महँगी भत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिए प्रेस काउन्सिलका कर्मचारी

काठमाडौं। महँगी भत्ता उपलब्ध नगरिएको भन्दै प्रेस काउन्सिल नेपालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरूले गत माघ महिनादेखि महँगी भत्ता नपाएको भन्दै कार्यालय परिसरमा विरोध जनाएका हुन्।
Advertisement 1
आन्दोलनरत कर्मचारीहरूले पटक–पटक माग राख्दासमेत सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूका अनुसार महँगी भत्ता उपलब्ध गराउन र कर्मचारीबीच रहेको सेवा–सुविधाको विभेद अन्त्य गर्नुपर्ने माग राखिएको छ।
स्थायी कर्मचारीसँगै करार कर्मचारीहरूले पनि सेवा–सुविधामा समान व्यवहार हुनुपर्ने माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
Advertisement 2

यसैबीच, सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाललाई कार्यकक्षमा थुनेर आन्दोलन गरिएको भन्ने समाचार सार्वजनिक भएको थियो। तर आन्दोलनरत कर्मचारीहरूले उक्त दाबी सत्य नभएको बताएका छन्। कर्मचारीहरूका अनुसार आन्दोलन शान्तिपूर्ण रूपमा भइरहेको छ र मुख्य अधिकृतलाई कार्यकक्षमा थुनेको भन्ने समाचार तथ्यमा आधारित छैन।
Advertisement 3
कर्मचारीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।








