सेनामा पेन्सन पाउने उमेर व्यवस्था घटाउने प्रक्रिया शुरु

सेनाले पेन्सन पाउने विद्यमान उमेर व्यवस्थालाई घटाउने प्रक्रिया शुरु गरेको छ ।
Advertisement 1
पहिले निश्चित तहसम्मकाले १६ वर्षको सेवापछि पेन्सन पाउने व्यवस्थालाई बीस बर्ष पुर्याइएको थियो । अहिले पुरानै व्यवस्थामा झार्न खोजिएको हो । पेन्सनको विद्यमान उमेर घटाउँदा सरकारलाई ह्वात्तै खर्चको व्ययभार बढ्ने भन्दै अर्थ र रक्षाले स्वीकृति दिन आनाकानी गरिरहेको बताइन्छ ।
सबै सैनिकलाई चार वर्ष पहिले सेवानिवृत्त गराउने व्यवस्था लागू गर्दा पेन्सनदेखि अन्य सबै खर्च बढ्ने पक्का रहेको स्रोतको दाबी छ । त्यसैले सेनापतिले अनेक जोड लगाउँदा पनि फाइल फिटिक्क अघि बढ्न सकेको छैन ।
Advertisement 2
सेनाले अन्तर्राष्ट्रिय प्रचलन देखाउँदै १६ वर्षमा सेवानिवृत्त हुने व्यवस्था उपयुक्त भएको अडान दोहो¥याएको छ । तर, कोरोना प्रकोप र त्यसको रोकथाममा सरकारी खर्च बढेकाले अर्थ मन्त्रालयले यतिखेर खर्च बढाउन नसकिने रायसहित प्रस्ताव तत्कालको लागि होल्डमा राखेको हो ।
१६ वर्षमा पेन्सन थापेर लक्का जवान छँदै निजी क्षेत्रका सुरक्षा गार्ड कम्पनीमार्फत् विदेश जानु आकर्षणको विषय पनि हो ।
Advertisement 3
अर्थले गरेको विश्लेषणअनुसार एउटा सिपाहीले तालिम र डेढ दशकको जागिरे जीवनमा झण्डै पाँच लाख रूपैयाँ बराबरको गोलीगठ्ठा नै पड्काएको हुन्छ । तलब, भत्ता र अन्य सुविधाको फेहरिस्त त छुट्टै छ ।
सेनालगायत सबै सुरक्षा निकायको सबैभन्दा ठूलो रोग तल्ला तहकाको वृत्ति विकास ठप्प हुनु हो । दशकसम्म एउटै पदमा रहनुपर्नेमा हजारौं हुन्छन् । त्यसले पनि उनीहरूलाई शीघ्र अवकाशको बाटो रोज्न प्रेरित गरेको एकथरीको बुझाई छ ।
सरकारले विशेषगरी अर्थ मन्त्रालयले भने सेनामा कुनै नयाँ व्यवस्था लागू गर्नेबित्तिक्कै नेपाल प्रहरी र सशस्त्रमा समेत त्यसको असर पर्ने भएकाले कोरोनाको प्रकोपले खर्च बढाएको क्षणमा उक्त अनुरोधलाई नसुने झैं गरेको हुनसक्छ ।
फुली होइन क्षमता थप
यसबीच सेनाभित्र कोर क्षेत्रको रूपमा परिचित सेवामा दरबन्दी सिर्जना र फुली थप्नु भन्दा पनि विभिन्न निर्देशनालय र विभागलाई आ–आफ्नै ढंगले विशिष्टीकृत बनाउनु उपयुक्त देखिएको छ । इञ्जिनियरिङ्ग, सिग्नल जस्ता कोर युनिटलाई उकास्नुपर्ने आवाज उठेको छ ।