स्थानीय तहमै लोकसेवा कक्षा निशुल्क पढाउँदै हतुवागढी

निजामती क्षेत्रमा आशा लाग्दा अधिकृत हुन् महेश निरौला । ३५ व्याटका अधिकृत निरौला,अहिले भोजपुरको हतुवागढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा छन् ।
उनै अधिकृत निरौलाकै विशेष पहल र पालिकाको अध्यक्ष प्रेम कुमार राईको अग्रसरतामा अहिले स्थानीय तहमै लोकसेवा र शिक्षक सेवा तयारी कक्षा शुरु गरिएसँगै हतुवागढीको चर्चा चुलिएको छ ।
Advertisement 1
दश पास गर्नेले हलो छोड्ने,प्लस टु गरेकाले थलो छोडेर विदेश भासिने सिलसिला बढ्दैछ । प्लस टु पछि देशमा भविष्य नदेखेर विदेश हुत्तिने युवा युवतीहरुलाई स्वदेशमै रोक्न र सरकारी सेवामा आकर्षण बढाउन हतुवागढीले स्थानीय तहमा लोकसेवा तयारी कक्षा र शिक्ष सेवाको तयारी कक्षा सञ्चालन गरेको हो । लोकसेवा तयारीमा रहेका युवा युवतीहरुलाई भोजपुरको हतुवागढी गाउँपालिकाले स्थानीय स्तरमै निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । लोकसेवा र शिक्षक सेवाका तयारी कक्षाका लागि टाढा टाढासम्म जानुपर्ने अबस्थालाई मध्यनजर गर्दै साथैं युवायुवतीमा सरकारी सेवामा आकर्षण बढाउने उद्देश्यले निःशुल्क तयारी कक्षा शुरु गरिएको पालिकाले जनाएको छ ।
लोकसेवा तथा शिक्षक सेवा निशुल्क रुपमा चलाउने उदेश्यले पालिकाले पाँच लाख रकम विनियोजन गरेको जनाइएको छ । हाल तयारी कक्षामा ४६ जनाको परीक्षार्थीको सहभागिता छ ।
Advertisement 2
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले तयारी कक्षा एक महिनासम्म सञ्चालन गरिने बताए । ‘सरकारी सेवामा प्रवेश गर्न सहजता थप्न तयारी कक्षा सञ्चालन गरेका हौँ’, उनले भने, ‘कक्षा सञ्चालनले उहाँहरुलाई निजामति तथा शिक्षा सेवाका क्षेत्रमा प्रवेश गर्न सहज हुन्छ भन्ने हाम्रो उद्देश्य हो ।’