ग्वार्को फ्लाइओभरमा लापरवाही : गुणस्तरमा ‘कम्प्रोमाइज’ गर्न नमान्ने कर्मचारी सरुवा, बल्ल सुधारको काम सुरू
![](https://ekarmachari.com/wp-content/uploads/2025/02/Gwarko-.jpg)
काठमाडौं। ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाईओभरमा गुणस्तरहीन काम गरेको ठेकेदार कम्पनीले गुणस्तरमा ‘कम्प्रोमाइज’ नगर्ने कर्मचारी सरुवा गर्न भूमिका खेलेको छ। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभातकुमार झालाई निर्माण कम्पनीका प्रतिनिधिको दबाबमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरुवा गरिएको हो।
Advertisement 1
केन्द्रले फ्लाइओभर निर्माणमा गुणस्तरहीन काम भएकाले मापदण्डअनुसार गुणस्तरीय काम हुनुपर्ने अडान लिँदै आएको थियो। फ्लाइओभर निर्माणका क्रममा निर्माण कम्पनीले स्ल्याभहरु मापदण्डविपरित राखेका, विभिन्न पार्टको डिजाइन सडक विभागमा उपलब्ध नगराएपछि केन्द्रले त्यसमा कैफियत रहेको औंल्याएको थियो। केन्द्रले भनेअनुसार कैफियत नसुधारी निर्माणको काम अघि बढाउन निर्माण कम्पनीले पनि अडान लिँदै आएको थियो। केन्द्रले मापदण्डअनुसार गुणस्तरीय काम गर्नुपर्ने अडान लिइराख्ने र निर्माण कम्पनीले गुणस्तरमा ‘कम्प्रोमाइज’ गरिनुपर्ने अडान लिएपछि फ्लाइओभर निर्माणको काम एक महिनादेखि ठप्प छ। यसबीचमा दुईपक्षबीच छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन। विभाग र निर्माण कम्पनीका प्रतिनिधिबीच शुक्रबार पनि छलफल भएको छ।
Advertisement 2
पछिल्लो समय गत सोमबारदेखि केन्द्रका प्रमुख झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ। साथै निर्देशन अनुसार केही डिजाइन पनि कम्पनीले विभागमा उपलब्ध गराएको छ। डिजाइन विभागले पास गरिसकेको अवस्था छैन। जसबारे शुक्रबार पनि छलफल भएको विभागका एक अधिकारीले बताए। सुधार गर्न भनिएका कामहरु थालिएको प्रोजेक्ट म्यानेजर पुजन गिरीले जानकारी दिए। ‘अन्य काम सुरु गर्न छलफल चलिरहेको छ,’ गिरीले भने, ‘गुणस्तर नरहेका औंल्याइएका काम सुधार थालिएको छ।’
अन्य काम भने अगाडि बढाउने सहमति अझै भइसकेको छैन। निर्माण कम्पनीले फ्लाइओभर निर्माणको काम सम्झौताभन्दा बढी लागत लाग्ने भएकाले लागत बढाउन लबिङ गरिरहेको सडक विभागका एक अधिकारीले बताए। निर्माणका लागि सुरुमा सम्झौता भइसकेको लागतमा एक रुपैयाँ पनि नबढाउने र बरु सम्झौताअनुसार काममा ढिलाई गरेमा पैसा काटिने सडक विभागको अडान छ।
Advertisement 3
गुणस्तरहीन काम भनेको के हो?
फ्लाइओभरको पर्खाल ‘प्यानल–प्यानल’ जोडेर निर्माण गर्नुपर्ने हुन्छ। प्यानल राख्दा एक प्यानल र अर्को प्यानलको बीचमा औसत साढे १ सेन्टिमिटरको ‘ग्याप’ हुनुपर्ने मापदण्ड छ। उक्त ग्याप कम्तीमा १ सेन्टिमिटर र बढीमा २ सेन्टिमिटरसम्म मान्य हुने सम्झौता छ। तर, निर्माण कम्पनीले त्यो ग्याप ७–८ सेन्टिमिटरसम्म पनि राखेको छ। ‘हातै छिर्ने ग्याप छ,’ विभागका एक अधिकारीले भने, ‘त्यो ग्याप मान्य हुँदैन भनेपछि कम्पनी कामै छाडेर बसेको हो।’
उक्त ग्याप बढी भएका कारण त्यहाँबाट म्याट्रियलहरु झर्न थालिसकेको विभागका ती अधिकारीको भनाइ छ। ग्याप नै नभएमा पनि उक्त प्यानलहरु भविष्यमा फुट्ने सम्भावना हुने भएकाले थोरैथोरै ग्याप हुनुपर्ने विभागका ती अधिकारीको भनाइ छ। ‘ग्यापमा भएको फरकपनाका कारण पर्खालको कुनैकुनै भाग फाटिसकेको पनि छ,’ ती अधिकारीको भनाइ छ।
त्यस्तै ती प्यानलहरु इन्स्टल गर्दा ठाउँठाउँमा फुटेका पनि छन्। ती फुटेका प्यानलहरु मापदण्डअनुसार मर्मत गर्नुपर्ने विभागको भनाइ हो। प्यानलहरु कुनैको दायाँपट्टिको कुना भत्किएको छ। उक्त प्यानलको निर्माण मापदण्डअनुसार १५ एमएम (साढे १ सेन्टिमिटर) प्लस माइनस ५ एमएमसम्म हुन सक्छ। त्यस्तै सातदोबाटोतर्फ पर्खालको केही स्ल्याभमा समस्या देखिएको छ। त्यही कारण सातदोबाटोतर्फ करिब ४० मिटर पर्खाल भत्काएरै बनाउनुपर्ने भएको छ। त्यो नभत्काइ बनाउँदा भविष्यमा ठूलो दुर्घटनाको जोखिम हुने सडक विभागका इन्जिनियरहरुको दाबी छ।
त्यस्तै पुल र पर्खालको बीचमा बनाइने स्ल्याभको डिजाइन पनि हालसम्म नटुंगिएपछि डिजाइन करेक्सन गनुपर्ने विभागको निर्देशन थियो। २०८० भदौमा दिइएको निर्देशनअनुसार उक्त डिजाइन गत एक वर्षभन्दा बढी समयसम्म नटुंगिएपछि विभागले डिजाइन गरेर मात्रै काम अघि बढाउन भनेको हो। त्यस्तै पानी पासका लागि बनाइने ‘साइड ड्रेन’को डिजाइन पनि निर्माण कम्पनीले गरेको थिएन। साइड ड्रेनले ¥याम्पमाथिको पानी बग्ने हुन्छ। त्यो पनि डिजाइन नभएपछि विभागले त्यसको डिजाइन पनि हुनुपर्ने निर्देशन दिएको हो। निर्माण कम्पनीले बनाएको साइड ड्रेनबाट पानी पास नहुने किसिमको भएका कारण विभागले उक्त निर्देशन दिएको हो। ‘बनाएको साइड ड्रेनबाट पास हुने किसिमको छैन। त्यही भएर त्यहाँ खोला बग्ने सम्भावना हुन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘त्यसले दुर्घटना हुने सम्भावना बढी हुन्छ। त्यही भएर पानी पास ठाउँठाउँबाट गर्नुपर्छ। र त्यही अनुसार डिजाइन चाहिन्छ। त्यो गरिएन भने जम्मै पानी ¥याम्पको पुच्छारमा आउँछ र भरिन्छ। त्यो डिजाइन नै उपलब्ध गराएको छैन।’
त्यस्तै पुलमा राखिने क्र्यास बेरियरको पनि सही डिजाइन नभएको विभागले जानकारी दिएको छ। विभागलाई सही डिजाइन नदिइकनै निर्माण गरिरहेको र त्यहाँ भोलीको दिनमा गाडी ठोकियो भने, दुर्घटना हुने सम्भावना हुने अधिकारीहरुको भनाइ छ। ‘क्र्यास बेरियर बलियो भयो भने त्यहाँ गाडीले हिर्कायो भने पनि त्यहाँ अडिन्छ,’ ती अधिकारीको भनाइ छ, ‘गाडी अडिनेगरी विशेष किसिमले डिजाइन गरिनुपर्छ। त्यो डिजाइन नै नगरी निर्माण कम्पनीले आफ्नोअनुसार निर्माण गरिरहेको छ।’ त्यहाँ गाडी ठोकियो भने भाँचिने सम्भावना हुने र दुर्घटनाको सम्भावना हुने विभागका अधिकारीहरु बताउँछन्।
सुधारका लागि दिइएको निर्देशन अटेरी
यसको गुणस्तरमा सुधार हुुनुपर्ने भन्दै अडान लिने कर्मचारी विभाग मातहत गुणस्तर अनुसन्धान केन्द्रका प्रमुख प्रभातकुमार झा हुन्। उनले केन्द्र प्रमुखको हैसियतले कैयौं पटक पत्र काटेर गुणस्तरमा कम्प्रोमाइज नगर्न र सुधार गरेरमात्रै बाँकी काम गर्नुपर्ने अडान लिँदै आएका थिए। तर, गुणस्तरहीन औंल्याइएको कामको सुधार गर्नुको सट्टा उनकै सरुवा गरिएको छ। विभागका एक अधिकारीका अनुसार झाले गत भदौदेखि कैयौं पटक गुणस्तर सुधार तथा उपयुक्त डिजाइन गरेर मात्रै काम गर्न निर्माण कम्पनीलाई पत्र काटेका थिए। निर्माण कम्पनीले पत्रमा भनिएअनुसार काम नगरी अटेरी गर्दै आएको थियो।
निर्माण कम्पनीले गुणस्तरीय काम गर्दा नाफा कम हुने भएपछि गुणस्तरहीन काममै कम्प्रोमाइज गर्न खोजेको थियो। तर, झाले नमानेपछि मन्त्रालयमा उनको सरुवा गरिएको छ। ‘गुणस्तर केन्द्रले गुणस्तरमा कम्प्रोमाइज नगर्न, सुधार गर्नुपर्ने अडान लिइरहनु र केन्द्रका प्रमुखको सरुवा हुनु सँगसँगै भएको छ,’ विभागका ती अधिकारीले भने, ‘सरुवा निर्माण कम्पनीकै दबाबमा भएको पनि हुन सक्छ।’
गुणस्तरमा कम्प्रोमाइज गरिरहने कम्पनी
ग्वार्को फ्लाइओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर कम्पनीले जोइन्ट भेन्चरमा गरिरहेका छन्। फ्लाइओभर निर्माणको अनुभव भएको रेलिगेर कन्स्ट्रक्सन कम्पनी भए पनि ठेक्का हात पार्न यसमा सामानान्तर ग्रूप र आशिष निर्माण सेवा जोडिएका हुन्। यसमध्ये सामानान्तर ग्रूपका अध्यक्ष अच्युत खरेल राजनीतिक रुपमा पहुँत भएका व्यक्ति हुन्। उनकै पहुँचका आधारमा उक्त ठेक्का हत्याइएको एक निर्माण व्यवसायी बताउँछन्। ‘ग्वार्को फ्लाइओभरमात्रै होइन, अन्य पनि धेरै काम छन् राजनीतिक पहुँचका आधारमा सामानान्तरले लिएका,’ ती निर्माण व्यवसायीले भने।
सामानान्तर ग्रूप जोडिएर निर्माण गरिएका अधिकांश संरचनामा गुणस्तरको प्रश्न उठ्दै आएको छ। यस कम्पनीले निर्माण गरेका भवनहरुमा समेत किचनबाट पानी झर्ने, छतबाट वर्षाको पानी चुहिनेलगायत समस्या छन्। यस विषयमा सामानान्तर गूपका अध्यक्ष खरेलले मान्छे त बिरामी पर्छ भने निर्माण संरचनामा समस्या देखिनु ठूलो कुरा नभएको बताए। ‘तपाई हामी पनि त कहिलेकाँही बिरामी पर्छौं,’ उनले भने, ‘त्यो चुहिने समस्या सामान्य हो। म पछि फोन गर्छु।’
(सामानान्तरको संलग्नतामा निर्मित संरचनाको गुणस्तरमा कम्प्रोमाइज गर्दा आइलागेका समस्याबारे अर्को सामग्रीमा)