ग्यास लुकाएको आरोपमा नेपालगन्जको किराना पसललाई ५० हजार जरिवाना

नेपालगन्ज। बजार अनुगमनका क्रममा ग्यासका सिलिन्डर लुकाएर राखेको भेटिएपछि नेपालगन्जको एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

Advertisement 1

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा सोमबार गरिएको अनुगमनका क्रममा नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार ग्यास लुकाएर राखिएको सूचना पाएपछि अनुगमन टोली पसलमा पुगेको थियो। अनुगमनका क्रममा सूचना सही पाइएपछि पसलमा लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर फेला परेको उनले बताए।

Advertisement 2

“ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,” गुरुङले भने।

ग्यास लुकाएर राखेको कसुरमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

Advertisement 3

अनुगमनका क्रममा उक्त पसलबाट उपभोगका लागि अनुपयुक्त अर्थात् अखाद्य केही सामग्रीसमेत फेला परेको अनुगमन टोलीले जनाएको छ।

पछिल्लो समय बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा बढी मूल्यमा बिक्री गर्ने प्रवृत्ति नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्रता दिइएको छ। प्रशासनले उपभोक्ताको हितविपरीत हुने गतिविधि गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ।

प्रकाशित :२०८३ श्रावण २५, सोमबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry