विदेश भ्रमणभन्दा मन्त्रालयमै सक्रिय सचिव सिग्देल

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त राष्ट्रसंघीय बसोबास कार्यक्रम (यूएन–हेबिट्याट) सम्बन्धी अमेरिकाको न्यूयोर्कमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई सहभागी गराएको विषय प्रशासनिक वृत्तमा चर्चा बनेको छ।

Advertisement 1

असार ३१ देखि साउन २ गते (जुलाई १५–१८) सम्म न्यूयोर्कमा सम्पन्न कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रतिनिधित्व गर्ने जिम्मेवारी सचिवालयका सचिव पाण्डेलाई दिइएको थियो। उनी कार्यक्रममा सहभागी भएर नेपाल फर्किसकेका छन्।

प्रशासनिक परम्पराअनुसार मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रममा सम्बन्धित मन्त्रालयका सचिव वा विषयगत अधिकारी सहभागी हुने अभ्यास रहे पनि यसपटक मन्त्रीले आफ्नै सचिवालयबाट प्रतिनिधि पठाउने निर्णय गरेका हुन्।

Advertisement 2

यद्यपि, मन्त्रालयका सचिव सिग्देल भने मन्त्रालयमै रहेर नियमित प्रशासनिक तथा विकास आयोजनाको कामलाई निरन्तरता दिइरहेका थिए। मन्त्रालय स्रोतका अनुसार सचिव सिग्देलले चालु आयोजनाको प्रगति समीक्षा, बजेट कार्यान्वयन, ठेक्का व्यवस्थापन तथा मातहतका निकायसँगको समन्वयलाई प्राथमिकतामा राख्दै मन्त्रालयको दैनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने काम जारी राखेका थिए।

सचिव सिग्देल विकास प्रशासनमा अनुभवी प्रशासकका रूपमा परिचित छन्। मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालेपछि उनले आयोजना कार्यान्वयनमा गति, कर्मचारी समन्वय र निर्णय प्रक्रियालाई व्यवस्थित बनाउन भूमिका खेलेको मन्त्रालयका कर्मचारीहरू बताउँछन्।

Advertisement 3

प्रशासनिक जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रममा को जाने भन्ने निर्णय सरकार वा सम्बन्धित मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषय भए पनि मन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने सचिवको भूमिकालाई प्राथमिकता दिने अभ्यासलाई निरन्तरता दिनु संस्थागत दृष्टिले उपयुक्त मानिन्छ।

यस घटनाले मन्त्रालयभित्र प्रतिनिधित्वको अभ्यासबारे चर्चा गराए पनि सचिव सिग्देल भने मन्त्रालयको नियमित प्रशासनिक जिम्मेवारीमा केन्द्रित रहँदै विकास आयोजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय रहेको मन्त्रालय स्रोतले जनाएको छ।

प्रकाशित :२०८३ श्रावण ७, बिहीबार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry