श्रावण शुक्ल पञ्चमी :वासुकीनाथमा विशेष पूजा

काठमाडौं। नागपञ्चमीका अवसरमा पशुपति क्षेत्रस्थित वासुकीनाथ मन्दिरमा भक्तजनले विशेष पूजा गरेका छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिनमा यो पर्व मनाइन्छ। पशुपतिनाथ मन्दिरसँगै रहेको वासुकीनाथ मन्दिर पूजाका लागि बिहानैदेखि भक्तजन लाम लागेर आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए। उनका अनुसार ३०० भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन्।
Advertisement 1
चान्द्रमास अनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन पनि धेरै भएको उनले जानकारी दिए। बोल बम यात्री बिहान २ बजेदेखि नै लाममा बसेका थिए। पशुपतिनाथका ४ ढोका भने आज बिहान चार बजेदेखि मात्र खोलिएको थियो। आज पशुपतिनाथ मन्दिरमा पनि ३०० जना भक्तजनले नै रसिद काटेर विशेष पूजा गरेका छन्। वासुकीनाथ र पशुपतिनाथमा गरी आज एकै दिन ६०० जना भक्तजनले रसिद काटेर विशेष पूजा गरेका हुन्।
सौरमास अनुसारका ४ सोमबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका ४ ढोका खुला गरिएको थियो। चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान ४ बजेमात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताए।
Advertisement 2
सौरमास अनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ। चाडपर्व चान्द्रमास अनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ। चान्द्रमास अनुसार भदौ ८ गते सोमबार श्रावण महिनाको अन्तिम सोमबार परेको छ। त्यस दिन पनि पशुपतिनाथमा यही मात्रामा भक्तजनको लाम लाग्ने अनुमान गरिएकाले त्यसका लागि तयारी गरिने कोषले जनाएको छ।








