अवकाशको साता दिन नबित्दै सचिव नेपाललाई ६ बर्षेका लागि अर्काे नियुक्ति

पूर्व प्रशासकहरुले राजनीतिक नियुक्ति वा लाभको पदमा नियुक्ति पाउनु कुनै नौलो कुरा रहेन । पछिल्लो समय संवैद्यानिक आयोगहरु बृद्धाश्रमजस्तै बनेको गुनासो चुलिदैं गएको छ । अवकाश पाएको वा अवकाश पूर्व नै टपक्क टिपेर सरकारलाई मन परेका प्रशासकहरुलाई लाभको पद दिने रोग केन्द्रबाट प्रदेशतिर सरेको छ ।
Advertisement 1
हालैमात्र अवकाश पाएका सचिव विष्णुप्रसाद नेपाल गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नियुक्त भएका छन् । ५८ बर्ष उमेर हदका कारण अवकाश पाएका प्रदेशका प्रमुख सचिवलाई अर्काे ६ बर्षसम्म जागिर खाने प्रवन्ध मिलेको छ ।
५८ बर्ष उमेर हदका कारण गत २ चैत्रमा अवकाश पाएका नेपाललाई अवकाश पाएको ५ दिनपछि राजनीतिक नियुक्ति मिलेको हो । उनलाई गण्डकी प्रदेश सरकारले त्यहाँको लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति दिएको हो । अव उनको पदाअवधि ६ बर्षसम्म हुनेछ अर्थात उनले अन्य कुनै कारणले नहटे वा नहटाइए ६४ बर्ष पुग्दासम्म गण्डकी प्रदेश लोकसेवा आयोगको कमाण्ड सम्हाल्नेछन् ।
Advertisement 2
नेपालले गत २ चैतमा मात्र उमेरहदका कारण अवकाश पाएका थिए । अवकाश पूर्व उनी सोही प्रदेशको प्रमुख सचिवको रुपमा कार्यरत थिए ।सचिव बने लगतै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निकट रहेर काम गरेका उनले मुख्यमन्त्री गुरुङको मन जित्न सफल भएकै कारण उनी त्यहाँका लोकसेवा आयोगको अध्यक्षमा मनोनयन भएका हुन् । लोकसेवा आयोगको अध्यक्ष खोज्नका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन भएको थियो । सोही समितिले पूर्व सचिव नेपालसहित अरु दुई सदस्यको नाम सिफारिस गरेको थियो । नेपालको स्थायी घर स्याङ्जा हो । उनले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।
यस्तै गण्डकी प्रदेश लोकसेवा आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भएकी छिन् । लम्सालको तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसकी उपप्रमुख हुन्,अर्काे एक जना सदस्यको नाम भने सार्वजनिक गरिएको छैन् ।