मानव पूंजीको रणनीतिक व्यवस्थापनमा त्रिकोणात्मक समन्वय

मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति,श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति, श्रमशक्तिले अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो ।यसैले यसको व्यवस्थापन पनि अति नै महत्वपूर्ण मान्ने गरिन्छ । मुलुकको समग्र विकासका लागि मानव साधन सधै महत्वपूर्ण, आवश्यकीय र प्रभावकारी संयन्त्रको रुपमा रहने गर्दछ । मानव संशाधनको महत्व राष्ट्को सर्वांगीण विकासको दृष्टिले साधन र साध्य दुवै आयामवाट महत्वपूर्ण मानिन्छ । साधनको रुपमा यसको परिचालन बिना विकास निर्माण कार्य संभव हुदैन भने साध्यको रुपमा मानव संसाधनको विकास नै राष्ट्यि विकासको अन्तिम लक्ष्य हो ।
Advertisement 1
राष्ट्यि विकासको लक्ष्य हासिल गर्नका लागि सार्वजनिक क्षेत्रमा पनि मानव श्रोतको योजना, विकास, सम्बध्र्दन र समुचित उपयोग अनिवार्य छ । मानव संशाधन आर्थिक तथा सामाजिक विकासको मुख्य आधार पनि हो । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरु मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् । यसर्थ मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव संसाधन व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु¥याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना , प्राप्ति , उपयोग , विकास , सामयिक संभार , एकाकार, अवकाश ,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो । यी सवै चरणवध्द श्रृंखलाहरुको विवेकपूर्ण , दिगो र परिणाममूलक व्यवस्थापन कौशलता रणनीतिक व्यवस्थापन हो ।
जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।मानव सभ्यता र समयको विकासक्रम संगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तनहरु भएका छन् र यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रुपमा लिईएको र पछि क्रमशः मानवलाई पूजीको रुपमा लिने चलन वढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाईन्छ । मानव संसाधन व्यवस्थापनमा भएको यो विकासले मानव संसाधनको रणनीतिक व्यवस्थापनमा जोड दिएको छ । रणनीतिक व्यवस्थापनले मानव संसाधन व्यवस्थापनका सवै चरणहरुमा सवल, कमजोर, अवसर र चुनौतीका पक्षहरुवीच सामन्जस्यता र सो अनुरुपको कार्ययोजनाको माग गर्दछ ।
Advertisement 2
मानव संसाधनको रणनीतिक व्यवस्थापनको पक्ष प्रतिभा व्यवस्थापनको रुपमा पनि चिनिने गर्दछ । प्रतिभा व्यवस्थापनको अवधारणा सन् १९९७ देखि प्रयोगमा आउन थालेको हो । मानव संसाधनको विवेकपूर्ण व्यवस्थापननै प्रतिभा व्यवस्थापन हो । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रुपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ ।साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र संग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त उत्कृष्ट जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ । प्रतिभा व्यवस्थापनका मूलत प्राप्तिपूर्वको चरण, प्राप्तिको चरण, उपयोग र विकासको चरण र बहिर्गमनको चरण गरि चार चरणहरु रहने गर्दछन् यी चारै चरणको सुझबुझ र सवल र दुर्वल पक्षको व्यवस्थापन नै रणनीतिक व्यवस्थापन हो ।
जनशक्ति योजना प्रतिभा व्यवस्थापनको प्राप्तिपूर्वको चरणमा पर्दछ । सांगठनिक उद्देश्य प्राप्ति व्दारा राष्ट्यि उद्देश्य प्राप्ति का लागि प्रतिभावान मानव श्रोत सवभन्दा महत्वपूर्ण पक्ष हो । यस चरणमा संगठनको लागि आवश्यक पर्ने उमेर समूह, योग्यता र सीपको क्षेत्र, विज्ञताको क्षेत्र आदिको विश्लेषण गरिन्छ र सो अनुरुप त्यस्ता जनशक्तिको उत्पादन गर्ने रणनीति लिइन्छ ।
जनशक्ति योजना सांगठनिक र राष्ट्यि तह गरी दुई तहमा निर्माण हुने गर्दछ ।यी दुवै तहको आवश्यकताको आधारमा विभिन्न शैक्षिक संस्थाहरुले लामो समयको अन्तराल पछि श्रम बजारमा क्षमतावान र प्रतिभावान जनशक्ति तयार गर्ने गर्दछन् ।
Advertisement 3
क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको अर्को महत्वपूर्ण चरण हो । श्रम वजारमा उपलव्ध जनशक्ति मध्ये संगठनलाई आवश्यक पर्ने क्षमतावान जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तरगत पर्दछ । यसमा कुनै निश्चित संगठनका लागि आवश्यक जनशक्ति लाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यम व्दारा क्षमतावान जनशक्तिलाई संगठनमा प्राप्त गर्ने गरिन्छ ।
श्रम बजारमा उपलब्ध क्षमतावान जनशक्तिको प्राप्तिले मात्र संगठनको आवश्यकता पूर्ति हुदैन यस्तो क्षमतावान जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया प्रतिभा व्यवस्थापनको महत्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोग गर्ने सम्बन्धमा विज्ञताको आधार, परिणाम र उत्तरदायित्वको आधार, सक्षमताको आधार,स्थान अनुरुप व्यक्तिको उपयुक्तताको आधार, उत्प्रेरणाको आधार क्षमतावान जनशक्तिलाई संगठनमा टिकाइराख्ने आधार, पेशागत व्यवसायिकता प्रबध्र्दनको आधार, जनशक्ति विकासका आधारहरु प्रयोगमा आउने गर्दछ ।
संगठनमा एक पटक लिईएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रुपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्वपूर्ण विषय हो । मानव श्रोत ब्यबस्थापनमा विकास को महत्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन संगै ज्ञान, सीप , र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई संगठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पु¥याउंछ । तालिमको आधुनिक मान्यता अनुसार तालिमले जनशक्ति लाई वर्तमान आवश्यकता अनुसार र भावी आवश्यकता अनुसार चल्न सक्ने बनाउन सक्नु पर्दछ भन्ने अवधारणाको विकास भएको छ ।
संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पूँजी तथा अमूल्य निधी हुन। तथापि केही जनशक्ति को क्षमता संगठनमा अन्य जनशक्तिको क्षमता भन्दा निकै वढी हुन्छ र यिनीहरु संगठनको दैनिक कार्यलाई व्यवस्थित गर्न अपेक्षित परिणाम निकाल्न र संगठनको साख अभिवृध्दि गर्न प्रखर सावित भएका हुन्छन् । यसर्थ यिनीहरुलाई समूहगत कार्य, टोलीगत कार्य, विशेष भूमिका, समन्वयकारी भूमिका आदि व्दारा उनीहरुको क्षमताको अधिक भन्दा अधिक रुपमा प्रयोग गर्न सकिन्छ ।साथसाथै अन्य तुलनात्मक रुपमा मध्यम वा निम्न क्षमताका कर्मचारीहरुलाई विकासको तालिम जस्ता अन्य उपागम व्दारा उनीहरुको क्षमतालाई सामयिक रुपमा तिखारी राख्नुपर्ने हुन्छ ।साथै संगठनमा उर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्ति को अन्यत्र पलायनलाई पनि रोक्नु पर्ने हुन्छ ।यी सवै विषयलाई समेट्नु पर्ने विषय रणनीतिक व्यवस्थापनको पक्ष हो । मानव लाई मानव पूँजीमा परिणत गर्न शुरुमा त्यसमा लगानी गर्ने र त्यसवाट अधिकतम प्रतिफल लिन तयार पारिने रणनीति र सो रणनीतिको कार्यान्वयन व्यवस्थापन नै रणनीतिक व्यवस्थापन हो । यसका लागि माग पक्ष बजार , उत्पादन पक्ष शैक्षिक संस्था, उपयोग पक्ष रोजगारदाता संस्थाहरु, विकास पक्ष तालिम प्रदायक संस्थाहरु, जनशक्तिलाई संगठनमा टिकाइरहने पक्ष सेवा शर्त सम्बन्धी कानून र सुविधा, श्रमशक्तिको अत्यधिक आपूर्ति र कमीको अवस्थामा यसको व्यवस्थापन गर्ने पक्षको वीचमा समेत रणनीतिक दृष्टिकोणको आवश्यकता पर्दछ । यसका लागि मानवलाई पंूजीको रुपमा लिई मानवीय संवेदनात्मक पक्ष, उत्प्रेरणा र उपयोगको त्रिकोणात्मक समन्वयको आवश्यकता छ ।
(दामोदर रेग्मी कुशल प्रशासक तथा संघीयता विज्ञ हुन्)