लोकसेवा आयोगको परीक्षामा ध्यान दिनुपर्ने कुराहरू

सबैभन्दा बढी प्रतिस्पर्धा हुने लोकसेवा आयोगको परीक्षामा सफलता पाउन गहिरो बुझाइसहितको राम्रो तयारी त आवश्यक हुन्छ नै, परीक्षाको समयमा केही सामान्य कुरामा ध्यान नपुग्नाले पनि असफल हुन सकिन्छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको परीक्षा नजिकै आएको सन्दर्भमा परीक्षार्थीले लामो समयदेखि गरेको कठोर मिहिनेतलाई परीक्षामा अधिकतम प्रदर्शन गर्न सकून् भन्ने उद्देश्यले यहाँ परीक्षामा ध्यान दिनुपर्ने केही आधारभूत कुरा प्रस्ट पार्न खोजिएको छ ।

१ स्वास्थ्यमा ध्यान दिने
परीक्षामा शरीर र मस्तिष्क दुवै स्वस्थ र स्फूर्ति हुनु अन्त्यतै जरुरी हुन्छ । यसका लागि परीक्षाभन्दा एक–दुई दिनअघिबाट खानपिनमा विशेष ध्यान दिनुपर्छ । गरिष्ठ मसलारहित शाकाहारी र सात्विक भोजन गर्नाले र पर्याप्त पानी पिउनाले शरीरमा हलुकोपना महसुस हुन्छ । हल्का व्यायाम, ध्यान र योगा गर्नाले शरीरमा नयाँ ऊर्जा र ताजगीपन आउँछ । बाहिर धुवाँधुलोमा धेरै ननिस्की कोठामै बसेर सरसर्ती कोर्स रिभिजन गर्ने र बीच–बीचमा मधुर सांगीतिक धुन सुन्ने वा आफूलाई सबैभन्दा मनपर्ने मनोरञ्जनात्मक क्रियाकलाप गर्नाले शरीरबाट आलस्य भाग्छ । परीक्षा के होला, कस्तो होला, प्रश्न कस्तो आउला, लेख्न सकौँला वा नसकौँला, पास हुँला कि नहुँलाजस्ता अनगिन्ती प्रश्न मनमा खेलाएर बस्नुहुन्न । यसले गर्दा थाहै नपाई तनाव बढ्छ र शारीरिक अस्वस्थताका अनगिन्ती लक्ष्यण देखिन थाल्छन् । धेरै परीक्षार्थीको परीक्षाको केही दिनअघिबाट रातभर नसुती पढ्ने बानी हुन्छ । अनिद्रा आलस्य र तनावको मूल कारण हो । त्यसैले परीक्षाको समयमा कम्तीमा ६–७ घन्टा सुत्नु आवश्यक हुन्छ ।

२ परीक्षापूर्वको तयारीमा ध्यान दिने
परीक्षाको दिन सबैभन्दा पहिले परीक्षाका आवश्यक सामग्री तयारी अवस्थामा राख्नुपर्छ । प्रवेश पत्र, परीक्षामा प्रयोग गर्ने पेन ९कम्तीमा दुइटा०, घडी र आवश्यक पर्ने भए स्केल, पेन्सिल, इरेजर आदिजस्ता अन्य सामग्री समयमै ठिक्क पारेर राख्नुपर्छ । परीक्षा भवनको लोकेसनबारे एक दिनअगावै स्पष्ट हुनुपर्छ । परीक्षाको दिन परीक्षा समयभन्दा एक घन्टाअघि परीक्षा केन्द्रमा पुग्ने गरी निस्कनुपर्छ । परीक्षा केन्द्रमा प्रवेश गरेपछि आफू बस्ने डेस्क, बेन्च कत्तिको कम्फर्टेबल छ चेक गर्नुपर्छ र कुनै समस्या भए परीक्षा व्यवस्थापनमा खटिएका कर्मचारीलाई भनी तुरुन्तै समाधान गर्नुपर्छ । परीक्षा हलमा प्रवेश गरी उत्तरपुस्तिका प्राप्त भएपछि परीक्षा सुरु हुनुपूर्व नै सबै उत्तरपुस्तिकाको कभर पेजमा भर्नुपर्ने सबै कुराहरू नअत्ताल्लिईकन राम्रो अक्षरमा प्रस्ट बुझिने गरी भर्ने । सिम्बोल नम्बर सबै कपीमा एकपटक दोहो(याएर रुजु गर्ने । त्यसपछि उत्तरपुस्तिकालाई चारैतिर कम्तीमा एक–एक इन्च मार्जिन राखेर फोल्ड गर्ने । उत्तरपुस्तिकाको बायाँतिर अलि बढी मार्जिन छाड्नु राम्रो हुन्छ ।

३ परीक्षा सुरु भएपछि ध्यान दिनुपर्ने कुरा
परीक्षा आरम्भको घन्टी बजेर प्रश्नपत्र प्राप्त भएपछि सर्वप्रथम प्रश्न सरसर्ती हेर्नुपर्छ । प्रश्न कठिन भए पनि आत्तिनुहुँदैन र सजिलो भए पनि हौसिनु हुँदैन । भावना वा संवेगलाई नियन्त्रण गर्न सक्नुपर्छ । प्रत्येक प्रश्नको उत्तर लेख्न सुरु गर्नुपूर्व प्रश्नलाई ध्यान दिएर दुई–तीनपटक पढी प्रश्नको विषयवस्तु, सन्दर्भ, फोकस र खण्ड तथा तिनको अंकभार पहिचान गरी त्यस्ता प्रत्येक खण्डका मूल शब्दलाई अन्डरलाइन गर्नुपर्छ । त्यसपछि प्रश्नको उत्तर कतिवटा शीर्षक तथा उपशीर्षकमा कसरी लेख्ने भनी मनमनै उत्तरको योजना वा खाका बनाउनुपर्छ । प्रत्येक खण्डलाई छुट्टाछुट्टै शीर्षक दिई लेख्नु राम्रो हुन्छ भने त्यस्तो शीर्षक अघि अन्डरलाइन गरेको शब्दलाई आधार मानी बनाउनुपर्छ । यसरी प्रश्नलाई बुझ्ने र
उत्तरको योजना बनाउने कार्य एकदेखि डेढ मिनेटको समयभित्र सक्नुपर्छ ।

४ समय व्यवस्थापनमा ध्यान दिने
उत्तर लेख्दा समयलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । १० अंकको प्रश्नका लागि १८ मिनेटको समय हुन्छ, तर १५ देखि १६ मिनेटभित्र लेखिसक्नुपर्ने हुन्छ । बाँकी दुई मिनेट सुरुमा प्रश्न बुझेर उत्तरको खाका विकास गर्न र बीचमा आइपर्न सक्ने कुनै भैपरी व्यवस्थापनका लागि छुट्याउनुपर्छ ।

कुनै एउटा प्रश्न बढी आउँछ र अर्को कम आउँछ भन्ने ठानेर आउने प्रश्नलाई बढी समय दिने र कम जानेको छु भन्ने लागेको प्रश्नलाई कम समय दिने गर्नु हुन्न । जुन प्रश्नका लागि जति समय हो, त्यो सबै समय सोही प्रश्नलाई दिनुपर्छ । कम जानेको विषयमा केही न केही जानेको कुरा मौलिक रूपमा लेख्यो भने १० मा ३–४ अंक ल्याउन कठिन हुँदैन, तर धेरै जानेकोमा जति धेरै लेखे पनि सामान्यतया जति आउने हो सोभन्दा थप ०।५ अंक ल्याउन पनि ज्यादै कठिन हुन्छ । त्यसैले जानेको प्रश्नको उत्तर धेरै लेख्नुभन्दा नजानेको प्रश्नको उत्तर केही न केही लेख्नु धेरै लाभदायी हुन्छ ।

५ सिलसिलेबार उत्तर लेख्ने
प्रश्नको उत्तर लेख्दा १ नम्बरदेखि क्रमशः अन्तिमसम्म लेख्नुपर्छ कि अघिपछि गरेर लेखे पनि हुन्छ भन्ने द्विविधा धेरैमा हुन्छ । लोकसेवाको परीक्षामा प्रश्न छान्न पाउने सहुलियत हुँदैन । सबै प्रश्न अनिवार्य नै हुन्छन् । त्यसैले सिरियल्ली नै लेख्दा सजिलो हुन्छ । तर, आफूलाई बढी कन्फिडेन्स भएको प्रश्न पहिले गरी अरू त्यसपछि गर्न पनि सकिन्छ । यद्यपि यसो गर्दा कुनै प्रश्नको उत्तर लेख्ने भुलिने वा एउटा समूहको उत्तर अर्कै उत्तरपुस्तिकामा पर्ने जोखिम हुन सक्छ । त्यसतर्फ भने सजग हुनुपर्छ ।

६ भाषाको प्रयोग सम्बन्धमा
लोकसेवाको परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सकिन्छ । सम्भव भएसम्म सबै परीक्षा एउटै भाषामा दिएको राम्रो । तर, एउट खण्ड नेपाली र अर्को खण्ड अंग्रेजीमा दिन पनि सकिन्छ । त्यसैगरी माध्यम भाषा नेपाली बनाएको अवस्थामा वाक्यहरूको बीचमा आवश्यकताअनुसार अंग्रेजी शब्दको प्रयोग गर्न पनि सकिन्छ । कहिलेकाहीँ कुनै खण्डको शीर्षकमुनि नेपाली भाषामा पृष्ठभूमि लेखेर प्रश्नले मागेको उत्तरका बुँदाचाहिँ केही वा सबै अंग्रेजीमा आउँछ भने अंग्रेजीमै लेख्न पनि सकिन्छ । तर, नेपाली माध्यमको उत्तरमा अंग्रेजी प्रयोग गर्दा अनावश्यक र भद्दा भान हुने गरी जबर्जस्ती प्रयोग गर्नु भने हुँदैन । उत्तर लेख्दा सम्भव भएसम्म सरल भाषामा छोटा–छोटा वाक्यमा सीधा र प्रस्ट रूपमा आफ्नो धारणा लेख्नुपर्छ । जार्गन, जटिल र लामा–लामा वाक्य, अमूर्त र अप्रत्यक्ष भाषाको प्रयोग गर्नु हुँदैन ।

७. उत्तरको बनोटका सम्बन्धमा
उत्तर लेख्दा अनुच्छेद र बुँदाको उचित संयोजन गरी लेख्नुपर्छ । प्रत्येक खण्डको शीर्षकपछि तीन–चार लाइनमा नबढ्ने गरी अनुच्छेदमा पृष्ठभूमि लेख्ने र बुँदागत रूपमा मागेको उत्तर लेख्ने गर्नुपर्छ । पृष्ठभूमि लेख्दा आवश्यकताअनुसार सोधिएको विषयको परिभाषा गर्ने वा त्यससम्बन्धी तथ्यांकमा आधारित भएर सन्दर्भ विकास वा प्रश्नकै पुनर्सम्बोधन गर्न सकिन्छ । उत्तर लेख्दा प्रत्येक खण्डलाई एकअर्कामा लिंक गर्ने गरी लेख्नुपर्छ । एउटा अनुच्छेद बढीमा ६–७ लाइनभन्दा नबढ्ने गरी लेख्नु राम्रो हुन्छ । वाक्यहरूका बीचमा पर्याप्त स्पेस छाड्ने र अनुच्छेदबीच वाक्यबीच छाडेकोभन्दा दोब्बर स्पेस छाड्ने गर्दा उत्तर आकर्षक देखिन्छ । उत्तर लेख्दा धेरैजसो परीक्षार्थीले गर्ने साझा गल्ती भनेको सबै प्रश्नको उत्तर एउटै ढँचामा जस्तो नीतिगत, संस्थागत, व्यवस्थापकीय, वातावरणीय पक्ष छुट्याई लेख्नु हो । यसो गर्नाले उत्तरलाई भद्दा, आर्टिफिसियल र सिर्जनशीलताविहीन बन्छ । प्रत्येक उत्तर फरक–फरक शैली र ढाँचामा मौलिक ढंगले लेख्नाले राम्रो अंक प्राप्त गर्न सकिन्छ । अरूको भन्दा भिन्न लेखेर नै अरूलाई जितिने हो भन्ने कुरालाई भुल्नु हुँदैन । प्रत्येक उत्तरको अन्त्यमा संक्षिप्त निष्कर्ष लेख्नुपर्छ । निष्कर्ष लेख्दा एक वाक्यमा पूरै उत्तरको भाव खिच्ने र अर्को वाक्यमा सम्बन्धित विषयमा मोटो सुझाब दिने गर्नु राम्रो हुन्छ । धेरैले रेडिमेड निष्कर्ष लेख्ने गर्छन्, जुन सरासर गलत हुन्छ । हरेक प्रश्नको भिन्न निष्कर्ष हुन्छ ।

८. परीक्षाहलको वातावरणका सम्बन्धमा परीक्षा हलभित्रका गतिविधिले पनि परीक्षालाई प्रभाव पार्छ । कहिलेकाहीँ अगाडि पर्दा वा बेन्चको छेउतिर पर्दा परीक्षामा खटिएका निरीक्षक नजिकै आएर बस्ने वा उभिएर लेखेको हेरिरहने गर्न सक्छन् । यसबाट परीक्षार्थीलाई अप्ठ्यारो महसुस भई लेखन प्रभावित हुन सक्छ । त्यस्तो भएमा समयमै सो कुरा त्यस्तो व्यक्तिलाई जानकारी दिई त्यहाँ नबस्न भन्नुपर्छ । सँगै बसेका परीक्षार्थीले कति छिटो–छिटो पाना पल्टाउँछन् वा उत्तर लेखिसक्छन् वा उत्तरपुस्तिका थप्छन् भन्ने कुराले पनि आफ्नो मनस्थितिमा असर पर्न सक्छ । त्यसबाट बच्न वरिपरि कसैलाई मतलब नगरी आफ्नो उत्तर लेखनमा मात्र केन्द्रित हुने गर्नु राम्रो हुन्छ । धेरै पेज लेखेर वा छिट्टै सकेर वा धेरै कपी थपेर पास भइने होइन, जति लेखिन्छ गहकिलो र मागेको उत्तर लेख्नुपर्छ भन्ने कुरामा विश्वस्त हुनाले यस्ता कुराबाट प्रभावित भइन्न । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार १३:२६

प्रतिक्रिया दिनुहोस्