लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी, स्वार्थका लागि वडामा खटाइएको गुनासो

काठमाडौं। जनप्रतिनिधि र कर्मचारीबीच असमझदारी उत्पन्न भएपछि लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी दिइएको घटना सार्वजनिक भएको छ। पर्साको बहुदरमाई नगरपालिकाले लेखा अधिकृत रन्धिरकुमार यादवलाई वडा नं. ४ को कार्यालयमा वडा सचिवको जिम्मेवारी दिएको हो।
Advertisement 1
“लेखा अधिकृत रन्धिरकुमार यादव पालिकाको आर्थिक प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएकोमा, अब उपरान्त यस नगर कार्यपालिकाको मिति २०८२ चैत २ गतेको निर्णयअनुसार, यस नगरपालिका अन्तर्गत वडा नं. ४ मा वडा सचिव तथा स्थानीय पञ्जिकाधिकारीको रूपमा कामकाज गर्न खटाइएको छ। प्रचलित ऐन–कानुन बमोजिम तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुहुन जानकारी गराइन्छ,” नगरपालिकाले यादवलाई पठाएको पत्रमा उल्लेख छ।
यता, लेखा अधिकृत यादवले भने जनप्रतिनिधिले आफ्ना निकट व्यक्तिलाई पालिकामा ल्याउन खोज्दा आफूलाई ऐन विपरीत वडामा खटाइएको गुनासो गरेका छन्। यादवले भने, “मलाई दरबन्दी नभएको वडामा ऐन विपरीत जबरजस्ती पठाइएको छ। यस्तो अवस्थामा म त्यहाँ जान्नँ र अन्य निकायमा जाने तयारीमा छु।” उनले पालिकाका केही व्यक्तिहरूले आफ्नै स्वार्थका लागि आफूलाई वडामा खटाएको आरोप समेत लगाएका छन्।
Advertisement 2
पालिका स्रोतका अनुसार केही वडाहरूमा एकै जना वडा सचिवले दुईदेखि तीन वटासम्म वडाको जिम्मेवारी सम्हाल्दै आएका छन्। यस विषयमा पालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्ने प्रयास गर्दा उनीहरूसँग सम्पर्क हुन सकेन।















