“छोरालाई डाक्टर बनाएँ,बूढेसकालमा छोराले घर न घाटको बनायो”

बुवाआमाको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढामाथि त्यसै भनिएको होइन । जसलाई खाइ नखाई हुर्काइयो, बढाइयो र पढाइयो । म ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो भनेझैं आफ्नो खुट्टामा उभिने भएपछि उही बुवाआमामाथि जाइलाग्न र हातपात गर्न पछि पर्दैनन् । जन्मघर पर्वत कुस्मा, ५ सन्तान जन्मिए । दुई छोरा, तीन छोरी । जेठो छोरा प्रेमराजा श्रेष्ठलाई खाइ नखाई पढाइयो । डाक्टर बन्ने इच्छा जाहेर ग¥यो । छोराका इच्छा र चाहना पूरा गर्न केही कसर बाँकी राखिन । चीनमा गएर एमबिबिएस, एमडी हुँदै पिचएडी ग¥यो । ०५८ सालमा ऊ चीन गयो एमबिबिएस अध्ययनका लागि चीन गएको ऊ ०७२ सालसम्म अर्थात् १४ वर्षसम्म उतै बस्यो । यो अवधिमा सबै खर्च जोड्दा झण्डै ४७ लाख यताबाट पठाइएछ ऋणधन गरेर । मसँग त्यो भौचर सबै सुरक्षित थियो । पछि ऊ नेपाल आएपछि खोसेर लग्यो ।

सोच थियो जेठो छोरा खुट्टा टेक्ने भएपछि भाइबहिनीलाई हेर्ला, पढाउला, ऋण तिर्ला । परिवार पाल्ला र आफ्नैलागि पनि बुढेसकालको सहारा बन्ला । जेठो छोरालाई पढाउँदैमा ऋणमा डुबियो । उसले भाइबहिनीलाई हेरेन । ऊबाहेक अरू ४ छोराछोरी सरकारी स्कुल पढेर प्लस टुसम्म पास गरे । त्योभन्दा माथि पढाउनै सकिएन । भाइबहिनी भन्थे, ‘दाइलाई पढाउनुभएकै छ । हेर्नुहोला नि त !’ तर विवाह गरेपछि छोरो झन् बटारियो । जन्म दिने, हुर्काउने बावुआमा प्रधान दुश्मन पो बनियो । विवाहअघि नै ऊ काठमाडौंमै लिभिङ टुगेदर रिलेसनमा बसेको रहेछ । पछि चाल पाइयो । त्यही केटीसँग बिहे ग¥यो । बुहारीलाई चीन पनि लिएर गयो । अहिले नातिनी नै ७ वर्षकी भइसकी । पेशाले घरजग्गा व्यवसायको काम गर्छु । त्यही आर्जनले पोखरामा घर बनाएको थिएँ ०६८ सालमा । कान्छी छोरी इजरायल पठाएको छु, ०६४ सालमै । छोरीले अर्काको मुलुकमा बूढाबूढी स्याहारसुसार गरेर आर्जेको रकम मासिक मेरो नाममा पठाउँथी । त्यही रकम जोडजाड गरेर ०७१ सालमा काठमाडौंमा अर्काे घर किनेँ । पोखराको घर एनआइसी एसिया बैंकमा धितो राखेर ३५ लाख ऋण निकाली सानो भ¥याङमा घर किनेको । सोच थियो दुइटा घर भएपछि जेठो छोरा काठमाडौं बस्छ । कान्छोलाई पोखरामा । काठमाडौंका दुई फ्ल्याट भाडामा राखिएको थियो । त्यहाँ भाडामा बस्नेले नै घरको रेखदेख गर्थे । यही बीच मेरो आँखामा समस्या देखियो । पोखरामा उपचार सम्भव भएन । तिलगंगा रिफर गरियो । जलबिन्दु भएछ । ६ महिनासम्म उपचार गर्दा पनि आँखा देख्न सकिएन र उपचारै गर्न छाडिदिएँ ।

छोरा चीनबाट अध्ययन सकाएर नेपाल फर्किएपछि ६ महिना पोखरा बस्यो । अनि काठमाडौं बस्न थाल्यो । हामी बूढाबूढी नै उपचारको सिलसिलामा काठमाडौंमै थियौं । यहाँ एउटै मेसमा खान्थ्यौं । कारोबार मेरै जिम्मामा थियो । छोरा केही न केही निहुँ निकालेर मसँग झगडा गर्न खोजिरहन्थ्यो । चीनबाट फर्कंदा उसले एउटा टिभी ल्याएको थियो । त्यो टिभी पोखरा घरमा थियो । एक दिन पोखराबाट त्यही टिभी उठाएर ल्याएछ । मैले थाहा नपाउने गरी आफ्नो कोठाभित्र लग्यो । के ल्याइस् बाबु, मलाई थाहै नदिने गरी लुसुक्क छिराइस् त भनेर सोधेको मात्र थिएँ । तँलाई किन भन्नुप¥यो, तँ को होस् भनेर झर्कियो । भनाभन प¥यो । उसले तँ मेरो बाउ होइनस् भन्न भ्यायो । सायद खाई नखाई आफूले पढाएको, डाक्टर बनाएको यही देख्न र सुन्न रहेछ । रिसैको झोंकमा मैले तेरो बाउ जो होस् उसैसँग जा, उसैसँग गएर नागरिकता बना भनेँ । हामी घरको छतमा थियौं । जीवनभर एक लबटो नपिटी हुर्काएको छोराले मुड्कीले टाउको बजा¥यो । उसकी आमा मलाई छेक्न आएकी, उसलाई छतबाट खसाल्न खोजेको थियो तर हाम्रो भाग्य बलियो भएर होला रेलिङमा ठोकिएर त्यहीँ बेहोस भई ।

गुहार माग्न थाल्दा पिट्यो । म आफैं बेहोस भएँ, छतमा टाउको बज्रिएछ । छतबाट तल खसाल्न खोजेको रहेछ । उसैले प्रहरी बोलायो । मेरो बावुआमाले मलाई मार्न लागे भन्यो । सानोमा त एक लबटो लगाइएन, डक्टर भएको छोरालाई कसैले पिट्छ र ?

छोरो पढेर कति विद्वान् भएछ भने आफूलाई जन्म दिने बुवाआमालाई चुटेर प्रहरीलाई फोन गरेछ । राति नै प्रहरी आए । मेरो भर्खरै आँखा अप्रेसन गरेको थियो । उहाँहरूले हाम्रो अवस्था हेर्नुभयो । प्रहरीले हामीलाई चौकी जाऊँ भन्यो । पापी मन सोचें, छोरा भर्खरै डाक्टर पढेर फर्किएको छ । प्रहरी कार्यालयमा गएपछि भएको घटनाको इतिवृत्ति लगाउनै प¥यो । त्यसो गर्दा छोराको बेइज्जती होला र भोलि नोकरी नपाउला । त्यही कारण प्रहरी कार्यालय जान इन्कार गरेर घरमै बस्यौं । त्यसदिन उनीहरूले किचेनमा गएर पेटभरि खाई ताला लगाएर हिँडे, हामी कोठाभित्र डराई डराई रात काट्यौं र भोलिपल्टसम्म पनि दुखाई कम नभएपछि ट्याक्सी बोलाएर ढुंगेधारा अवस्थित ओमसाइबाबा हस्पिटलमा उपचार गर्न गयौं । त्यहाँ उपचार हुँदै थियो, प्रहरीले फोन ग¥यो– तपाईंहरूमाथि छोराले उजुरी दिएको छ, तुरुन्त आउनुहोला । उसले घरमै कुटपिट ग¥यो । आफैंले हामीमाथि हातपात गरेर उल्टै आफैं प्रहरीमा लिखित उजुरी दिन भ्याएछ मेरा बुवाआमाले म र श्रीमतीलाई कुटपिट गरे भनेर । हामी प्रहरी वृत्त पुग्यौं । प्रहरीले छोरालाई बोलायो ।

डाँडापारिको घाम हुन लागेका बूढाबूढीले हट्टाकट्टा छोरा बुहारीलाई पिटे भन्दा प्रहरीले पनि पत्याएन । यस्ता बूढाबूढीले पिट्छन्, लाज, इज्जत केही छैन भनेर ड्युटी अफिसरले हकारे । के पढेर डक्टर बनिस्, कसरी डक्टर बनिस् ? मान्छे भन्नलायक पनि रैनछस् भन्दै प्रहरीले हकारेपछि कालोनीलो भयो । अब द्वन्द्व बढाउने होइन, अस्ताउन लागेका घाम जूनजस्ता बुवाआमालाई दुःख दिने होइन भन्दै प्रहरीले हस्ताक्षर गराएर घर पठायो । हामी बूढाबूढी हिँडेरै फर्कंदै थियौं । पछाडिबाट आएको बाइकले झण्डै हान्यो । हामी भित्तामा आड लिएर बच्यौं । त्यो प्रयास सफल भएन । अघि पुगेर बाइकवालाले फर्किएर हे¥यो, आफ्नै छोरो रहेछ ।
सबैभन्दा भर हुनुपर्ने छोरा, उसैसँग पलपल डराउनुपर्ने कस्तो दिन आयो ? डर मानीमानी घर गयौं । यो ०७३ साल साउन–मसान्तको कुरा । त्यो घटनापछि घरमा खान छाड्यौं । बूढाबूढी नै होटलमा खान्थ्यौं, सुत्न मात्र घर जान्थ्यौं । भदौ ३ गते कुशेऔंशीको दिन । बुवाको मुख हेर्ने पर्व, त्यसको दुई दिनअगावै भएका सबै कोठामा चाबी लगाएर आफ्नो परिवारसहित हिँडेको रहेछ ऊ हामी खाना खाएर फर्कंदा ।
मनमा फेरि चिसो पस्यो केही न केही षड्यन्त्र पक्कै छ । त्यहाँबाट हामी कान्छो छोरा भएको ठाउँ पोखरा फर्कियौं । त्यसपछि फर्किएर पनि त्यो घर गएनौं । आँखाको उपचार उतै गर्न थाल्यौं । उसले कात्तिक २३ मा काठमाडौं जिल्ला अदालतमा अंश चलन र जालसाझमा मुद्दा दायर गरेको रहेछ ।

म्याद गएछ कुश्माको ठेगानामा । लुकेर बस्ने कुरा भएन, म्याद बुझेँ । कानुनका जानकारहरूसँग राय लिएँ, प्रतिउत्तर लगाउनुपर्छ भन्ने भयो । तीनैजनाले एकै जना वकिलमार्फत लेखापढी गरायौं । प्रतिउत्तर दियौं । मिसिल कुस्मामै झिकायौं । तारिख उतै भयो । ०७६ कात्तिकतिर फैसला आयो, जिल्ला अदालत पर्वतमा यो बीचमा तीन वटा मुद्दाबाट थपेर १३ वटा मुद्दा पु¥याउन भ्याएछ । सबै मुद्दा किनारा लगायो अदालतले चलअचलसहित सम्पूर्ण सम्पत्ति ४ भाग लगाउने । कसैको पनि छोराले आफ्नै बुवालाई अंश मुद्दा हालेको छैन होला । म पनि त छोरै हुँ, मैले बावुआमालाई मुद्दा हालेर अंश खाएको होइन । मागेर पाइने चिज हो ।

त्यही सम्पत्तिका लागि यति लड्नुपथ्र्याे र ? जिल्लाबाट फैसला आयो । उसलाई चित्त बुझेन । अहिले उच्च अदालत पुगेको छ । यही ३ चैतमा पेशी तोकिएको छ । या जिल्ला अदालतको फैसला मान्नुप¥यो वा बुवाआमा मलाई यो चिज चाहियो भनेर माग्नुप¥यो । बूढेसकाल, एकातिर सुगर, प्रेसरको बिरामी, इन्सुलिन लगाउनुपर्ने, अर्काेतिर आँखाको समस्या । जीर्ण शरीर । यस्ता बूढाबूढीलाई अनेकथरी दुःख सास्ती, झमेला दिइरहेको छ । जे–जति दुःख दिए पनि उसका पनि सन्तान छन् । भोलि ती पनि ठूला हुन्छन्, बुद्धि सुधारोस्, बुद्धि फिरोस् । आफ्नै छोरा, जसलाई डक्टर बनाइयो । तिनै छोराले आज सडकमा पु¥याएपछि हामी न्याय खोज्दै छौं । हेरौं अब अदालतले के गर्छ ?
– हरिकुमार श्रेष्ठ दम्पती

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आईतवार १२:३९

प्रतिक्रिया दिनुहोस्