जेन-जी को सन्देश

जेन-जी करीव करीव टीन एजर यूवाहरूको समूह हो। भनाइमा सन् 1997 र 2012 बीच जन्मेको यूवा समूह जुन अहिले १३ देखि २८ वर्ष भित्रका यूवा यूवती हरूलाई जेन जी भनेर जनाउछ। स्वभावैले यो उमेरका यूवायूवतीहरू Digital native, Diverse and Inclusive , Pragmatic and Independent , Socially aware , mental health focused हुन्छन्। यस किसिमको समूह विश्वभर देख्न पाईन्छ तर जहां सुशासनको अभाव हुदै जान्छ त्यस्ता देशहरूमा यो समूहले त्यस्तो प्रवृत्तिको विरोध र प्रतिकार गर्छ। निकट विगतमा श्री लंका,वंगलादेशमा भएको विद्रोहलाई यस्तै रूपमा हेरिन्छ। यो समूह स्वभावैले प्रतिकृयामुखी हुने हुदा देशको कुशासन विरूद्धमा आवाज निकाल्न हिच्किचाउदैनन्।

Advertisement 1

नेपालको सन्दर्भमा भन्ने हो भने केही समय यता राजनीतिक, आर्थिक एवं कुटनीतिक रूपमा प्रसस्तै बेथितिहरू देखा पर्दै आएका छन्। सुशासनको अवस्था पनि दयनीय छ। भ्रष्टाचार र वेथिति आकाशिएको छ।

अहिले राजनीतिक वृत्तमा सत्ता हडप्ने नीति छ, जनतालाई प्रदान गरिने डेलिभरी सन्तोषजनक छैन, राजनीतिलाई पेशा बनाईएको छ, कुटनीतिलाई सन्तुलित बनाउन सकिएको छैन, संविधानका मर्मलाई कानूनले सम्बोधन गर्न सकिएको छैन, न्याय क्षेत्रले यथा समयमा न्याय दिन सकेको छैन, न्यायपालिका नै कार्यपालिकाको लाचार छाया जस्तो भएको छ, विधायीका समेतमा सरकार हावी भएको अवस्था छ। यस्तो स्थितिमा समेत विभिन्न दलमा रहेका यूवाहरूले प्रभावकारी रूपमा आफ्नो नेत्तृत्त्व उपर प्रश्न उठाउने आंट नगरेको अवस्थामा यस्तो प्रवृत्तिको विरोध कसै न कसैले उठाउन पर्ने नै थियो र त्यो विरोधको आवाज यी नै जेन जी ले उठाउनु पर्ने भएर नै यो समूह जुर्मुराएको हो।
विश्वका विभिन्न देशमा यो उमेर समूहका यूवाहरू आफ्ना देशको कु-शासनको विरूद्धमा उत्रिएको उदाहरणबाट नेपालको जेन जी समूह पनि अनविज्ञ थिएन। स्वभावैले डिजिटल मैत्री यो समूह एक आपसमा डिजिटलका माध्यमबाट सम्पर्कमा रहेर देशको हरेक परिस्थितिको अवस्थाको समीक्षा गरी रहेको थियो। यसै सन्दर्भमा नेपाल सरकारले सामाजिक सन्जाल वन्द गरिदियो। यसरी एकाएक सामाजिक सन्जाल वन्द हुन पुग्दा यो समूह बीचको सन्चार सम्पर्क अवरूद्ध हुन पुग्यो र यो समूह पानी विनाको माछा जस्तो हुन पुग्यो। यो वातावरणले आन्दोलित हुन पुगेका नेपालका जेन जी हरूले जम्मा जम्मी २ वटा माग लिएर २०८२ भदौ २३ गते शान्तिपूर्ण जुलूस निकाले। यो जुलूसमा उनीहरूले राखेका २ वटा मागहरू थिए- वन्द गरिएको सामाजिक सन्जाल खोल्नु पर्ने र देशमा ब्यापकता पाएको भ्रष्टाचारको छानविन हुनु पर्ने।

Advertisement 2

भदौ २३ गते स्थानीय प्रशासनबाट स्वीकृति लिएर निस्किएको शान्तिपूर्ण जुलूस काठमाडौं माईतीघर मण्डलाबाट शुरू भएर वानेश्वर सम्म गएर सरकारलाई ध्यानाकर्षण गराएर त्यहीबाट फर्कने कार्यक्रम रहेको थियो तर त्यसै बीचमा सत्ता र राजनीतिमा र्याल काढ्ने समूह र सत्ताको विरोध गरेको ईर्ष्या गर्ने समूहको घूषपैठले जेन जी समूहको विरोध कार्यक्रमको दिशालाई अन्तै मोडिदियो र सो हूल संसद भवन भित्र प्रवेश गर्यो र त्यसै क्रममा निहत्था जेन जी समूह उपर गोलीको वर्षा हुन पुग्यो जसको परिणाम स्वरूप १९ जना होनाहार यूवाहरूले ज्यान गुमाउन पुगे।

त्यसको भोली पल्ट सो आन्दोलनले झनै उग्र रूप लिदै राज्यका सबै निकाय र निजी सम्पतिमा आगजनी र तोडफोड हुन पुग्यो, त्यति हुदा सम्म पनि सरकार निरीह र मूक दर्शक भै रह्यो।

Advertisement 3

देशमा राज्य छ, सरकार छ भन्ने कुनै अनुभूति भएन र अन्त्यमा सोही दिन भदौ २४ गते करीव २ बजे तिर मात्र प्रधानमन्त्री के पी ओलीले राजिनामा दिए।

यस्तो परिस्थिति सीर्जना हुनुमा कसैको हात छ भने अरूको कुरै सुन्न नचाहने र आफ्नो आलोचना सुन्न नसकेर सामाजिक सन्जाल वन्द गर्ने अधिनायकवादी केपी शर्मा ओलीको मात्र हात छ।

देशको यो हालत हुनुमा देशमा बढी रहेको भ्रष्टाचार र कुशासन नै प्रमुख कारण हो। यसको स्थायी तवरले रोकथाम नभए सम्म जेन जी पुस्ताको सपना पूरा हुन सक्दैन। यसको निम्ति विभिन्न राजनीतिक परिवर्तन संगै बढ्दै गएका भ्रष्टाचारको छानविन गरी सम्पति जफत गर्ने र अपराधीलाई कडा भन्दा कडा कारवाही गर्न सर्वशक्तिमान आयोग बन्नु पर्छ र जनताले सेवा लिन जादा भोग्ने हैरानी र झन्झटको अन्त्य हुनु पर्छ।

जेन जी पुस्ताले राखेको आवाज सम्वोधन गर्न सबै ठाऊमा यही पुस्ताको उपस्थिति हुनै पर्छ भन्ने पनि हैन, यो काम एक्स र वाई पुस्ताले पनि गर्न सक्छन् तर जी पुस्ताको भावनालाई त्यो पुस्ताले पनि आफ्नै हो भनेर अगाडि बढ्नु पर्छ।
अहिले सुशासन र सहज डेलीभरी दिने राज्यका संयन्त्रहरूको ब्यबहारमा परिवर्तन हुनु पर्छ। यी सबैको भूमिकामा जेन जीको भावना देखिनु पर्छ। जनताले सेवा सहज रूपले पाएको अनुभूति हुनु पर्छ र मात्र जेन जी पुस्ताको त्यागले सार्थकता पाउछ।

प्रकाशित :२०८२ आश्विन ९, बिहीबार १२:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry