पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर। नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा गएको ठूलो बाढीका कारण सिर्जना भएको गम्भीर र चिन्ताजनक स्थितिमा उद्धार र राहत कार्यमा तुरुन्त जुट्न निर्देशन दिए।

Advertisement 1

प्रभावित क्षेत्रमा सहयोगमा क्रियाशील आज तय भएको ‘ग्रिन टेवल’ र भोलि बिहीबारका लागि तय भएको ‘महिला उद्यमी सम्मेलन’ समेत स्थगित गरिएको उनले जानकारी दिए। “यस विपद्को अवस्थामा भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासको क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु, सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार राहतमा केन्द्रित रहन अनुरोध गर्दछु”, सभापति थापाले भने, “सरकारले बोलाएको बैठकमा संसदीय दलका नेता र रसुवाका सांसदले उपस्थित भएर आफ्नो कुरा राखिसक्नुभएको छ, विपद् व्यवस्थापनका लागि सरकारको प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेछ।”

सभापति थापाले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लाका कांग्रेसका सम्पूर्ण समितिहरू, नेतृत्व एवं सबै सदस्य साथीलाई तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा राख्न, उद्धार र राहत कार्यमा तुरुन्त जुट्न र सहयोग गर्न अपिल समेत गरेका छन्। उनले पार्टीका सबै तहका सदस्यहरूलाई आफू सुरक्षित रहेर जसले जहाँ जे सक्छ, त्यही आधारमा खोज, राहत तथा उद्धारमा लाग्न आग्रहसहित केन्द्रीय कार्यालयमा हुने सबै कार्यक्रम स्थगित गर्दै विपद् व्यवस्थापनमा केन्द्रित गरेको जानकारी गराए।

Advertisement 2

उनले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा बाढी प्रभावितहरूका लागि सहयोग जुटाउन र सरकारसँग समन्वय गरेर देशभरका पार्टीका सदस्यहरूबाट सहयोग जुटाउन क्रियाशील रहने समेत जानकारी गराए।

प्रकाशित :२०८३ भाद्र १०, बुधबार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry