छ । साथै, सर्वसाधारणलाई देशमा सबै तहका सरकार तथा संगठनहरू क्रियाशील छन् जसले आम मानिसको यथोचित आवश्यकता समयमा पूरा गर्छ भन्ने अनुभूति दिलाउन प्रतिबद्धता र नीतिगत व्यवस्थाभन्दा यथार्थमा यसको कार्यान्वयनको आवश्यकता पर्छ ।

निष्कर्ष
संगठनात्मक व्यवहार वहुआयामिक विषय हो । नेपालमा संगठनात्मक सुधार र व्यवहारमा परिवर्तन ल्याउन सरकारी तवरबाट धेरै आयोग र समितिहरू बने पनि कार्यान्वयनको अवस्था नाजुक रहेको छ । संगठनात्मक व्यवहारमा देखिएका जटिलताहरुलाई समयमै निराकरणगरी संगठनात्मक गतिशीलता र प्रभावकारीता अभिबृद्धि गर्नु आवश्यक रहेको छ ।

प्रकाशित :२०८० पुष ६, शुक्रबार १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry