सुन कर्जा (Gold Loan) परिचय, उद्देश्य, महत्व, प्राविधिक मापदण्ड, नीतिगत व्यवस्था, जोखिम विश्लेषण र प्रभावकारी व्यवस्थापनका विविध आयामहरूः

सुन कर्जाको परिचय (Introduction to Gold Loan) :
सुन कर्जा वा सुनचाँदी कर्जा भन्नाले सुन तथा चाँदी जस्ता बहुमूल्य धातुहरूलाई बैंक तथा वित्तीय संस्थामा धितो वा सुरक्षण (Collateral)  को रूपमा राखी प्राप्त गरिने अल्पकालीन कर्जालाई बुझिन्छ । यो कर्जा विशेषगरी ग्राहकको तत्कालको नगद आवश्यकता वा गर्जो टार्नका लागि प्रवाह गरिने एक अत्यन्त लोकप्रिय र सहज बैंकिङ्ग प्रोडक्ट हो । नेपालको सन्दर्भमा, झन्झटिलो कागजी प्रक्रिया बिना नै तुरुन्त कर्जा प्राप्त गर्न सकिने हुनाले यसलाई बैंक र ग्राहक दुवैका लागि एक भरपर्दो वित्तीय उपकरणको रूपमा लिइन्छ । यस कर्जालाई यसको उपयोगको प्रकृतिका आधारमा उपभोग्य कर्जा वा उपभोक्ता कर्जा (Consumer Loan) को रूपमा वर्गीकरण गरिएको छ । सामान्यतया घरायसी खर्च, विलासिताका वस्तुहरूको खरिद वा अन्य व्यक्तिगत कार्यका लागि प्रयोग गरिने हुनाले यसलाई उपभोक्ता कर्जा भनिएको हो । साथै, नेपाली समाजमा यसको गहिरो सम्बन्ध सामाजिक र पारिवारिक संस्कारहरूसँग जोडिएकाले यसलाई सामाजिक कर्जा (Social Loan) समेत भनिन्छ । विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यहरू सम्पन्न गर्न, चाडपर्व मनाउन वा अचानक आइपर्ने स्वास्थ्य समस्या र औषधी उपचारका लागि आवश्यक पर्ने रकमको जोहो गर्न यो कर्जाको मुख्य भूमिका रहन्छ । कानूनले निषेध नगरेका जुनसुकै वैध र सामाजिक दायित्व पूरा गर्ने उद्देश्यका लागि बैंकहरूले यो कर्जा प्रदान गर्दछन । सुन कर्जा प्रवाह गर्दा धितोको रूपमा राखिने धातुको शुद्धतालाई मुख्य आधार मानिन्छ। बैंकहरूले सामान्यतया २२ क्यारेट वा सोभन्दा माथिको शुद्धता भएको सुनलाई मात्र सुरक्षणको रूपमा स्वीकार गर्दछन । २२ क्यारेट सुनमा ९१.७ प्रतिशत शुद्ध सुनको मात्रा हुन्छ भने २४ क्यारेटलाई पूर्ण शुद्ध (९९.९ प्रतिशत) सुन मानिन्छ । सुरक्षणका रूपमा सुनका गहनाहरू मात्र नभई सुनका सिक्का, ढिक्का (Bars) वा अन्य बहुमूल्य धातुबाट बनेका सामानहरू समेत राख्न सकिने व्यवस्था छ । बैंकले यस्ता धातुहरूको गुणस्तर र तौलको सही मापन गरी बजार मूल्यको आधारमा निश्चित प्रतिशत (प्रायः ७०% सम्म) कर्जा सीमा तोक्ने गर्दछ । बैंक तथा वित्तीय संस्थाका लागि सुन कर्जा एक सुरक्षित लगानी (Secure Investment) हो, किनकि यसमा कर्जा असुलीको सुनिश्चितता उच्च रहन्छ र जोखिम भार कम हुन्छ । यसले बैंकको कर्जा पोर्टफोलियोलाई विविधीकरण गर्न र ब्याज आम्दानीको स्रोतलाई बलियो बनाउन मद्दत पु¥याउँछ । ग्राहकका लागि पनि यो कर्जा निकै लाभदायक छ; किनभने यसमा अतिरिक्त घरजग्गा धितोको आवश्यकता पर्दैन, मूल्याङ्कन शुल्क कम लाग्छ र आफूसँग नगद हुँदा जुनसुकै बेला सावाँ–ब्याज तिरेर धितो फिर्ता लिन सकिने लचिलोपन हुन्छ ।
सुन कर्जा लगानीका उद्देश्यहरू (Objectives of Gold Loan):
 प्राकृतिक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत उत्तरदायित्वहरू सफलतापूर्वक पूरा गर्न आर्थिक सहयोग पु¥याउनु, समाजमा रहेका विभिन्न सामाजिक दायित्व र संस्कारहरू निर्वाह गर्न आवश्यक पर्ने नगदको व्यवस्था गर्नु, पारिवारिक संरचनाभित्र आयोजना गरिने विवाह उत्सवका खर्चहरू व्यवस्थापन गर्नु, व्रतबन्ध जस्ता परम्परागत तथा धार्मिक संस्कारहरू सम्पन्न गर्न ऋण उपलब्ध गराउनु, घरपरिवारमा अचानक आइपर्ने आकस्मिक नगद आवश्यकतालाई तुरुन्त सम्बोधन गर्नु, बिरामी पर्दा वा स्वास्थ्य समस्या आउँदा अस्पतालको बिल र उपचार खर्च तिर्न सहयोग गर्नु, आवश्यक औषधिहरू खरिद गर्न र स्वास्थ्य सेवा प्राप्त गर्न सहजता प्रदान गर्नु, दैनिक घरायसी उपभोगका वस्तुहरू खरिद गर्नका लागि आवश्यक वित्तको व्यवस्था गर्नु ,विलासिताका सामानहरू जस्तै महँगो इलेक्ट्रोनिक्स वा अन्य सामग्री खरिद गर्न सहयोग पु¥याउनु, पछिल्लो समयको आधुनिक जीवनशैली अनुसारका उपभोग्य आवश्यकताहरू पूरा गर्नु, कानूनले निषेध नगरेका जुनसुकै वैध र कानुनी कार्यहरूका लागि वित्तीय स्रोत उपलब्ध गराउनु ,सामाजिक ऋणको रूपमा समुदायमा हुने विभिन्न सांस्कृतिक गतिविधिहरूमा सहभागी हुन मद्दत गर्नु,अल्पकालीन नगद प्रवाहमा देखिएका समस्याहरूलाई समाधान गरी तरलता व्यवस्थापन गर्नु, छोटो अवधिको गर्जो टार्नका लागि बिना झन्झट तुरुन्त कर्जा सुविधा प्रदान गर्नु, शिक्षा सम्बन्धी खर्चहरू जस्तै विद्यालय वा कलेजको शुल्क बुझाउन आर्थिक आधार दिनु, घरायसी प्रयोजनका लागि आवश्यक पर्ने फर्निचर वा अन्य सजावटका सामान खरिद गर्नु, चाडपर्वहरू मनाउन र त्यससँग सम्बन्धित खर्चहरूको जोहो गर्न सहयोग गर्नु, लामो वा छोटो दुरीको व्यक्तिगत भ्रमण वा यात्रा खर्च व्यवस्थापन गर्न मद्दत गर्नु, घरको सानोतिनो मर्मत सम्भार वा रङ्गरोगन जस्ता कार्यका लागि नगद उपलब्ध गराउनु, व्यक्तिगत रूपमा रहेका सानातिना पुराना ऋणहरू वा सापटीहरू चुक्ता गर्न सहयोग गर्नु, सानो स्तरको स्वरोजगार वा व्यावसायिक कार्यमा आइपर्ने तत्कालको पूँजी अभाव टार्नु, बीमा प्रिमियम वा अन्य नियमित तिर्नुपर्ने व्यक्तिगत दायित्वहरू समयमै भुक्तानी गर्नु, धार्मिक तीर्थाटन वा आध्यात्मिक यात्राहरूका लागि आवश्यक खर्चको व्यवस्था गर्नु, आम्दानीको स्रोत प्राप्त हुन केही समय लाग्ने अवस्थामा मध्यवर्ती वित्तीय सहारा प्रदान गर्नु, सरकारी कर, दस्तुर वा अन्य कानुनी शुल्कहरू बुझाउन नगदको अभाव हुन नदिनु, कुनै पनि प्रकारको भवितव्य वा भुलवश आइपर्ने आर्थिक सङ्कटबाट पार पाउन मद्दत गर्नु, स्थिर सम्पत्ति नहुनेहरूका लागि सुनकै भरमा बैंकिङ्ग पहुँच र कर्जा सुविधा सुनिश्चित गर्नु, समाजमा रहेको निष्क्रिय सुनलाई आर्थिक रूपमा सक्रिय र उत्पादनशील बनाउनु, उपभोक्ता कर्जाको माध्यमबाट बजारमा आर्थिक गतिविधि र उपभोग बढाउन सहयोग गर्नु, एक वर्षभन्दा कम अवधिको अल्पकालीन वित्तीय आवश्यकताहरूलाई न्यून लागतमा सम्बोधन गर्नु जस्ता उदेश्य रहेको देखिन्छ ।
सुन कर्जा (Gold Loan) को महत्वः
सुन कर्जा (Gold Loan) को महत्वलाई बैंक तथा वित्तीय संस्था र ग्राहक दुवैको दृष्टिकोणबाट बुँदाहरूमा स्पष्ट पारिएको छ।
क) बैंक तथा वित्तीय संस्थाका लागि महत्वः
 धितोको रूपमा बहुमूल्य धातु रहने हुनाले यो बैंकका लागि सबैभन्दा सुरक्षित लगानी मानिन्छ । सुनको उच्च बजार मूल्य र भौतिक कब्जा बैंकमा रहने हुनाले लगानीकै समयमा असुलीको उच्च सुनिश्चितता हुन्छ,अन्य कर्जाको तुलनामा यसमा कर्जा नोक्सानीको सम्भावना अत्यन्त कम हुन्छ, बैंकको कर्जा पोर्टफोलियोलाई सन्तुलित र प्रभावकारी बनाउन मद्दत पुग्छ । यो बैंकको ब्याज आम्दानीको एक स्थिर र भरपर्दो स्रोतको रूपमा रहन्छ, नियामक निकायको व्यवस्था अनुसार यसमा जोखिम भार कम हुने हुनाले बैंकको पूँजी पर्याप्ततामा सहजता हुन्छ । कम कागजी प्रक्रियाका कारण कार्य सम्पादनमा तीव्रता आउँछ र कर्मचारीको समय बचत हुन्छ । सरल र सहज प्रोडक्ट भएकोले बैंकले छोटो समयमै धेरै ग्राहकसम्म आफ्नो पहुँच विस्तार गर्न सक्छ । कर्जा मूल्याङ्कन र व्यवस्थापनमा अन्य कर्जाको तुलनामा कम खर्च र श्रम लाग्छ । अल्पकालीन प्रकृतिको कर्जा भएकोले बैंकको अल्पकालीन तरलता व्यवस्थापनमा सहयोग पुग्छ, ग्राहकको तत्कालको माग अनुसारको ’डिमाण्ड बेस्ड’ (Demand Based) प्रोडक्ट प्रदान गर्ने अवसर मिल्छ । यसले साना र मध्यम वर्गका ग्राहकहरूसँग बैंकको सम्बन्ध प्रभावकारी र सुमधुर बनाउँछ । सुन कर्जा लिन आउने ग्राहकलाई अन्य बैंकिङ्ग सेवाहरू (Cross–selling) प्रदान गर्ने अवसर मिल्छ । कर्जा डिफल्ट भएको अवस्थामा धितो लिलामी गरी रकम असुल गर्न कानुनी र व्यावहारिक रूपमा सहज हुन्छ । सुरक्षणको रूपमा राखिएको सुन बैंकको आफ्नै भल्टमा रहने हुनाले धितो सुरक्षाको पूर्ण नियन्त्रण हुन्छ । सुनका पोकाहरू बैंकमै हुने हुनाले धितोको भौतिक मौज्दात जुनसुकै बेला जाँच गर्न सकिन्छ । थोरै जनशक्तिबाट पनि धेरै संख्यामा कर्जा प्रवाह र व्यवस्थापन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा बैंकको धितोको कभर स्वतः बलियो हुँदै जान्छ । घरजग्गा जस्तो बाह्य मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराइरहनु पर्ने झन्झट र खर्च बैंकलाई हुँदैन । निश्चित सीमासम्म कर्जा सूचना केन्द्रबाट अनिवार्य रूपमा सूचना लिनु नपर्ने हुनाले प्रक्रियागत समय बचत हुन्छ ।
ख) ग्राहकका लागि महत्वः
झन्झटिलो बैंकिङ्ग प्रक्रिया बिना नै तुरुन्त नगदको गर्जो टार्न सकिन्छ, सामाजिक आवश्यकता पूर्तिः विवाह, व्रतबन्ध जस्ता सामाजिक र सांस्कृतिक कार्यहरूका लागि वित्तीय स्रोत जुटाउन उपयोगी हुन्छ । सुन नै पर्याप्त सुरक्षण हुने हुनाले घरजग्गा वा अन्य स्थिर सम्पत्ति नभएका ग्राहकले पनि कर्जा पाउँछन । अतिरिक्त मूल्याङ्कन शुल्क वा धेरै कागजी दस्तुरहरू नलाग्ने हुनाले यो कर्जा तुलनात्मक रूपमा सस्तो पर्छ । आफूसँग नगद भएमा जुनसुकै बेला सावाँ र ब्याज बुझाएर कर्जा राफसाफ गर्न सकिन्छ, औषधी उपचार वा अन्य भवितव्य आइपर्दा तुरुन्त पैसाको जोहो गर्न सकिने भरपर्दो माध्यम, घरमा राख्दा चोरी हुने डर हुने सुन बैंकको सुरक्षित भल्टमा बीमा सहित सुरक्षित रहन्छ, धेरै फाइलहरू र कानुनी कागजातहरू तयार पार्नु पर्ने झन्झट हुँदैन, घरमा थन्किएर रहेको निष्क्रिय सुनलाई आर्थिक रूपमा सक्रिय र उत्पादनशील बनाउन सकिन्छ, ग्रामीण र सहरी दुवै क्षेत्रका सर्वसाधारणका लागि यो बैंकिङ्ग कर्जाको पहुँचमा पुग्ने सजिलो बाटो हो । सावाँको केही हिस्सा मात्र भुक्तानी गरेर ब्याजको भार कम गर्ने सुविधा ग्राहकलाई हुन्छ, छोटो अवधिको लागि केही दिन वा महिनाका लागि मात्र पनि कर्जा लिन र तिर्न सकिन्छ, धितोबन्धक गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क वा अन्य बाह्य दस्तुरहरू तिर्नु पर्दैन, व्यक्तिगत सुन धितो राखी ऋण लिँदा ग्राहकको आर्थिक गोपनीयता कायम राख्न सहज हुन्छ , सानो व्यवसाय वा व्यक्तिगत काममा आइपर्ने पूँजीको अभावलाई तुरुन्त सम्बोधन गर्दछ, कर्जाको अवधि सकिएपछि आवश्यक प्रक्रिया पूरा गरी सजिलै नवीकरण गर्न सकिन्छ, कर्जा लिँदा नै इच्छाएको व्यक्ति तोक्न सकिने हुनाले भविष्यमा धितो फिर्ता लिन सहज हुन्छ । बैंकको आधार दरमा आधारित पारदर्शी ब्याजदरमा कर्जा प्राप्त हुन्छ, कर्जा चुक्ता गरेलगत्तै आफ्नो सुन फिर्ता पाइने हुनाले सम्पत्ति परिचालनमा ढिलाइ हुँदैन, दैनिक उपभोगका वस्तु वा सेवा खरिदका लागि आवश्यक खर्चको व्यवस्था गर्न सकिन्छ ।
सुनको गुणस्तर परीक्षणका विधिहरू (Methods of Quality Testing):
सुन कर्जा प्रवाह गर्दा धितोको रूपमा स्वीकार गरिने सुनको शुद्धता यकिन गर्नु बैंकको लागि सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण कार्य हो । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले सुनको गुणस्तर र क्यारेट पहिचान गर्न परम्परागतदेखि आधुनिक वैज्ञानिक विधिहरू प्रयोग गर्ने गर्दछन । केही प्रमूख विधिहरु देहाय बमोजिम रहेका छन ।
कसी वा दासी ढुङ्गाको प्रयोग (Touchstone Method): यो नेपालमा प्रयोग गरिने सबैभन्दा पुरानो र प्रचलित विधि हो। यसमा सुनलाई एउटा विशेष कालो ढुङ्गा (कसी) मा घोटिन्छ । ढुङ्गामा कोरिएको सुनको रङ्गलाई आधार मानेर शुद्धताको अनुमान गरिन्छ । सुनको रङ्ग जति गाढा वा कडा देखिन्छ, त्यसलाई उति नै बढी शुद्ध मानिन्छ । कतिपय अवस्थामा ढुङ्गामा घोटिएको रेखामा नाइट्रिक एसिड लगाएर समेत रङ्गमा आउने परिवर्तन हेर्ने गरिन्छ ।
नाइट्रिक एसिड (Nitric Acid) परीक्षणः सुन एक यस्तो धातु हो जसले नाइट्रिक एसिडसँग सामान्य अवस्थामा कुनै प्रतिक्रिया जनाउँदैन । यो विधिको प्रयोग गर्दा सुनमा थोरै एसिड हालिन्छ वा कसी ढुङ्गामा कोरिएको रेखामा एसिड हालिन्छ । यदि सुनमा तामा वा अन्य धातु मिसाइएको छ भने एसिडसँग प्रतिक्रिया भई रङ्ग परिवर्तन हुन्छ वा पग्लिन्छ, जसले गर्दा सुन र अन्य धातु छुट्याउन सजिलो हुन्छ । यो विधि मिसावट पत्ता लगाउन निकै प्रभावकारी मानिन्छ  ।
चुम्बकीय विधि (Magnetic Method): सुन एक अचुम्बकीय धातु हो, जसलाई चुम्बकले तान्दैन । यो विधिमा सुनका गहना वा सिक्कामा शक्तिशाली चुम्बक लगाएर हेरिन्छ । यदि गहनाभित्र फलाम वा अन्य चुम्बकीय धातुको मात्रा छ भने चुम्बकले तान्छ र त्यस्तो सुन अशुद्ध भएको पुष्टि हुन्छ । यो विधि विशेषगरी गहनाभित्र लुकाएर राखिएको फलामजन्य वस्तु पत्ता लगाउन प्रयोग गरिन्छ ।
लचकता परीक्षण (Flexibility Test): शुद्ध सुन (२४ क्यारेट वा २२ क्यारेट) प्राकृतिक रूपमै नरम र लचकदार हुन्छ । गुणस्तर परीक्षणका क्रममा सुनलाई हल्का बङ्ग्याएर वा थिचेर त्यसको कडापन जाँच गरिन्छ । यदि सुन धेरै कडा छ भने त्यसमा जस्ता, तामा वा अन्य धातु बढी मिसाइएको हुन सक्ने अनुमान गरिन्छ । शुद्ध सुन जति धेरै हुन्छ, त्यसमा त्यति नै बढी लचकताको गुण पाइन्छ ।
प्रमाणपत्र वा बिल विधि (Certificate, Bill Method): यो एक दस्तावेजी विधि हो जसमा ग्राहकले सुन खरिद गर्दा पाएको आधिकारिक बिल वा हलमार्क प्रमाणपत्रलाई आधार मानिन्छ । बिलमा उल्लेखित क्यारेट र तौललाई बैंकले प्रारम्भिक आधारको रूपमा लिन्छ । तर, बैंकहरूले बिललाई मात्र आधार नमानी अन्य भौतिक परीक्षणहरू पनि अनिवार्य रूपमा गर्दछन ।
आधुनिक डिजिटल मेसिनको प्रयोग (Modern Gold Tester): अहिलेका आधुनिक डिजिटल गोल्ड टेस्टर मेसिनहरूले सुनको घनत्व (Density) र अन्य विशिष्ट भौतिक गुणहरू मापन गरेर त्यसको क्यारेट र शुद्धता प्रतिशत तुरुन्त देखाउँछन । यो विधि मानवीय त्रुटी कम हुने भएकाले बढी प्रभावकारी मानिन्छ, यद्यपि यस्ता मेसिनहरू तुलनात्मक रूपमा महँगो हुने गर्दछन ।
एक्स–रे (X–ray) मेसिनको प्रयोगः यो सुन परीक्षणको सबैभन्दा वैज्ञानिक र परिष्कृत विधि हो । यसले सुनको सतह मात्र नभई भित्री भागको समेत विश्लेषण गर्दछ । यस मेसिनले सुनमा मिसिएका अन्य धातुहरूको नाम र तिनीहरूको सही प्रतिशत समेत देखाउन सक्छ । ठूला शाखाहरू जहाँ कारोबार धेरै हुन्छ, त्यहाँ यस्ता मेसिनहरूको प्रयोग बढी सुरक्षित मानिन्छ  ।
छाप वा हलमार्कको आधारमा परीक्षण (Stamp Method): सुनका गहनाहरूमा प्रायः भित्रपट्टि सानो अक्षरमा त्यसको शुद्धता (जस्तैः २२K, ९१६) उल्लेख गरिएको छाप लगाइएको हुन्छ । बैंकको सुन जाँचकीले लेन्स  (Lens)को सहायताले यस्तो छापको आधिकारिकता र गुणस्तर जाँच गर्दछ ।
डिजिटल तराजु र जर्ती कट्टी (Digital Weighing & Deduction): गुणस्तरसँगै सही तौल लिन बैंकहरूले डिजिटल तराजु (Electric Weighing Machine) को प्रयोग गर्दछन्, जुन नापतौल विभागबाट प्रमाणित हुनुपर्छ । सुनमा रहेको लाहा, पत्थर, रसायन र जर्ती कट्टी गरेर आउने खुद तौल (Net Weight) पत्ता लगाउनु पनि गुणस्तर परीक्षणकै एउटा पाटो हो ।
भौतिक अवस्थाको निरीक्षण (Visual Inspection): गहनाको बनावट, जोडनी (Soldering), र रङ्गको गहिराई हेरेर पनि अनुभव प्राप्त सुन जाँचकी (Gold Tester) ले गुणस्तरको प्रारम्भिक अनुमान गर्दछन् । गहना टुटे–फुटेको वा खुइलिएको भएमा त्यसमा मिसावटको शंका बढी गरिन्छ  ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनका व्यवस्थाहरू (Provisions of Unified Directive):
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाह गरिने सुन कर्जालाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन एकीकृत निर्देशनमार्फत विभिन्न नीतिगत व्यवस्थाहरू गरेको छ । जसलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै पनि बैंक वा वित्तीय संस्थाले सुन कर्जा कारोबार सुरु गर्नु अगावै यस सम्बन्धी स्पष्ट कार्यविधि वा विनियमावली तर्जुमा गरी लागू गरेको हुनुपर्छ, यस्तो कार्यविधिमा कर्जा प्रवाहको प्रक्रिया, मूल्याङ्कनको आधार र जोखिम व्यवस्थापनका पक्षहरू प्रष्ट हुनुपर्छ । साथै, लगानी पूर्व संस्थामा दक्ष सुन जाँचकी (Gold Tester), धातुको शुद्धता परीक्षण गर्ने आवश्यक भौतिक सुविधाहरू (जस्तैः कसी ढुङ्गा, नाइट्रिक एसिड), र धितो सुरक्षित राख्नका लागि बलियो भल्ट (Vault) को अनिवार्य व्यवस्था हुनुपर्छ । सुरक्षणको रूपमा राखिने सुनको बजार मूल्यका आधारमा अनिवार्य रूपमा बीमा गरिनुपर्ने व्यवस्था समेत निर्देशनले गरेको छ ।
 धितोको रूपमा प्राप्त सुनको भण्डारण सम्बन्धमा राष्ट्र बैंकले कडा नियम तोकेको छ। ऋणीले धितो राखेको सुनका गहना वा सामानहरूलाई एउटै थैलोमा राखेर सिलबन्दी (Laha–chhap) गर्नुपर्छ र थैलोको बाहिरपट्टि ग्राहकको नाम, कर्जा खाता नम्बर र मिति जस्ता विवरणहरू प्रष्टसँग खुलाउनुपर्छ । भण्डारणमा लापरवाही भएमा हुने जोखिमलाई न्यूनीकरण गर्न ’थैलोभित्र थैलो’ राख्न निषेध गरिएको छ। यदि एउटै थैलोभित्र एकभन्दा बढी थैलाहरू राखेर कर्जा प्रवाह गरिएको पाइएमा वा सुनको गुणस्तर परीक्षण नै नगरी कर्जा दिइएको खण्डमा बैंकले त्यस्तो कर्जामा १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम गर्नुपर्ने कठोर व्यवस्था छ ।
निर्देशनले प्रति ग्राहक कर्जाको सीमालाई समेत व्यवस्थित गरेको छ। एकै व्यक्तिलाई सुन धितो राखी प्रवाह गरिने कर्जाको अधिकतम सीमा ५० लाख रुपैयाँ सम्म तोकिएको छ, जसलाई असल कर्जाको रूपमा वर्गीकरण गर्न सकिन्छ । ५० लाखभन्दा बढीको सुन कर्जाको हकमा भने आयस्रोत र अन्य व्यावसायिक कर्जा सरहको मापदण्ड पूरा गरी वर्गीकरण गर्नुपर्ने हुन्छ । प्रक्रियागत सहजताका लागि, सुन कर्जा प्रवाह गर्दा कर्जा सूचना केन्द्र (CIC) बाट अनिवार्य रूपमा सूचना लिनुपर्ने आवश्यकता नरहेकोले ग्राहकले छिटो सेवा प्राप्त गर्न सक्छन् । साथै, बैंकमा कार्यरत कर्मचारीहरूले पनि सर्वसाधारण ग्राहकले सरह नै सुन धितो राखी आफ्नै वा अन्य बैंकबाट कर्जा लिन सक्ने सुविधा निर्देशनले प्रदान गरेको छ । यस्ता व्यवस्थाहरूले सुन कर्जालाई एक सुरक्षित बैंकिङ्ग प्रोडक्टको रूपमा स्थापित गर्न मद्दत पु¥याएका छन् ।
सुन कर्जामा रहेका जोखिमहरू (Risks in Gold Loan):
सुन कर्जा सुरक्षित र धितोमा आधारित कर्जा भए तापनि यसमा विभिन्न आन्तरिक र बाह्य जोखिमहरू अन्तरनिहित रहेका हुन्छन् । बैंकले तोकेका सर्त, सीमा र बन्देजहरू पालना नहुँदा सिर्जना हुने यस्ता जोखिमहरूको विस्तृत विश्लेषण निम्न अनुसार छः
  •  गुणस्तर जोखिम (Quality Risk): यो जोखिम सुनको शुद्धता मापनसँग सम्बन्धित छ । यदि सुन जाँचकीले सुनको गुणस्तर स्पष्ट रूपमा मापन गर्न सकेन वा नक्कली र कम क्यारेटको सुन धितोमा पर्न गयो भने बैंकलाई आर्थिक हानि हुन सक्छ । सुनको गुणस्तरकै आधारमा कर्जाको मात्रा निर्धारण हुने हुनाले वैज्ञानिक विधिबाट गुणस्तर परीक्षण गर्नु नै यस जोखिम न्यूनीकरणको मुख्य उपाय हो।
  • बजार जोखिम (Market Risk): सुनको मूल्य अन्तर्राष्ट्रिय अर्थतन्त्र, अमेरिकी डलरको भाउ, सुन आपूर्ति गर्ने देशको अवस्था र आयातमा लाग्ने दर जस्ता बाह्य तत्वहरूमा निर्भर हुन्छ । यदि बजारमा सुनको मूल्यमा तीव्र गिरावट आयो भने बैंकले प्रवाह गरेको कर्जा रकम धितोको मूल्यभन्दा बढी हुन सक्ने जोखिम रहन्छ । यस्तो अवस्थामा ग्राहक सम्पर्कमा नरहेमा वा थप मार्जिन बुझाउन नआएमा बजार जोखिम उच्च हुन जान्छ ।
  • ग्राहक पहिचान जोखिम (KYC Risk): कर्जा प्रवाह गर्दा ग्राहकको आम्दानीको स्रोत, सुन प्राप्त गरेको स्रोत र कर्जा उपयोग गर्ने क्षेत्रका बारेमा विस्तृत जानकारी नलिँदा यो जोखिम सिर्जना हुन्छ । खराब नियत भएका ग्राहकका कारण बैंक कानुनी झमेलामा पर्न सक्ने हुनाले ’ग्राहक पहिचान’ (KYC) लाई यसको समाधानको औजार मानिन्छ ।
  •  सुरक्षा जोखिम (Security Risk): सुन एक बहुमूल्य धातु भएकोले यसलाई सुरक्षित भल्ट Vault) मा राख्नु र अनिवार्य बीमा (क्ष्लकगचबलअभ) गर्नु पर्ने प्रावधान छ । यदि भल्टको सुरक्षा प्रभावकारी भएन वा बीमाको कार्यान्वयनमा कमजोरी रह्यो भने चोरी, डकैती वा आगलागी जस्ता घटनाबाट धितो नष्ट हुन सक्ने जोखिम रहन्छ ।
  •  परिपालना जोखिम (Compliance Risk): प्रचलित ऐन, नीति, र नेपाल राष्ट्र बैंकको निर्देशन (जस्तैः एक्लै ग्राहक कर्जा सीमा, मार्जिन कट्टी, कर्जा नोक्सानी व्यवस्था) पालना नगर्दा सिर्जना हुने जोखिमलाई परिपालना जोखिम भनिन्छ । आन्तरिक कार्यविधिको बेवास्ता गर्दा बैंकले नियामक निकायबाट कारबाही भोग्नुपर्ने हुन सक्छ ।
  • कर्मचारी जोखिम (Employee Risk): कर्मचारीको असक्षमता, लापरवाही वा मिलेमतोका कारण सिर्जना हुने जोखिम यस अन्तर्गत पर्दछ । सुन जाँच गर्ने क्रममा हुने त्रुटि वा भल्ट सञ्चालनमा कर्मचारीले इमानदारी नदेखाउँदा बैंकको धितो हिनामिना हुन सक्ने आन्तरिक जोखिम रहन्छ ।
  • ब्याजदर र डिफल्ट जोखिम (Interest Rate & Default Risk): बैंकको आधार दर (Base Rate) मा हुने परिवर्तनले ब्याजदरमा उतारचढाव ल्याई जोखिम सिर्जना गर्छ । त्यसै गरी, ऋणीले समयमा सावाँ र ब्याज भुक्तानी नगर्नु वा सुनको मूल्य घट्दा ’मार्जिन कल’ गर्दा समेत थप धितो वा रकम नबुझाउनुलाई डिफल्ट जोखिम भनिन्छ  ।
सुन कर्जाका चुनौतीहरू (Challenges in Gold Loan):
      अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा हुने तीव्र उतारचढावलाई व्यवस्थापन गर्नु सबैभन्दा ठूलो चुनौती हो । नक्कली सुन चिन्न सक्ने उच्च प्रविधियुक्त वैज्ञानिक मेसिनहरूको अभाव हुनु, बजारमा अनुभवी र तालिमप्राप्त सुन जाँचकी (Gold Testers) को कमी हुनु, अमेरिकी डलरको मूल्यमा हुने परिवर्तनले स्थानीय बजारमा सुनको भाउ प्रत्यक्ष प्रभावित हुनु, भण्डारणका लागि उच्च स्तरको भौतिक सुरक्षा र भल्ट निर्माणमा लाग्ने खर्च व्यवस्थापन गर्नु, सुनको बजार मूल्य बढ्दा सोही अनुपातमा बीमाको भार र लागत बढ्दै जानु, आधुनिक मिसावट भएका सुनका गहनाहरूलाई परम्परागत कसी ढुङ्गाले मात्र चिन्न गाह्रो हुनु , कर्मचारीको लापरवाही वा मिलेमतोमा हुन सक्ने धितो हिनामिना रोक्नु,  सुनको मूल्य घट्दा ग्राहकसँग थप धितो माग्ने वा कर्जा असुल गर्ने प्रक्रियामा आउने व्यावहारिक ग्राहकले धितो राख्न ल्याएको सुनको वास्तविक स्रोत र स्वामित्व यकिन गर्नु, सुनको खुद तौल निकाल्दा लाहा, पत्थर र रसायन कट्टी गर्ने विषयमा ग्राहकसँग हुने असहमति, एउटै थैलोभित्र धेरै थैला राख्न नपाउने जस्ता नियामक निर्देशनहरूको पूर्ण पालना गर्नु, कर्जा डिफल्ट भएको अवस्थामा सुन लिलामी गरी रकम असुल गर्न लाग्ने समय र कानुनी प्रक्रिया, बैंकको आधार दर (Base Rate) मा हुने परिवर्तनले ग्राहकमा पर्न जाने ब्याजको भार, परीक्षणका क्रममा वा भण्डारणका क्रममा गहनाको आकार बिग्रन सक्ने जोखिम, नियमित अनुगमनः हजारौंको संख्यामा रहेका सुनका पोकाहरूको त्रैमासिक रूपमा भौतिक गणना र अभिलेख मिलान गर्नु, सरकारको सुन आयात सम्बन्धी फेरबदल भइरहने नीतिले बजार आपूर्ति र मूल्यमा पार्ने प्रभाव, अझै पनि धेरै शाखाहरू वैज्ञानिक मेसिनको सट्टा हातले छोएर वा एसिड परीक्षणमा मात्र भर पर्नु, ऋणीको मृत्यु भएको वा उ सम्पर्कविहीन भएको अवस्थामा धितो फिर्ता वा राफसाफको जटिलता, बजारमा रहेका अन्य वित्तीय संस्थाहरू र अनौपचारिक क्षेत्रसँगको प्रतिस्पर्धा आदि प्रमुख चुनौतिहरु रहेका छन ।
 सुन कर्जालाई थप प्रभावकारी बनाउने उपायहरू :
   सुन जाँचकी र खजाञ्चीहरूलाई कम्तीमा प्रत्येक २ वर्षमा एकपटक अनिवार्य रूपमा पुनर्ताजगी तालिम प्रदान गर्ने, शुद्धता परीक्षणका लागि अत्याधुनिक एक्स–रे मेसिन र डिजिटल गोल्ड टेस्टरको प्रयोग गर्ने, नापतौल विभागबाट प्रमाणित डिजिटल तराजुको मात्र प्रयोग गर्ने र समयमै नवीकरण गर्ने, भल्टमा रहेको सुनको बजार मूल्यका आधारमा र सम्भावित सबै जोखिम समेट्ने गरी पूर्ण बीमा गर्ने, प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र सुनका पोकाहरूको भौतिक गणना गरी प्रणाली (ऋद्यक्) सँग मिलान गर्ने, सधैं दुईवटा साँचोबाट मात्र खुल्ने र दुईजना जिम्मेवार कर्मचारीको रोहबरमा सञ्चालन गर्ने, सुनको मूल्य घट्नासाथ एक हप्ताभित्र थप मार्जिन बुझाउन ग्राहकलाई लिखित ताकेता गर्ने, धितो राखिएको सुन एउटै थैलोमा ग्राहकको पूर्ण विवरण सहित लाहा–छाप लगाएर सिलबन्दी गर्ने, नियामक निर्देशन अनुसार एउटै थैलोभित्र धेरै थैलाहरू नराखी छुट्टाछुट्टै व्यवस्थापन गर्ने, सुन कर्जाको अवधि अधिकतम १ वर्ष मात्र कायम गर्ने र समयमै नवीकरण वा चुक्ता गराउने, प्रत्येक त्रैमासमा अनिवार्य रूपमा ब्याज असुली गर्ने र नतिर्नेलाई तत्काल फलोअप गर्ने, बैंकको आफ्नै विस्तृत सुन कर्जा विनियमावली वा कार्यविधि तयार गरी कडाइका साथ लागू गर्ने, कर्जा प्रवाह र असुलीको सम्पूर्ण कारोबार अनिवार्य रूपमा ग्राहकको बैंक खातामार्फत मात्र गर्ने, पछिल्लो ९० दिनको औसत बजार मूल्यको आधारमा मूल्याङ्कन दर तोक्ने र ३०% मार्जिन सुरक्षित राख्ने, कर्जा प्रवाह गर्दा र पछि छड्के रूपमा वरिष्ठ कर्मचारी वा फरक जाँचकीबाट सुनको पुनः परीक्षण गराउने, भल्ट र सुन परीक्षण गर्ने स्थानमा उच्च क्षमताको सीसीटीभी क्यामेराबाट २४ सै घण्टा निगरानी गर्ने, कर्जा लिँदा नै धितो फिर्ता पाउने व्यक्तिको नाम, फोटो र औंठा छाप स्पष्ट रूपमा राख्ने, सुन जाँचको जोखिम वहन गर्ने कर्मचारीलाई उचित कमिशन वा जोखिम भत्ताको व्यवस्था गरी प्रोत्साहित गर्ने, १५ दिने र ३५ दिने सूचनाको कानुनी प्रक्रिया पूरा गरी समयमै लिलामी प्रक्रिया अगाडि बढाउने, सुनको स्रोत र ग्राहकको पहिचानका लागि नागरिकता, आम्दानीको स्रोत र पारिवारिक विवरणको गहन विश्लेषण गर्ने ।
उपसंहार,
       सुन कर्जा आधुनिक बैंकिङ्ग प्रणालीमा तरलता व्यवस्थापन र सुरक्षित लगानीको एक उत्कृष्ट संगम हो, जसले एकातिर समाजमा रहेको निष्क्रिय सुनलाई उत्पादनशील पूँजीमा रूपान्तरण गर्दछ भने अर्कोतिर ग्राहकको आकस्मिक वित्तीय आवश्यकतालाई अत्यन्त न्यून प्रक्रियागत झन्झटमा सम्बोधन गर्दछ । वर्तमान समयमा नक्कली सुनको बढ्दो जोखिम र बजार मूल्यमा हुने तीव्र उतारचढाव जस्ता गम्भीर चुनौतीहरूलाई चिर्न अब परम्परागत कसी ढुङ्गाको सट्टा एक्स–रे मेसिन र डिजिटल गोल्ड टेस्टर जस्ता वैज्ञानिक विधि र नयाँ अवधारणाको अवलम्बन गर्नु अपरिहार्य देखिएको छ । यस कर्जाको लगानी सुरक्षाको मेरुदण्डको रूपमा रहने नगद सहायक (खजाञ्ची) को भूमिका अत्यन्तै संवेदनशील हुन्छ, जसले सुनको शुद्धता र तौलको सही पहिचान गर्ने, ’डबल लक’ प्रणाली सहित सुरक्षित भल्ट व्यवस्थापन गर्ने, अनिवार्य बीमा गराउने र समयमै ’मार्जिन कल’ गरी बैंकको ’पहिलो सुरक्षा घेरा’ (First Line of Defence) को रूपमा पूर्ण व्यावसायिक इमानदारिता र नैतिकता प्रदर्शन गर्नुपर्दछ । तसर्थ, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको अक्षरशः पालना गर्दै नियमित अनुगमन, दक्ष जनशक्तिलाई तालिम र प्रविधिमैत्री परीक्षण पद्धतिको माध्यमबाट मात्र सुन कर्जाको जोखिम न्यूनीकरण गरी यसलाई एक भरपर्दो र गतिशील बैंकिङ्ग प्रोडक्टको रूपमा दिगो रूपमा सञ्चालन गर्न सकिन्छ ।
सन्दर्भसामग्री
  •  नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशीका २०८२
  •  राष्ट्रिय वाणिज्य बैक लि. को सुन धितो कर्जा कार्यविधि २०८१,
  • राष्ट्रिय र अन्तराष्ट्रिय पत्र पत्रीकाका लेख रचनाहरु
प्रकाशित :२०८२ फाल्गुन ८, शुक्रबार १२:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry