अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै खाद्य प्रयोगशालाको प्रत्यायन विस्तार

काठमाडौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्ना प्रयोगशालाको प्रत्यायन (एक्रिडिटेशन) क्षेत्र विस्तार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
Advertisement 1
खाद्य तथा दाना वस्तुको नमूना परीक्षणलाई अझ विश्वसनीय बनाउन र निर्यात प्रक्रिया सहज र प्रवद्र्धनशील बनाउने उद्देश्यले विभागले अन्तर्गतका प्रयोगशालाहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने कार्य गर्दै आएको छ। विभागको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण तथा मापन प्रयोगशाला राष्ट्रिय प्रत्यायन निकाय, भारतबाट प्रत्यायन प्राप्त गर्दै आएको छ।
चालू आर्थिक वर्षमा विभागले ८१४ वटा परीक्षण सूचकहरूमा प्रत्यायनको क्षेत्र विस्तार गरेको छ। यो संख्या हालसम्म नेपालको कुनै पनि सरकारी प्रयोगशालाको सन्दर्भमा सबैभन्दा बढी हो।
यसअघि सन् २०१९ मा १०२ सूचकहरूमा, र सन् २०२३ मा २८६ सूचकहरूमा प्रत्यायन प्राप्त गरिएको थियो। यस वर्षको प्रगतिको माध्यमबाट विभागले समेकित प्रत्यायन प्रमाणपत्र समेत प्राप्त गर्न सफल भएको छ, जसले प्रयोगशालाको अन्तर्राष्ट्रिय मान्यता थप सुदृढ बनाएको छ।
Advertisement 2
विभागले भारतको सम्बन्धित निकायसँग पत्राचार गरी नेपालबाट भारततर्फ निर्यात गरिने खाद्य वस्तुको परीक्षण प्रमाणपत्र र खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणपत्रलाई आधिकारिक मान्यता दिन आग्रह गरेको छ। विभागले चाँडै नै यससम्बन्धी आदेश जारी हुने विश्वास व्यक्त गरेको छ, जसले द्विपक्षीय व्यापारलाई अझ सहज बनाउनेछ।
विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गतको प्रयोगशालाले पनि सन् २०२३ मा २३ सूचकमा प्रत्यायन प्राप्त गरेको थियो। सन् २०२५ मा उक्त प्रयोगशालाले ९ प्रकारका खाद्य वस्तुमा ४६ सूचकमा परीक्षणको दायरालाई विस्तारित गरेको छ।
विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस अभियानमा साथ दिने सम्पूर्ण सरकारी निकाय, सरोकारवाला निकाय तथा विभागका कर्मचारीहरूप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्। साथै, यस ऐतिहासिक उपलब्धिको निरन्तरता र दीगो कार्यान्वयनका लागि आगामी दिनहरूमा पनि सहकार्य आवश्यक रहेको बताएका छन्।
Advertisement 3
प्रवक्ता मोहनकृष्ण महर्जनद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा, “खाद्य वस्तुमा स्वच्छता : विज्ञानको अपरिहार्यता“ भन्ने नारासहित मनाइएको विश्व खाद्य स्वच्छता दिवस २०८२ को सन्दर्भमा, प्रयोगशालाको सशक्तीकरण तथा निर्यात प्रवद्र्धनका विषयमा सञ्चारकर्मीहरूको भूमिका अतुलनीय हुने उल्लेख गरिएको छ।