जीर्ण अवस्थामा सञ्चालित पानी उद्योग सिल, काठमाडौंका क्यान्टिनमा कृत्रिम खाद्य रङ फेला

काठमाडौं। खाद्य स्वच्छता तथा गुणस्तर विभागले असार १६ गते ललितपुर र काठमाडौंका दुई खाद्य व्यवसायमा गरेको निरीक्षण तथा अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि आवश्यक कारबाही गरेको जनाएको छ।
Advertisement 1
विभागका अनुसार गोदावरी–३, ललितपुरस्थित अमुल्य ड्रिंकिङ वाटर सर्भिसेस प्रा.लि. मा गरिएको अनुगमनका क्रममा अर्को उद्योगको जारमा प्रशोधित पानी भरेर बिक्री वितरण गरिएको, उत्पादन तथा लेबलसम्बन्धी विवरण उल्लेख नगरी बजारमा पठाइएको तथा पानी प्रशोधन र भर्ने स्थान खुला अवस्थामा रहेको पाइएको थियो। साथै, उद्योगमा प्रयोग गरिएको रिभर्स अस्मोसिस (RO) प्लान्ट पूर्ण रूपमा चुहिने अवस्थामा रहेको र सरसफाइसमेत सन्तोषजनक नरहेको विभागले जनाएको छ।
यी कमजोरीलाई गम्भीर मान्दै विभागले उद्योगको अवस्था सुधार नभएसम्म तथा प्रयोगशाला परीक्षणको प्रतिवेदन प्राप्त नहुन्जेल उद्योग सिल गरेको जनाएको छ। साथै, प्रयोगशाला परीक्षणका लागि पानीको नमुना पनि संकलन गरिएको विभागले जानकारी दिएको छ।
Advertisement 2
यस्तै, प्राप्त उजुरी तथा गुनासोका आधारमा काठमाडौं महानगरपालिकासँगको संयुक्त टोलीले काठमाडौं–२८ स्थित निर्मल ब्याङ्क्वेट एन्ड इभेन्ट म्यानेजमेन्ट (नेपाल ल क्याम्पस क्यान्टिन) मा आकस्मिक अनुगमन गरेको थियो।

Advertisement 3
अनुगमनका क्रममा खाद्य पदार्थको प्रत्यक्ष सम्पर्कमा आउने गरी मसिजन्य कागज प्रयोग गरिएको, फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको, पकाइएका खाद्य पदार्थ नछोपी राखिएको, सरसफाइ सन्तोषजनक नरहेको तथा भान्सामा कृत्रिम खाद्य रङ प्रयोग गरिएको पाइएको विभागले जनाएको छ।
विभागले सम्बन्धित व्यवसायलाई खाद्य स्वच्छता कायम राख्न, खाद्य पदार्थको सम्पर्कमा मसिजन्य कागज प्रयोग नगर्न तथा खाद्य पदार्थलाई उचित तापक्रममा राम्रोसँग छोपेर भण्डारण गर्न निर्देशन दिएको छ। उक्त क्यान्टिनमाथिको थप आवश्यक कारबाही काठमाडौं महानगरपालिकाले अगाडि बढाउने विभागले जनाएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार नियमित निरीक्षण तथा अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्य संरक्षण र सुरक्षित खाद्य उपभोग सुनिश्चित गर्न विभाग प्रतिबद्ध रहेको जनाएको छ।








