१९ बुँदे सहमतिपछि नर्स ज्योति रानाभाटको अनसन अन्त्य, ७ दिनभित्र कार्यदल गठन हुने

काठमाडौं। विभिन्न माग राखेर ६ दिनदेखि सत्याग्रह (अनसन)मा बसेकी नर्स अभियान्ता ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो अनसन अन्त्य गरेकी छन्।

Advertisement 1

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वार्ता टोली र अभियान्ता रानाभाटबीच बुधबार बिहान भएको सहमतिपछि अनसन अन्त्य भएको हो। रानाभाटले साउन १४ गतेदेखि नर्स तथा मिडवाइफहरूको सेवा, सुविधा र व्यावसायिक अधिकारसँग सम्बन्धित माग राख्दै सत्याग्रह सुरु गरेकी थिइन्।

सहमतिपत्रमा मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले सरकारका तर्फबाट हस्ताक्षर गरेका छन् भने अभियान्ता ज्योति रानाभाटले पनि हस्ताक्षर गरेकी छन्।

Advertisement 2

सहमतिअनुसार सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडवाइफहरूको पारिश्रमिक, सेवा–सुविधा र सम्मानजनक कार्य वातावरण सम्बन्धी अध्ययन गर्न सात दिनभित्र कार्यदल गठन गरिनेछ। उक्त कार्यदलले छ महिनाभित्र प्रतिवेदनसहित आवश्यक सुझाव पेश गर्नेछ।

यस्तै, नर्स तथा मिडवाइफका लागि सुरक्षित कार्य वातावरण, व्यावसायिक विकास, नर्स–बिरामी अनुपात (Nurse–Patient Ratio) निर्धारण, स्पेसलिस्ट नर्स, एडभान्स्ड प्राक्टिस नर्स, नर्स/मिडवाइफ प्राक्टिसनर सम्बन्धी व्यवस्था, निरन्तर व्यावसायिक विकास (CPD), क्लिनिकल गभर्नेन्स, पेसेन्ट सेफ्टी, मिडवाइफ नेतृत्वमा मातृ तथा नवजात सेवा, सम्मानजनक मातृत्व सेवा (Respectful Maternity Care) लगायतका विषयमा आवश्यक नीतिगत र कानुनी व्यवस्था अघि बढाउने सहमति भएको छ।

Advertisement 3

सहमतिमा स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा मिडवाइफको पेशागत अधिकार, सेवाको गुणस्तर र स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि चरणबद्ध रूपमा आवश्यक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता पनि जनाइएको छ।

सरकार र आन्दोलनरत पक्षबीच सहमति भएसँगै स्वास्थ्य क्षेत्रमा केही दिनदेखि देखिएको तनाव अन्त्य भएको छ भने नर्सिङ क्षेत्रका विभिन्न माग सम्बोधन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

प्रकाशित :२०८३ श्रावण २०, बुधबार ११:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry