घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं। सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ।
Advertisement 1
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ। परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ।
पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ। केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ।
Advertisement 2
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहास एवं संस्कृतिविद् प्रकाश श्रेष्ठ ‘सक्व’ले बताए।
जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधना कार्यलाई महत्वपूर्ण मानिन्छ।








