भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु

चितवन। भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गरिन्।

Advertisement 1

ताररहित महानगर बनाउने योजनाअनुरुप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको उनले बतान्। यसले महानगरपालिकालाई स्मार्टसिटी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो। आगामी दिनमा कामलाई तीव्रता दिँदै चाँडो आयोजनाको कामसक्ने उनले आग्रह गरिन्। काठमाडौंपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ।

पहिलो फिडरबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालयमा भूमिगत रुपमा विद्युत् पु¥याइएको छ। यस्ता १७ वटा फिडरमार्फत महानगरको छ लेन सडक र बाइपास रोड सडकमा ताररहित बनाउन लागिएको प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

Advertisement 2

आयोजनाले हालसम्म ७० प्रतिशत काम सम्पन्न गरेको छ। केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएको भए पनि अहिले थप गरी ११ केभिए र चार सय भोल्टको लाइनलाई भूमिगत गर्ने काम भइरहेको छ।

नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा मात्रै भूमिगत गर्न थालिएकामा अहिले नयाँ क्षेत्र थप गरेसँगै बजेट पनि थप गरिएको छ। पौडेलका अनुसार भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि १ अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो। निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएर विद्युतीय तार भूमिगत गर्ने काम गरीरहेको छ।

Advertisement 3

एशियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो। सन् २०२२ को जनवरीबाट आयोजनाले काम सुरु गरेको हो। चालु आर्थिक वर्षभित्र कामसक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ।

प्रकाशित :२०८१ माघ ११, शुक्रबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry