दिगो विकासको लक्ष्य प्राप्तिमा सहकारी क्षेत्रले खेल्नु पर्ने भुमिका

पृष्ठभुमि
प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग हुन्छ र जसले हाम्रो आवश्यकता, उत्पादन, आपूर्ति, उपभोगलाई सन्तुलमा राखी सम्पूर्ण प्राणी जगत र समाजलाई जीवन्त राख्दछ । पृथ्वीको धान्न सक्ने क्षमताभित्र रहेर मानिसको जीवनमा समृद्धि हासिल गर्न र समाजमा शान्ति कायम गर्न विश्व समुदायले अवलम्बन गरेको विश्वव्यापी साझा विकासको रूपान्तरणकारी खाका नै दिगो विकासका लक्ष्यहरू हुन् ।सन २०१५ मा भएको विश्वका १९० भन्दा बढि राष्ट्रहरु मिलेर समृद्ध विश्व निर्माणको लागि सन् २०३० सम्मको लागि १७ वटा दिगो विकासका लक्ष्यहरु निर्माण गरिएको छ । दिगो विकासको एजेन्डा आर्थिक, सामाजिक र वातावरणीय गरी तीनवटा आयामहरूमा विकास गरिएका छन् र यिनले समावेशिता र समतामा केन्द्रित भएर मानव जीवनमा रूपान्तरण ल्याउने अपेक्षा गरिएको छ । सहकारीको सामाजिक, आर्थिक, न्यायिक, शैक्षिक उद्देश्य पनि यीनै दिगो विकास लक्ष्यसँग अन्तरसम्बन्धित छ ।

Advertisement 1

दिगो विकासका लक्ष्यहरु
सन् २०१५ मा नेपाललगायत संयुक्त राष्ट्रसघंका सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेका दिगो विकास लक्ष्य विश्वव्यापी समृद्धिको सृजना वितरण र दिगोपना हासिल गर्ने कार्यसँग जोडिएको विश्वव्यापी कार्यसूची पनि हो ।यो यस्तो एजेण्डा हो जसमा यस अघि कहिल्यै नभएका साझा महत्वका विषयहरु समावेश गरिएको छ । दिगो विकास लक्ष्यले पाँच पीजस्तै पिपुल (लक्ष्य १,२,३,४,५), प्लानेट (लक्ष्य १२,१३,१४,१५), पिस (लक्ष्य १६), प्रस्परिटी (लक्ष्य ६,७,८,९,१०,११), र पार्टनरसिप (लक्ष्य १७) जस्ता विषयमा विश्वव्यापी सहकार्य र समन्वयको अपेक्षा गर्दछ । । विश्वको सबै जसो देशहरुका राष्ट्र प्रमुख, सरकार प्रमुख वा प्रतिनिधिहरु स्वयंले सर्वसम्मतिमा निर्णय गरी यो एजेण्डा जारी गरिएको हो । सबैले यो एजेण्डालाई निरन्तर रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता गरेको छ । यो एजेण्डालाई सबै जना संयुक्त रुपमा अगाडि बढ्ने साझा यात्राको रुपमा ब्याख्या गरेको छ र कसैलाई पनि पछाडि नछाड्ने वाचा गरिएको छ ।दिगो विकास लक्ष्य अहिले विश्वकै विकासको मूल एजेन्डाका रूपमा स्थापित भएको छ । “कसैलाई पनि पछि नछाड्ने” यसको मूल ध्येयले गर्दा यो विश्वस्तरमा अहिलेसम्म भएका विकास प्रयत्नहरूभन्दा सर्वाधिक महत्वाकांक्षी पनि देखिन्छ । दिगो विकास लक्ष्य, समग्र विश्व र राष्ट्र–राष्ट्र बीचका साझा र विशेष समस्याहरूका सम्बन्धमा बन्दै र विकसित हुँदै गएको साझा बुझाई र सहमतिको द्योतक पनि हो । यसलाई सबै विश्वले स्वीकार गरेको छ भने सबै देशहरुको लागि यो समान रुपमा लागू हुने एजेण्डा हो । यसमा समावेश भएका लक्ष्य तथा निर्दिष्ट लक्ष्यहरु चाहे विकसित मुलुक होस् वा विकास तिर लम्कीरहेका मुलुकहरु, सबैमा लागू हुन्छ । यो एजेण्डा मानव अधिकार र त्यसका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुलाई महत्वका साथ स्थान दिएको छ । तसर्थ, विश्वको समग्र परिवर्तन र विकासको लागि यो एजेण्डा निकै महत्वपूर्ण छ ।

नेपालले पनि दिगो विकासका लक्ष्यहरू कार्यान्वयनको मार्गचित्र २०१६–२०३० निर्धारण गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्य प्राप्तिको लागि संघ, प्रदेश र स्थानीय तहको भूमिका अहं हुने हुँदा संघीयताको अभ्यासअनुसार आ–आफ्नो एकल तथा साझा अधिकारको सूची एवं कार्य जिम्मेवारीअनुसार दिगो विकास लक्ष्यको आन्तरिकीकरण गर्न आवश्यक भएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत स्वास्थ्य, शिक्षा, खानेपानी तथा ढल निकास, विद्युत्, सामाजिक सुरक्षा, वातावरण संरक्षण र साना पूर्वाधार जस्ता विषय स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने हुँदा स्थानीय तहका योजना र वार्षिक विकास कार्यक्रममा दिगो विकास लक्ष्यको मूलप्रवाहीकरण हुनु सान्दर्भिक देखिन्छ । नेपालले दिगो विकास लक्ष्यको कार्यान्वयन गरी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्ने उद्देश्य लिएको छ । दिगो विकास एजेण्डाले त्यस्तो विश्वको चाहना गरेको छ, जुन विश्व गरिबी, भोक, रोग र तृष्णाबाट मुक्त होस् र जहाँ सबैले आफ्नो जीवन फलाउन फुलाउन सकोस् । एजेण्डाले सबैजना पढ्न लेख्न सक्ने भएको, भय र हिंसाबाट मुक्त भएको, न्यायपूर्ण र गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार र सामाजिक सुरक्षाको सुविधा सबैलाई प्राप्त भएको हेर्न चाहेको छ । पिउने पानी र सरसफाइको सुविधा अधिकारको रुपमा स्थापित भएको, खाद्य पदार्थ तथा पोषणको ग्यारेन्टी भएको, सुरक्षित र प्रतिरोधी मानव वस्ति, दिगो उर्जामा पहुँच, मानव अधिकार र मानव गरिमा सम्मान भएको, कानूनी शासन, समानता र भेदभाव रहित, सबै जातजाति, संस्कृति र नश्लप्रति बराबरी सम्मान, सबै वालवालिक हिंसा र शोषण विना विकास गर्न पाएको, सबै महिला र बालिकाहरुले लैंगिक समानताको अनुभूति गर्न पाएको, समतामूलक, सहनशील, खुला र समावेशी विश्व, सबै देशहरुले दिगो, समावेशी र दिगो आर्थिक बृद्धि र सम्मानजनक काम उपलब्ध भएको र मानव जाति प्रकृतिबीच छुट्ट्याउन नसकिने सम्बन्धमा बाँचेको, सबै जीव र बनस्पतिहरुको संरक्षण भएको विश्वको कल्पना गरिएको छ ।दिगो विकास लक्ष्यको कार्यसूचीअन्तर्गत १७ वटा लक्ष्यहरू, १६९ परिमाणात्मक लक्ष्यहरू र २३२ वटा विश्वव्यापी सूचकहरू रहेका छन् । नेपालले देशको वस्तुगत यथार्थता समेट्ने गरी लक्ष्य १४ का सूचकबाहेक अन्य अन्तर्राष्ट्रिय सूचकको अतिरिक्त २४५ सूचकहरू थप गरी जम्मा ४७९ सूचकहरू निर्धारण गरेको थियोदिगो विकास लक्ष्यको अनुगमनका लागि राष्ट्रिय तथयाङ्ग पोर्टल तथा रिपोर्टिङ प्रणाली विकास भएको छ । साथै ,दिगो विकास लक्ष्यका विगतमा निर्धारित सूचकको दोहोरेपना हटाई परिमार्जित सुचकको संख्या ३०१ कायम भएको छ ।दिगो विकासका लक्ष्यहरू यस प्रकार रहेका छन्

Advertisement 2

दिगो विकास एजेण्डामा १७ वटा लक्ष्यहरु समावेश गरिएका छन् । जुन निम्न बमोजिम रहेका छन् ः
लक्ष्य १ः सबै ठाउँबाट सबै किसिमका गरिबीको अन्त्य गर्ने ,
लक्ष्य २ः भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने र दिगो कृषिको प्रवर्धन गर्ने भोकमरीको अन्त्य, खाद्य सुरक्षा एवम् सुधारसहितको पोषण हासिल र दिगो कृषि प्रवर्धन गर्ने ,
लक्ष्य ३ः सबै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने,
लक्ष्य ४ः सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरू प्रवर्धन गर्ने,
लक्ष्य ५ः लैङ्किक समानता हासिलगर्ने र सबै महिला, किशोरी र बालिकालाई सशक्त बनाउने ,
लक्ष्य ६ः सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने,
लक्ष्य ७ः सबैका लागि किफायतीे, विश्वसनीय, दिगो र आधुनिक उर्जामा पहुँच सुनिश्चित गर्ने,
लक्ष्य ८ः भरपर्दो, समावेशी र दिगो आर्थिक वृद्धि तथा सबैका लागि पूर्ण र उत्पादनमुलक रोजगारी र मर्यादित कामको प्रवर्धन गर्ने,
लक्ष्य ९ः उत्थानशिल पूर्वाधारको निर्माण, समावेशी र दिगो औद्योगीकरणको प्रवर्धन र नवीन खोजलाई प्रोत्साहन गर्ने ,
लक्ष्य १०ः मुलुक भित्र तथा मुलुकहरुबीचको असमानता घटाउने ,
लक्ष्य ११ः शहर तथा मानव बसोबासलाई समावेशी, सुरक्षित, उत्थानशिल र दिगो बनाउने,
लक्ष्य १२ः दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने ,
लक्ष्य १३ः जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न तत्काल पहल थाल्ने ,
लक्ष्य १४ः दिगो विकासका लागि महासागर, समुद्र र समुद्री साधन स्रोतहरुको दिगो प्रयोग तथा संरक्षण गर्ने,
लक्ष्य १५ः स्थलीय पर्यावरणको संरक्षण,पुनस्र्थापना र दिगो उपयागको प्रवर्धन गर्ने, वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण र भुक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने,
लक्ष्य १६ः दिगो विकासको लागि शान्तिपूर्ण र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने र सबै तहमा प्रभावकारी, जवाफदेही र समावेशी संस्थाको स्थापना गर्ने ,
लक्ष्य १७ः दिगो विकासका लागि विश्वव्यापी साझेदारी सशक्त बनाउने र कार्यान्वयनका लागि स्रोत साधन सुदृढ गर्ने ।
दिगो विकास लक्ष्यहरु अवधारणात्मक स्पष्टताका लागि दिगो विकास लक्ष्यहरूलाई देहायका पाँचओटा समूहहरूमा समूहीकृत गरिएको छ । मानवसभ्यताका आधारभूत पक्षहरू चारओटा लक्ष्यहरू (१, २, ६, ७) ले गरीबी र भोकमरी अन्त्य गर्ने र सबैको निम्ति आधारभूत पिउनेपानी, सरसफाई र आधुनिक ऊर्जा उपलब्ध गराउनेबारेमा चर्चा गर्दछन्।
उपलब्ध प्रविधिहरू र वित्तीय साधनहरूले विश्वका हरेक नागरिकहरूले पाउनुपर्ने न्यूनतम आवश्यकताहरूको निम्ति यी लक्ष्यहरूले एउटा स्तर तोकेका छन्। यिनीहरूले २१ औँ शताब्दीमा मानव सभ्यताको आधारभूत प्रतीकको रूपमा भौतिक मापदण्डहरू निर्धारण गर्छन्। मानव क्षमताहरू तथा सोसँग सम्बन्धित निकायहरूको भूमिका लक्ष्य ३ र ४ ले स्वस्थ जीवन, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त शिक्षाका बारेमा चर्चा गर्छन्। तिनीहरू आफैँ विकासका साध्यहरू मात्र नभई उच्च उत्पादनमूलक अर्थतन्त्र र नागरिक सक्षमतालाई केन्द्रबिन्दुमा राख्ने साधनहरू पनि हुन्। उच्च मानव आकाङ्कक्षा लैङ्किक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच र समावेशी निकायहरूसम्बन्धी लक्ष्यहरू (५, १० र १६) आधुनिक, प्रजातान्त्रिक राष्ट्र–राज्यहरूको माथिल्लास्तरका आकाङ्क्क्षाहरूसँग मिल्दाजुल्दा छन्। पूर्ण समानता वा पहुँच समयबद्ध रूपमा प्राप्त गर्न कठिनाइ हुनसक्छ, तथापि यिनीहरू निरन्तर रूपमा हासिल गर्न लागिरहनुपर्ने उपयुक्त लक्ष्यहरू हुन्।

दिगो प्रगतिको निम्ति साधनहरू लक्ष्यहरू ८, ९, ११ र १२ आर्थिक वृद्धि, रोजगारी, उत्थानशील पूर्वाधारहरू, औद्योगीकरण, सहर र वस्तीहरु उपभोग तथा उत्पादनको दिगोपनासँग सम्बन्धित छन्। यी लक्ष्यहरू जीवन र मानव प्रतिष्ठाका औसत गुणस्तरमा वृद्धि गर्नका लागि आवश्यक स्रोतसाधनहरूको सिर्जना र तिनीहरूलाई कायम गरिराख्ने लक्ष्यहरू हुन्। लक्ष्यहरू १३, १४ र १५ ले विश्वका आम मानिसहरूको हित संरक्षण गर्ने सम्बन्धमा चर्चा गर्छन्।
वातावरण परिवर्तनदेखि महासागरहरू, सामुद्रिक स्रोतहरू र वन, मरुभूमीकरण, जमिनको क्षयीकरण र जैविक विविधतालाई समेटेका यी लक्ष्यहरूले आर्थिक वृद्धि हासिल गर्दा र यसको लाभहरूको बाँडफाँड गर्दा प्राकृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्। यसैगरी भौतिक विकासका लक्ष्यहरू हासिल गर्दा वातावरणीय पक्षसँग कदापि सम्झौता गर्नुहुँदैन। दिगो विकास लक्ष्य मानिसका चाहनाको विस्तारित स्वरूप हो । दिगो विकासका १७ वटा लक्ष्यहरू एकआपसमा घनिष्ठ रूपमा आबद्ध रहेकाले यी लक्ष्यहरूलाई पृथक अवधारणका रूपमा नलिई एकीकृत समूहको रूपमा हेरिनु पर्दछ ।

Advertisement 3

दिगो विकास लक्ष्य र सहकारीता
समाजमा बस्ने विभिन्न तह र तप्काका मानिसहरूले उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गरी आपसी हित प्राप्तिका लागि स्वस्फुर्त रूपमा गठन गरिएका गैरनाफामुलक संस्था नै सहकारी हो । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारीता हो । सहकारी स्वावलम्वन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता खुलापन, सामाजिक न्याय र सामाजिक उत्तरदायित्व लगायतका मूल्य मान्यतालाई आत्मसाथ गरी समान भावना र आकाङ्कक्षा भएका व्यक्तिहरूले स्वैच्छिक रूपमा सामाजिक, सांस्कृतिक र आर्थिक हित प्रवद्र्धका लागि स्थापना गरिएको स्वायत्त संस्था हो । सहकारीलाई सामाजिक व्यवसायकोरुपमा पनि लिने गरिन्छ । सहकारीको मूल्य मान्यता, र सिद्धान्त अनुरूप देशका विभिन्न क्षेत्रमा छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई एकीकृत गरी सहकारी संस्थाको माध्यमबाट समग्र अर्थतन्त्रलाई विकास गरी सदस्यको आर्थिक उत्थानशिलता विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने कार्य सहकारी संस्थाले गर्दछ । सहकारी पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । सहकारी सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । सहकारीले उत्पादनमा जोड दिदै न्यायोचित वितरणको समेत कुरा गर्ने हुनाले दिगोविकासको अवधारणा अनुरुप अर्थव्यवस्थामा सहकारीले सवै वर्गको स्वामित्व स्थापित गर्दछ अर्थात गरिबको पनि स्वामित्व सम्पत्ति सिर्जना हुने परिकल्पना गरिएको हन्छ ।

सहकारीको सामाजिक उद्देश्य अन्तरगत उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरुमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य रहेको हुन्छ । धनको न्यायोचित वितरणबाट समाजका कमजोर एवं विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ । अर्कोतिर उनीहरुले सामाजिक न्याय र समानता पाउँछन् । सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवं उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरु प्रदान गरी उनीहरुको अािर्थक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो । समाजमा व्याप्त आर्थिक विचौलियापन, सामाजिक विभेद र उत्पीडन, सांस्कृतिक विचलन,गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय–अत्याचारको अन्त्य गरी एक आदर्श समुन्नत सुसंस्कृत समाजको निर्माण गर्नु र मानिसहरुमा सहयोग, एकता, इमान्दारिता, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरुको विकास गर्नु सहकारीको सामाजिक उद्देश्य हो ।

राष्ट्रको दिगो आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि गुणात्मक सहकारिताको विकास गर्दै समृद्धि राष्ट्र निर्माणमा सहकारी क्षेत्रले जोड दिँदै आएको पाइन्छ । सहकारीको माध्यमबाट शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग लगायतका क्षेत्रमा लगानी वृद्धि गर्दै गरिबी निवारण र दिगो रोजगारीका अवसरहरू सृजना गर्न सकिन्छ । सहकारी मार्फत विपन्न वर्ग, पिछडिएको समुदायलाई आर्थिक तथा सामाजिक सशक्तीकरणको प्रक्रियामा सहभागी गराउँदै सहकारी अभियानलाई सार्थकता प्रदान गर्न सकिन्छ । विपन्न वर्ग, समुदायका र महिलाका लागि क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै सदस्यलाई व्यवसायमा आबद्ध गराउँदै, सदस्यको आर्थिक उत्थान मार्फत गरिबी निवारण र दिगो रोजगारीका अवसरहरू सृजना गर्न सकिन्छ ।दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीभन्ने मूल नाराका साथ हुने ६२ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।

आर्थिक सर्वेक्षण २०७९÷८० अनुसार सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३,शेयर सदस्य संख्या ७३ लाख ८१ हजार २ सय १८ र कूल शेयर पूंँजी रु. ९४ अर्र्ब १५ करोड रहेको छ ।सहकारी क्ष्ेत्रमा रु.४ खर्ब ७८ अर्ब ३ करोड बचत परिचालन भई रु. ४ खर्ब २६ अर्ब ३५ करोड कर्जा प्रवाह भएको छ ।यस क्षेत्रबाट ९३ हजार ७ सय ३१ले प्रत्यक्ष रोजगार पाएका छन् ।
दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी उधमहरुको भुमिका

दिगो विकास लक्ष्यमा सहकारीले यसरी भुमिका खेल्नुर्पदछ ।
१. गरिबीको अन्त्य
दिगो विकास लक्ष्य १ ले सन् २०३० सम्ममा सबै स्थानबाट सबै मानिसहरूको अति गरिवीको अवस्थालाई अन्त्य गर्ने प्रस्ताव गरेको छ । यसका लागि राष्ट्रिय रूपमा परिभाषित गरिवीको रेखामुनि रहेका महिला, पुरुष र सबै उमेरका बालबालिकाबीचको गरिवीको अनुपातलाई उल्लेख्य रूपमा घटाउने परिमाणात्मक लक्ष्य राखेको छ ।सन् २०३० सम्ममा गरिबीको रेखामुनि रहेको संख्या पाँच प्रतिशत भन्दा तल झार्न कम्तीमा आधार तयार गर्ने सबैलाई न्यूनतम सामाजिक सुरक्षाको दायरामा ल्याउने आर्थिक श्रोत साधनमा पहुँच बढाउने गरिबीका कारण आर्थिक संकट सामाजिक समस्या र जलवायू परिवर्तन सँग जुध्न सक्न क्षमताको विकास गर्ने ,लघुवित्त,कार्यक्रममार्फत कृषि उद्योग र उत्पादन क्षेत्रमा लगानी गर्ने,गरिब असाहय तथा कृषकहरूलाई सहकारीमा आबद्ध गराउने,सदस्यहरूलाई सहकारी मार्फत सुपथ मूल्यमा मल विउ उपलब्ध गराई उत्पादनमा जोड दिने ,वित्तीय साक्षरता कार्यक्रममार्फत आम्दानी खर्चको व्यवस्थापन गर्न सिकाउने साथै फजुल खर्च गर्न रोक लगाउने, गरिबी निवारण सम्बन्धित कार्यक्रम तथा साधन श्रोतहरूको र समान अधिकारको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा वकालत गर्ने कार्यमा सहकारी उधमहरुले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ ।

२. भोकमरिको अन्त्य
यस लक्ष्यले सन् २०३० सम्ममा भोकमरीको अन्त्य गर्ने सोच राखेको छ, साथै सबै मानिसहरूलाई सुरक्षित, पोषणयुक्त र वर्षभरीलाई पर्याप्त खाद्यान्नको पहुँच सुनिश्चित गर्न जोड दिन्छ । यस लक्ष्यले कुपोषणको अन्त्य गर्ने उद्देश्य लिएको छ। यसका लागि कृषि उत्पादनलाई दोब्बर गर्ने र साना खाद्य उत्पादकहरूको आय र खाद्यान्न आपूर्तिको श्रृङ्खलामा सुधार एवं तिनको पहुँच सुचिश्चित गर्ने विषय पर्दछन्। यसले दिगो खाद्य उत्पादन प्रणाली र सबल कृषि अभ्यासहरूको कार्यान्वयनको सुनिश्चिततालाई परिमाणात्मक लक्ष्यको रूपमा किटान गरेको छ । यो लक्ष्य ले दिगो खाद्यान्न उत्पादन प्रणालीलाई सबल तुल्याउन बीउको आनुवंशिक विविधता कायम राख्ने, वनस्पतिजन्य बाली लगाउने, व्यावसायिक र घरेलु पशुपालन गर्ने कार्यलाई जोड दिन्छ ।नेपालमा खाद्य सुरक्षाका लागि कृषि सहकारी, विक्री वितरण सहकारी प्रशोधन सहकारी, कृषि सामग्री आपूर्ति गर्ने सहकारी आदिको आवश्यकता छ । सहकारी खेती, सामुहिक रूपमा लघु यान्त्रीकरण, उन्नत प्रविधिका उत्पादनको सुरक्षित भण्डारण प्रशोधन गर्ने कार्यबाट सहकारीले कृषि उत्पादकत्व बढाउन सघाउ पु¥याउने कार्यमा सहकारी उधमहरुले महत्वपुर्ण भुमिका भुमिका खेल्नु पर्दछ  ।

३. स्तरीय स्वास्थ्य र सम्मुन्नत समाज
सन् २०३० सम्ममा जिवित जन्ममा मातृ मृत्युदरको अनुपात प्रति १००,००० मध्ये ७० मा घटाउने लक्ष्य लिनु स्वस्थ जीवन र भलाइसँग सम्बन्धित दिगो विकास लक्ष्य ३ को मुख्य लक्ष्य हो। यसले नवजात शिशु र ५ वर्ष उमेरमुनिका बालबालिकाहरूको मृत्युको नियन्त्रण गर्ने लक्ष्य राखेको छ। एड्स, क्षयरोग, मलेरिया तथा उपेक्षित उष्णदेशीय रोगजस्ता महामारीको अन्त्य गर्ने तथा हेपाटाइटिस, पानीबाट सर्ने रोगहरू एवं अन्य संक्रामक रोगहरूको नियन्त्रण गर्दै स्वास्थ जीवन र मानवीय भलाइ हासिल गर्ने परिमाणात्मक लक्ष्य यसले राखेको छ। यस लक्ष्यअन्तर्गत स्वास्थ्य सुरक्षा र मानसिक स्वास्थ्यको प्रवद्र्धन तथा उपचार एवं नियन्त्रणमार्फत नसर्ने रोगहरूबाट हुने असामयिक मृत्युदर घटाउनेसमेत पर्दछ ।सन् २०३० सम्ममा यो लक्ष्यले सबैको स्वास्थ्य जीवन र चिरायुको लागि मातृ मृत्युदर घटाउने नवजात शिशु र बाल मृत्युदर घटाउने, रोगको प्रकोप नियन्त्रण गर्ने, सुखी स्वस्थ परिवारको परिवार कल्याण कार्यहरू गर्ने, सुर्ती तथा मदिराको नियन्त्रण गर्ने साथै स्वास्थ बिमा लाई बढावा दिन पहल गर्ने ,आफ्ना सदस्यहरूका लागि सहकारी अस्पातल खोली सर्व सुलभ स्वास्थ जाँचका लागि सेवा प्रवाह गर्ने कुरामा सहकारी क्षेत्रले अहम् भुमिका खेल्नु पर्दछ।

४. ग्ुाणस्तरीय शिक्षा
यस लक्ष्यले सबै छात्र तथा छात्राहरूलाई सान्दर्भिक तथा प्रभावकारी सिकाइ उपलब्धिहरूतर्फ अघि बढ्न पूर्ण रूपमा निशुल्क गुणस्तरीय आधारभूत तथा माध्यामिक शिक्षाको सुनिश्चित गर्ने ध्येय राख्छ। यसले छात्र तथा छात्राहरूको लागि बाल विकास र पूर्व प्राथमिक गुणस्तरीय शिक्षाको पहुँच प्रदान गर्ने सोच राख्दछ ।सबै बालबालिकाले निःशुल्क समतायुक्त र गुणस्तरिय रूपमा प्राथमिक र माध्यमिक शिक्षा सुनिश्चित रूपमा प्राप्त गर्ने, सदस्य परिवारमा शिक्षाको अवस्था र पहुँच, निरन्तर सहकारी शिक्षा वित्तीय साक्षरता शिक्षा, सीपमूलक तालिम तथा दिगो विकास लक्षका लागि सदस्यहरूको भूमिका आदिका बारेमा सिकाउने सहकारी क्षेत्रलाई सहयोग पुरयाउन सक्ने क्षेत्रका बारेमा जानकारी दिने कार्यमा सहकारीको महत्वपुर्ण भुमिका खेल्नु पर्दछ  ।

५.लैंगिक समानता
लक्ष्य ५ ले महिला तथा किशोरीविरुद्ध हुने सबै स्वरुपका विभेदहरू सबै स्थानहरूबाट उन्मूलन गर्ने लक्ष्य राखेको छ एवं सम्पूर्ण महिला, किशोरी तथा बालिकाविरुद्ध सार्वजनिक तथा निजी सेरोफेरोमा हुने सबै खाले हिंसाको अन्त्य गर्ने उद्देश्य राखेको छ । यस लक्ष्यले सबैखाले घातक अभ्यासहरू जस्तैः बालविवाह, महिलाविरुद्धको शारीरिक तथा यौन हिंसा, जबरजस्ती करणी आदिको अन्त्य गर्न निर्देशित छसन् २०३० सम्ममा यो लक्ष्य अन्तरगत लैंगिक समानता हासिल गर्ने, महिला विरुद्धका सबै भेदभावहरूको अन्त्य गर्ने, लैंगिक हिंसाको अन्त्य गर्ने, बालविवाह महिला बेचविखनको अन्त्य गर्ने , राजनैतिक, व्यवसायिक र सामाजिक जीवनमा महिलाहरूलाई नेतृत्वदायी भूमिकामा पु¥याउने, महिला सहकारी संस्थाको विकासण, सहकारी संस्थामा महिलाको उच्च सहभागिता, आय आर्जनमार्फत महिला सशक्तिकरणमा पहुँच पु¥याउने, पुरुष र महिलाहरूमा बराबरी कामको महत्व बारे सदस्यहरूलाई जानकारी गराउने  कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

६. स्वच्छ पिउने पानी तथा सरसफाई
दिगो विकास लक्ष्य ६ ले सबैका लागि सर्वसुलभ र स्वच्छ पिउने पानीको विश्वव्यापी र समतामूलक पहुँच हासिल गर्ने परिकल्पना गर्छ । यस लक्ष्यअन्तर्गत खुला दिशा गर्ने बानीको अन्त्य गर्न सबैका लागि पर्याप्त र समतामूलक सरसफाइ तथा स्वच्छता कायम गर्ने कार्य पनि पर्दछ । यस लक्ष्य अन्तर्गतको परिमाणात्मक लक्ष्यले प्रदुषण घटाउँदै, जताततै फोहर फाल्ने प्रवृत्ति हटाउँदै तथा हानिकारक रसायन र पदार्थहरूको न्यूनीकरण गर्दै पानीको गुणस्तरमा सुधार गर्ने कुरामा जोड दिन्छ । यसले सबै क्षेत्रहरूमा पानी–प्रयोगको मितव्ययी प्रयोग बढाउने तथा सबै तहतप्कामा जलस्रोत व्यवस्थापन एकतिृत रूपमा कार्यान्वयन गर्ने कुरा समाविष्ट छ । तर यसो गरिरहँदा, यस लक्ष्यले हिमाल, वन, सिमसार, नदी, ताल तथा तलैयाहरूसहित पानीजन्य पारिस्थितिकीय प्रणालीको संरक्षण र पुनस्र्थापनाको सवाल पनि सँगसँगै उठान गर्दछ ।यस अन्तरगत सवैका लागि सुरक्षित पानी र सफाइ सुविधा सुनिश्चित गर्ने ,सबैले समान ढंगले र दिगो प्रकारले पानी र सफाइको सुविधा पाउनु पर्ने, सुरक्षित पानीका श्रोतको एकीकृत ढंगले विकास गर्ने ,नदी नाला, ताल तलैया पोखरी आदिको संरक्षण गर्ने कार्यमा आ आफ्नो क्षेत्र बाट पहल गर्ने , सामुदायिक रूपमा खानेपानी सुविधाका संरचनाको व्यवस्था गर्ने, सहकारी संस्थाका सदस्यहरूलाई स्वच्छ खानेपानीका फाइदाका बारेमा जानकारी गराई त्यही अनुरूप कार्य गर्ने गर्न लगाउने । सहकारी र जनसहभागितामा ससाना खाने पानी आयोजनाहरू सञ्चालन गर्ने  कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

७. स्वच्छ ऊर्जामा सहज पहुँच
दिगो विकास लक्ष्य ७ ले सबैका लागि किफायती, भरपर्दो, दिगो र आधुनिक ऊर्जा सेवामा विश्वव्यापी पहुँच हासिल गर्ने, उर्जाको मिश्रणमा नवीकरणीय उर्जाको हिस्सालाई उल्लेखनीय रूपमा बढाउने तथा उर्जा किफायतीपनमा सुधारको दर दोब्बर बनाउने विषय समेट्छ । यस लक्ष्यले सबैलाइ दिगो, सहज पहुँचयुक्त र आधुनिक ऊर्जाको सुविधा पु¥याउने, सबैलाई नवीकरणीय ऊर्जाको पहुँच पु¥याउने, सहकारी संस्थाहरूमार्फत जल विद्युत , सौर्य ऊर्जा, वायु ऊर्जा , जैविक ऊर्जा लगायतका आधुनिक ऊर्जा उत्पादनमा संस्थागत रूपले अगाडि बढ्ने ।वैकल्पिक ऊर्जाका बारेमा सदस्यहरूलाई जानकारी गराउने कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ  ।

८. मर्यादित रोजगार तथा आर्थिक वृद्धि
यस लक्ष्यले कूल गार्ह्रस्थ उत्पादनको वार्षिक कम्तिमा ७ प्रतिशत वृद्धिदर हासिल गर्ने र त्यसलाई निरन्तर टिकाउने उद्देश्य राख्छ, जसका लागि दोस्रो परिमाणात्मक लक्ष्य सहयोगीसिद्ध हुनसक्नेछ । यसले विविधिकरण, प्रविधिको स्तरोन्नति र नवप्रवर्तनमार्फत उच्चस्तरको उत्पादकत्व हासिल गर्ने लक्ष्य लिएको छ । सबै महिला तथा पुरुषका लागि पूर्ण र उत्पादनमूलक रोजगारी र मर्यादित कार्य वातावरण हासिल गर्ने, स्रोतहरूको किफायतीपनामा सुधार गर्ने, बाध्यात्मक बालश्रमको अन्त्य गर्ने, सबैका लागि वित्तीय सेवा विस्तार गर्ने आदि पनि विस्तृत लक्ष्यहरूमध्येको महत्वपूर्ण क्षेत्रगत परिमाणात्मक लक्ष्य हुन्।यस लक्ष्य अन्तर्गत दिगो, समावेशी आर्थिक बृद्धि हासिल गर्ने उत्पादक रोजगारीका अवसरहरू प्रदान गर्ने र मर्यादित कामको सुनिश्चितता गर्ने, उत्पादक रोजगारीका लागि न्यायोचित ज्याला दिने , समाजलाई प्रतिकूल असर नपर्ने र आत्म सम्मानका साथ स्थानीय तहमा पाइने उत्पादन र संस्कृतिलाई रोजगारीको माध्यम बनाउने, स्वरोजगारीका लागि श्रम र कामप्रति सकारात्मक सोंच सम्बन्धमा तालिम तथा गोष्ठी सञ्चालन गर्ने  कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

९.उद्योग पूर्वाधार र नवीन सिर्जना
दिगो विकास लक्ष्य ९ ले आर्थिक वृद्धि र मानवीय समृद्धिका लागि क्षेत्रीय तथा सीमापार पूर्वाधारसमेत गुणस्तरीय, भरपर्दो, दिगो र मजबुत ढंगले निर्माण गर्ने उद्देश्य राख्छ । यसो गर्नको लागि यस लक्ष्यले समावेशी र दिगो औद्योगीकरणको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । यसले स–साना औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको मूल्य सृंखला तथा बजार समायोजन खोजको विकासमा पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यसभन्दा बढी यस लक्ष्यअन्तर्गतका परिमाणात्मक लक्ष्यहरूले बनाइने पूर्वाधारहरूको मजबुतीमा सुनिश्चित्ता खोज्दछ एवं वैज्ञानिक अनुसन्धानका कार्यहरूको अभिवृद्धि गर्नेमा जोड दिन्छ । भौतिक पूर्वाधारको ह्रासले यस प्रदेशमा उत्पादनशील क्षमता र उपलब्ध स्रोतहरूको पूर्ण उपयोगमासमेत गिरावट आइरहेको छ । प्रदेशको यस्तो अवस्थाले गर्दा यस लक्ष्यको पनि परिपूरण माग गर्दछ ।यस लक्ष्य अनुसार भरपर्दो र टिकाउ पूर्वाधारको विकास , समावेशी औद्योगिकरण र अन्वेषणको प्रवद्र्धन गर्ने विषयहरू समेटिएका छन् । यो लक्ष्य प्राप्तिका लागि साना तथा मझौला उद्योगहरूको विकास गर्न लघुकर्जा प्रदान गरी सहयोग गर्ने , अन्य वित्तीय संघ संस्थाहरूले समेट्न नसकेको क्षेत्र पहिचान गरी त्यस्ता उद्योगलाई सहकारीमार्फत परिचालन गरी दिगो विकासमा सहयोग पु¥याउने  कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

१०.असमानता न्यूनीकरणः
लक्ष्य १० ले पिँधमा रहेका ४० प्रतिशत जनसंख्याको आयमा राष्ट्रिय औसतभन्दा माथि पु¥याई दिगो रूपमा टिकाइराख्ने लक्ष्य लिएको छ। यसले सबै मानिसहरूको सामाजिक, आर्थिक तथा राजनीतिक समावेशीकरणको प्रवद्र्धन र सशक्तिकरण गर्दै परिकल्पित लक्ष्य हासिल गर्ने उद्देश्य राखेको छ। यस लक्ष्यले परिणाममा देखिने असमानता कम गर्ने तथा अवसरहरूको समान ढंगले मापन गर्ने अभिलाशा राख्छ । विशेषगरी वित्तीय, तलव÷ज्यालासम्बन्धी तथा सामाजिक सुरक्षा नीतिहरू, एवं उच्च समानता उन्नत ढंगले हासिल गर्न आवश्यक नीतिहरू अंगिकार गर्दै आपसी पहलहरूबीच परिपूरणको भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको छ । यस लक्ष्यले राष्ट्रहरू बीच र मुलुकभित्र र परिवार बीच असमानता घटाउने, यसका लागि आय स्रिङ्खलामा सबैभन्दा तल्लो आयस्तर हुने जनताको आयबृद्धि मुलुकको औसत प्रतिव्यक्ति आयबृद्धि भन्दा उच्च रहनु पर्ने, सहकारीका सदस्यहरूको सबै उमेर लिंग, जाति समुदाय र न्यून आर्थिक स्तरका व्यक्तिहरूमा समान अवसर र आर्थिक बृद्धिको लाभमा सहभागिता जनाउनु पर्ने  कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

११. दिगो सहर र समुदाय
दिगो विकासको यस ११ नम्बरको लक्ष्यले सबैका लागि पर्याप्त, सुरक्षित र सहुलियतपूर्ण आवास तथा आधारभूत सेवाहरूको पहुँच पु¥याउने एवं सुकुम्बासी बस्तीहरूको स्तरोन्नति गर्ने उद्देश्य लिएको छ । यसले सबैका लागि सुरक्षित, सहुलियतपूर्ण, पहुँचयोग्य तथा दिगो यातायात प्रणालीको पहुँच सुनिश्चित गर्ने तथा समावेशी र दिगो शहरीकरणको सुदृढ गर्ने ध्येय राखेको छ । यसले विश्वको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, तथा विपद्हरूबाट कूग्राउ (जिडिपी) सँग सम्बन्धित आर्थिक नोक्सानी उल्लेख्य मात्रामा घटाउने उद्देश्य राख्छ । यस अन्तर्गत सहर र बस्तीहरू समावेशी सुरक्षित र दिगो बनाउने, सबैलाई आवास र आधारभूत सुविधाहरू प्रदान गर्ने, सबैका लागि सुलभ सुरक्षित एवं आयले धान्न सक्ने यातायात सेवाको व्यवस्था गर्ने सहरीकरणलाई व्यवस्थित गर्ने र सहरी वातावरण स्वच्छ राख्ने जस्ता विषय समेटिएका छन । सहकारीले सदस्यहरूलाई भवन कर्जा दिंदा मापदण्ड हेरर मात्र लगानी गर्ने  कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

१२. जिम्मेवारीपूर्ण उत्पादन र उपभोगः
यस लक्ष्यले दिगो उपभोग र उत्पादनसँग सम्बन्धित कार्यक्रमहरूको १०–वर्षे खाकाको कार्यान्वयनको प्रस्ताव गर्दछ, ताकि जसबाट सन् २०३० सम्ममा प्राकृतिक स्रोतहरूको किफायती प्रयोग र दिगो व्यवस्थापन हासिल हुन सकोस्। यसले सन् २०३० सम्ममा खुद्रा तथा उपभोक्ता तहहरूमा प्रतिव्यक्ति खानाको क्षतिलाई आधा गर्ने उल्लेख गरेको छ । यो लक्ष्यले सम्पूर्ण उपभोग र उत्पादन प्रणालीलाई दिगो बनाउने आकांक्षा राखेको छ । खाद्यान्न नोक्सानी घटाउने रासायनिक वस्तुहरूको उपभोग घटाउने एक पटक प्रयोग भएका वस्तुहरू सम्भव भएसम्म रिसाइकल गर्ने, कृषि उद्योग व्यवसाय श्रोत संरक्षण आदिमा नया पद्धतिको प्रयोग गर्ने, बाली उठाउँदा खाना पकाउँदा र प्रयोग गर्दा हुन खाद्य नोक्सानीका बारेमा ध्यान दिने, वातावरण मैत्री र समाजप्रति जिम्मेवार बनाउने कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

१३. जलवायु परिवर्तनमा तत्काल पहल
दिगो विकास लक्ष्य १३ सबै मुलुकहरूमा प्राकृतिक प्रकोप र जलवायु–सम्बन्धी जोखिमहरूको पुनर्उत्थान र अनुकुलनको क्षमता सुदृढ गर्ने कार्यसँग सम्बन्धित छ । यसले जलवायु परिवर्तनका मापनहरूलाई राष्ट्रिय नीति, रणनीति र योजनासँग एकीकरण गर्ने उद्देश्य लिन्छ । यससँगै जलवायु परिवर्तन न्यूनीकरण, अनुकुलन, असर कम गर्ने तथा पूर्वसतर्कतासम्बन्धी शिक्षामा सुधार गर्ने, सचेतना जगाउने, र सोसम्बन्धी संस्थागत तथा मानवीय क्षमता सुदृढ गर्ने लक्ष्य यसले राखेको छ । यस लक्ष्यअन्तर्गतको परिमाणात्मक लक्ष्य दिगो विकास लक्ष्य ११ सँग उल्लेखनीय रूपमा अन्तर–सान्दर्भिक छ, जस्तो शहरहरू उर्जा प्रयोग र कार्वनडाइअक्साईड उत्सर्जनको केन्द्रविन्दु हुन्। यस लक्ष्य बागमती प्रदेशको द्रुत शहरीकरणसँगै जलवायु–उत्थानशील पूर्वाधारहरूको निर्माणको अवसरहरूको उल्लेखनीय विद्यमानताले गर्दा प्रत्यक्ष रूपमा सम्बन्धित छ । जलवायु परिवर्तनको असर यसअर्थ पनि देखिइरहेको छ कि पानीका स्रोतहरू सुकीरहेका छन् भने अतिवृष्टि, अनावृष्टिले यस प्रदेशको कृषि उत्पादनलाई प्रभावित गरिरहको छ ।यो लक्ष्य जलवायू परिवर्तनलाई न्यूनीकरण गर्ने र अनुकूल क्षमता बढाउने विषयमा छ । यसले विश्वमा बढ्दो तामक्रमले पार्ने प्रकोप, विनासहरू र जैविक विविधतालाई कम गर्न विभिन्न कार्यक्रम मार्फत सचेतना फैलाउने काम गर्न सकिन्छ । सहकारीले वातावरणलाई असर पार्ने कार्य नगरे पनि निजी क्षेत्र र राज्यले गरेकाले जैविक विधिको कृषि, नवीकरणीय ऊर्जा, हरित वन खोला नाला सरसफाई आदि जस्ता वातावरण मैत्री कार्य गर्न सक्ने कार्यमा सहकारीले महत्वपुर्ण भुमिका खेल्नु पर्दछ।

१४. जलमुनिको जैविक विविधताको संरक्षण
। यस प्रदेशको सन्तुलित विकासका लागि स्रोतहरूको दिगो प्रयोग हुन आवश्यक छ ।यो लक्ष्य समुद्री जीवन, समुद्री श्रोत र त्यसको व्यवस्थापनसँग सम्बन्धित छ । सहकारीमार्फत सचेतना फैलाउंदै पानीमुनि रहेका जीवजन्तुको संरक्षण गन जरुरी छ भन्ने बुझाउन सहकारी उधमहरुले भुमिका खेल्नु पर्दछ  ।

१५.जमिन माथिको जैविक विविधताको संरक्षण
यस लक्ष्यले भू–स्थलीय तथा भूमिगत जलचरको पारिस्थितिकीय प्रणाली र तिनको सेवामा संरक्षण, पुनर्भण्डारण तथा दिगो प्रयोगको सुदृढिकरण गर्ने उद्देश्य राखेको छ । सबै खाले वनजंगलहरूको दिगो व्यवस्थापनको कार्यान्वयनलाई प्रवद्र्धन गर्ने, वन फडानी रोक्ने लक्ष्य राखेको छ । यसले सन् २०३० सम्ममा दिगो विकासका लागि क्षमता अभिवृद्धि गरी आवश्यक लाभ प्रदान गर्न तिनीहरूको जैविक विविधतासहित हिमाली पारिस्थितिकीय पद्धतिको संरक्षण सुनिश्चित गर्ने कुरामा जोड दिन्छ । यस प्रदेशमा तुलनात्मक रुपले वनले ओगटेको भूभाग अधिक छ, प्राकृतिक स्रोतहरू आर्थिक विकासको लागि महत्वपूर्ण सावित हुन सक्नेछ यस लक्षले विशेष गरी जंगल जमिन जैविक विविधताको संरक्षण जमिनको क्षयीकरणको नियन्त्रण,वन विनास नियन्त्रण, वृक्षरोपणमा विस्तार वन्यजन्तु संरक्षण गर्नेछ । नेपालमा भएको वन उपभोक्ता समितिहरूको विस्तार गरी पर्यावरणलाई व्यवस्थित पार्न सक्नेछन् । त्यसैगरी आ आफ्ना व्यवसाय सञ्चालन गर्दा वन जमीन र वातावरण विनास हुनवाट रोक्न सकिन्छ । सहकारीका सदस्यलाई जैविक विविधताको संरक्षण बारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भुमिका खेल्नु पर्दछ  ।

१६.शान्ति, न्याय र सशक्त निकाय
यो लक्ष्यमा शान्तिपूर्ण समाज र न्यायमा सबैको पहँुच, समावेशी संस्थाहरूको विकास मार्फत दिगो विकास गर्ने विषय समेटेको छ । सबै प्रकारका हिंसाको अन्त्य गर्ने ,मेलमिलाप बढाउने,अवैध हात हतियार, लागू पदार्थ र मानव ओसार पसार रोक्ने, भ्रष्टाचार घूसखोरीको गर्ने, पारदर्शिता र जवावदेहिता सुनिश्चित गर्ने, सूचनाको हक स्थापित गर्न जस्ता विषयमा जोड दिएको छ । यस लक्ष अन्तरगत रहेर सामाजिक न्याय नै सहकारीको व्यवसाय भएकोले सुशासनको पाटोमा थप कार्य गर्न सक्ने सहकारी क्षेत्रले अहम् भूमिका खेल्नु पर्दछ  ।

१७. लक्ष्य प्राप्तिको लागि साझेदारी प्रयास
दिगो विकास लक्ष्य १७ ले घरेलु स्रोत परिचालनको सुदृढिकरण चाहन्छ । यी परिमाणात्मक लक्ष्यहरू विकसित देशहरूले प्रतिवद्धता गरेअनुरुपको आधिकारिक विकास सहायता लिन पहल गर्न, विकासशील राष्ट्रहरूका लागि स्रोतहरूमध्ये अतिरिक्त वित्तीय स्रोतहरूको परिचालन गर्न, दिगो विकासको लागि नीतिहरूको सम्मिलन अभिवृद्धि गर्ने, तथा सुदृढ तथ्याङ्क, अनुगमन एवं तथ्याङ्कीय क्षमता आदिको पूर्ण कार्यान्वयन गर्न परिलक्षित छ । यो लक्ष्य अन्तर्राष्ट्रिय साझेदारीका मान्यताबाट दिगो विकास लक्ष्य कार्यान्वयनका क्षमता बढाउने विषयसँग सम्बन्धित छ । आन्तरिक साधन श्रोतको परिचालन बढाउने ,वैदेशिक सहायता , प्रतिबद्धता, लगानी प्रबद्र्धनको वातावरण बनाउने, नयाँ प्रविधिको खोज, व्यापार सहजीकरण, आर्थिक नीतिमा सुधार गर्ने, आदिको अनुगमन समेत यसले गर्दछ । सम्पूर्ण लक्ष प्राप्तिका लागि सहकारी संघ संस्थाले माथिल्लो निकायसँग समन्वय गरी कार्य गर्नु पर्दछ ।

उपसंहार
सहकारीको सामाजिक, आर्थिक, न्यायिक, शैक्षिक उद्देश्य दिगो विकास लक्ष्यसँग अन्तरसम्बन्धित छ । सहकारीको सामाजिक उद्देश्य अन्तरगत उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरुमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य रहेको हुन्छ । न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवं विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरुले सामाजिक न्याय र समानता पाउँछन् । सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवं उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरु प्रदान गरी उनीहरुको अािर्थक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो । समाजमा व्याप्त आर्थिक विचौलियापन, सामाजिक विभेद र उत्पीडन, सांस्कृतिक विचलन,गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय–अत्याचारको अन्त्य गरी एक आदर्श समुन्नत सुसंस्कृत समाजको निर्माण गर्नु र मानिसहरुमा सहयोग, एकता, इमान्दारिता, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरुको विकास गर्नु सहकारीको सामाजिक उद्देश्य हो । सहकारीले आफ्ना सदस्यहरुको चेतना विकासका लागि निरन्तर रुपमा सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । यसरी सहकारीले सिद्धान्त बमोजिम आफ्ना उद्देश्य हासिल गर्दै जादा ती १७ वटा दिगो विकासका लक्ष्यहरु धेरै हद सम्म हासिल गर्न सकिन्छ ।सहकारी विश्वको हरेक कुना कुनामा, टोल टोलमा र व्यक्ति व्यक्तिमा पुग्न सफल संगठन पनि रहेकोले सहकारीले आफ्ना सिद्धान्त मूल्य मान्यता बमोजिम उद्देश्य पुरा गर्न लाग्ने हो भने समुदायको समाजको राष्टको विश्वको आमुल परिवर्तन गर्न सकिन्छ । परिणामस्वरुप दिगो विकासका लक्ष्य प्राप्ति गर्न सकिन्छ । त्यसैले दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी अपरिहार्य सावित भएको छ । सहकारी समुदायमा आधारित संगठन हो । समुदायको हरेक सदस्यको आर्थिक, सामाजिक, न्यायिक, शैक्षिक विकासमा सहकारीले मुख्य भुमिका खेलेको हुन्छ ।नेपाल सरकारले सहकारीलाई अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा लिएको छ । सहकारीको माध्यमबाट गरिबी निबारण, भोकमरीको अन्त, राम्रो स्वास्थ्यको लागि स्वास्थ्य शिक्षा, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाई, नविकरणीय उर्जा, राम्रो रोजगार र आर्थिक सम्वृद्धि, औद्योगिकरण÷नविन्तम भौतिक संरचना, असमानताको अन्त्य, दिगो शहर र समुदाय, शान्ति र न्याय, जलवायु प्रभावको क्षेत्रमा प्रत्यक्ष काम गर्न सकिन्छ । दिगो विकासका लक्ष्यहरु अन्तरगत जिम्मेबार खपत, जलवायु प्रभाव, पानी मुनिको जीवन, जमिन माथिको जीवन, शान्ति र न्याय, लक्ष्यको लागि साझेदारी सहकारीको मूल्य र मान्यताहरुमा स्वउत्तरदायित्व अन्तरगत पर्दछ । त्यस्तै सहकारीको समानता भन्ने मुल्य अन्तरगत लैंगिक समानता, असमानताको अन्त्य जस्ता दिगो विकासका लक्ष्यहरु पर्दछन् । यस्तै सहकारीको न्याय मूल्य अन्तरगत शान्ति र न्याय तथा एक्यबद्धता अन्तरगत लक्ष्यको लागि साझेदारी जस्ता लक्ष्यहरु परेका छन् । दिगो विकास लक्ष्यमा समेत सहकारी क्षेत्रको वहुमूल्य भूमिका रहनु पर्नेछ भन्ने आह्वान अनुरूप विश्वभरका सहकारी संघ संस्थाहरूले दिगो विकास लक्ष्यलाई ध्यानमा राखी आआफ्ना योजना बनाउने पर्ने देखिन्छ । राष्ट्रको दिगो आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका लागि दिगो विकासका लक्ष्यहरूलाई सहकारी क्षेत्रले प्रभावकारि रुपमा अवलम्बन गर्नु आवश्यक रहेको छ ।सहकारी संस्थाको परिचालन मार्फत राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याँउदै, भोकमरीको अन्त्य, गरिबी निवारण, असमानता न्यूनीकरण, सामाजिक न्याय र समानता,जलवायु परिवतर्न, वातावरण संरक्षण सहितको राष्ट्र निर्माण गर्नु, सहकारी क्षेत्रको प्रभावकारी परिचालन गरी राष्ट्रिय अर्थतन्त्रको आधारशिला निर्माण गर्दै, सहकारी क्षेत्रको व्यवसायीकता प्रवर्द्धन गर्ने, वित्तीय सुशासन कायम राख्न सकेमा सहकारी मार्फत विश्वलाई अझै राम्रो बनाउँदै आगामी ७ बर्षको समयमा दिगो विकासका लक्ष्य प्राप्तिमा केन्द्रितभई काम गर्नु पर्दछ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

प्रकाशित :२०८० आश्विन ८, सोमबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry