‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

नेपालगञ्ज। बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ।
Advertisement 1
जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए।
उनले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकाको रहेको उल्लेख गर्दै नाम दर्ताको रेकर्ड जिल्लामा नभएकाले दर्तामा दोहोरोपना देखिएको बताए। “हामीले दर्ता गरेर केन्द्रमा पठाएपछि मात्रै थाहा पायौँ। हाल नाम अद्यावधिक गर्ने कार्य जारी रहेको बताए। मतदाता नामावलीको दोहोरो नाम हटाउने काम पुस ५ गतेसम्म जारी रहने छ”, शाहीले भने।
Advertisement 2
यसैबीच बाँकेमा २३ वटा मतदान केन्द्र थप हुने सम्भावना देखिएको छ। निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई जनसङ्ख्याका आधारमा निर्वाचन केन्द्र थप हुने जानकारी गराएअनुसार जिल्लामा केन्द्र थप हुनसक्ने निर्वाचन अधिकारी शाहीले जानकारी दिए। उनले भने, “यसमा केही तलमाथि हुन सक्छ, तर अन्तिम निर्णय १२ गतेपछि मात्रै हुन्छ। यससँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या ४०४ पुग्ने छ।”
यसअघि जिल्लामा ३८१ मतदान केन्द्र रहेका थिए। हाल जिल्लामा राप्तीसोनारी गाउँपालिका–२ को अगैयामा नयाँ मतदानस्थल थप भएको र ४ वटा स्थानान्तरण भएको कार्यालयले जनाएको छ।














