जनसङ्ख्या अध्ययन तथा सूचना केन्द्र स्थापना गर्न माग

काठमाडौं। नेपाल जनसङ्ख्या सङ्घ (पान)ले जनसङ्ख्या अनुसन्धान तथा सुचना केन्द्र स्थापना गर्न सरकारसँग माग गरेको छ।
Advertisement 1
पानको १ टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधाननन्त्रीको निजी सचिवालयमा एक स्मरणपत्र बुझाउँदै नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना, बसाइँसराइ तथा यसले सामाजिक, राजनीतिक क्षेत्रमा पार्ने असरबारे समयमै सूचित गर्न छुट्टै निकाय आवश्यक रहेकामा जोड दिएको हो।
पानका अध्यक्ष डा पदमप्रसाद खतिवडा, उपाध्यक्ष मनु मिश्र, महासचिव प्रदीप बोहोरासहिनको टोलीले प्रधानमन्त्रीको सचिवालयमा बुझाइएको स्मरणपत्रमा हालै सङ्घीय मन्त्रालयको पुनःसंरचनाका क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट ‘जनसङ्ख्या’ हटाइएकामा चिन्ता व्यक्त गरिएको छ।
Advertisement 2
“राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ ले निर्दिष्ट गरेको जनसङ्ख्या अनुसन्धान केन्द्र स्थापना गर्न र स्वास्थ्य तथा स्वच्छता मन्त्रालयमा रहेको जनसङ्ख्या महाशाखा यथावत् राख्न माग गरेका छौँ”, अध्यक्ष खतिवडाले भने, “राष्ट्रिय जनसङ्ख्या नीति बनाउँदा सबै मन्त्रालयसँग समन्वय गरिएको र त्यसैको मर्मअनुसार जनसङ्ख्या महाशाखालाई अझ बलियो बनाएर लैजानुपर्नेमा हटाउन खोज्नु उपयुक्त छैन भन्ने हाम्रो आग्रह हो।”








