विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ

काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Advertisement 1
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोगका अध्यक्ष डा. रामप्रसाद धितालसहित सदस्यहरू बलराम सिलवाल, लोकराज पाठक र जयराज भण्डारीलाई शपथ गराएका हुन् ।
शपथ ग्रहणपछि मन्त्री श्रेष्ठले आयोगमा अनुभवी व्यक्तिहरूको नेतृत्व आएको भन्दै विद्युत् क्षेत्रको नियमन तथा संस्थागत सुधारमा परिणाम देखिने गरी काम गर्न आग्रह गरे । उनले आयोगको प्रभावकारी भूमिकाका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
Advertisement 2

मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रसँग सम्बन्धित निकायहरूको कामलाई थप व्यवस्थित र पारदर्शी बनाउन आयोगले आफ्नो नियामकीय भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले ऊर्जा मन्त्रालय मातहतका विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको कामसमेत नियामकीय दृष्टिले प्रभावकारी रूपमा हेर्नुपर्नेमा जोड दिए ।
Advertisement 3
विद्युत् प्राधिकरणको खरिद प्रक्रियालाई समेत कार्यतालिका बनाएर अनुगमन गर्नुपर्ने सुझाव दिँदै मन्त्री श्रेष्ठले आयोगलाई सुशासन प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताए ।
उनले विद्युत् क्षेत्रको विकासमा सामाजिक न्यायलाई समेत प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै नीतिगत रिक्तता पहिचान गरी समाधानका लागि आयोगले योगदान गर्नुपर्ने बताए । कानुनी व्यवस्था स्पष्ट, स्थिर र पूर्वानुमान गर्न सकिने बनाउन पनि आयोगको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रसँग सम्बन्धित निकायहरूमा शासकीय सुधार र सुशासन कायम गर्न नवनियुक्त पदाधिकारीबाट अपेक्षा गरिएको बताए ।
शपथपछि आयोगका अध्यक्ष डा. धितालले सरकारको सुशासनसम्बन्धी मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आयोगको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाए ।
उनले मन्त्रालयको नीतिगत मार्गदर्शन र समन्वयमा आयोगले आफ्नो नियामकीय भूमिका निर्वाह गर्ने बताए । विद्युत्को राष्ट्रिय खपत बढाउन आवश्यक सहजीकरण गर्ने तथा ऊर्जा क्षेत्रलाई थप व्यवस्थित बनाउन आयोगले काम गर्ने उनको भनाइ थियो ।
‘मन्त्रालयको नीतिगत मार्गदर्शन र अभिभावकत्व आवश्यक छ । मन्त्रालयसँग नजिकको समन्वयमा काम गर्छौं । यो टिमले निराश बनाउने छैन,’ अध्यक्ष धितालले भने ।
आयोगका नवनियुक्त सदस्यहरूले आफूहरू लामो समयदेखि विद्युत् क्षेत्रमै काम गर्दै आएको उल्लेख गर्दै आफ्नो अनुभव र विज्ञतालाई उपयोग गरेर नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नयाँ पदाधिकारीको नियुक्तिसँगै विद्युत् क्षेत्रको नियमन, सुशासन, नीतिगत सुधार तथा विद्युत् खपत विस्तारमा आयोगको भूमिका थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।








