यी हुन् नेपालको पहिलो महिला सिडिओ

महोत्तरीमा जन्मिएकी उषा नेपालको परिचयको खातामा मुलुकको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरक्षित छ । प्रजातन्त्र पुनः स्थापनाको रापतापमा उनी भक्तपुरमा सीडीओ बनिन् । ०२७ मा प्राध्यापनबाट सरकारी सेवामा पसेकी नेपाल ०३३ मा निजामती सेवामा छिरिन् । आफ्ना जागिरे अनुभवसहितको आत्मकथालाई उनले हालै पुस्तकाकार दिएकी छिन्, पहिलो महिला सीडीओ नाम दिएर । पहिलोपटक सिडिओ हुँदा धेरै पुरुषले उनलाई गिज्याउँदै भनेका थिए, अब हामीले पनि फ्रक लगाएर हिँड्नुपर्ने होला।
के उनी सहजै सिडिओ बनेकी थिइन् त? पक्कै होइन। सफलताको कथा पढ्नुअघि उनको विगतको संघर्ष कोट्याउनु जरुरी छ। त्यही अभाव, अडान र संघर्षका कारण नै उषाले यो सफलता चुमेकी हुन्।

Advertisement 1

पढाइको भोक
महोत्तरीको एक सामान्य गाउँमा जन्मिएकी उषाको अक्षरयात्रा घरबाटै सुरु भएको थियो। बुवाले शिक्षकको व्यवस्था घरैमा गरिदिएपछि उनले चाँडै शिक्षा हासिल गर्न पाइन्। हजुरआमा बिरामी भएपछि उषाका परिवार भारतको बनारस गए। उनले त्यहीँ स्कुल जान थालिन्। हजुरआमा उतै बितेपछि भने नेपाल परिवार पुनः यतै फर्कियो। त्यसपछि जनकपुरमा उषाले आठ कक्षासम्म पढिन्। सानै उमेरमा बिहे गर्ने त्यो बेलाको चलन जस्तै थियो। उषाका लागि पनि विवाहको कुरा चल्यो। जबकि उनी १२,१३ वर्षकी मात्रै थिइन्। बनारसमा रहँदा उनमा एउटा छाप परेको थियो, जसरी हुन्छ पढ्नुपर्छ। उनले पढाइ नसकी बिहे नगर्ने अड्डी लिइन्। तर परिस्थिति बिहे गर्नैपर्ने खालको बनेपछि उनले सर्त राखिन्, बिहेपछि पनि पढ्ने। ससुराले बिएसम्म पढाउने वचन दिए।

बिहेपछि उषा विराटनगर आइन्। त्यहीँ प्राइभेटबाट थप पढाइ जारी रह्यो। बालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन्। एसएलसी सफलताको केही महिनामै उषाको जीवनमा ठूलो बज्रपात आइपर्‍यो। डुंगा दुर्घटनामा श्रीमान्‌को निधन भयो। निराशापूर्ण रंगहीन एक वर्ष जसोतसो कटाइन्। त्यसपछि बिस्तारै उनमा पढाइको भोक सुरु भयो। विराटनगरमा रात्रिकालीन कलेज भए पनि बुहारी भएकै कारण उनले पढ्न पाइनन्। बरु बनारसबाट प्राइभेटमा आइए पास गरिन्।

Advertisement 2

उनकी किताबको किरो थिइन्। जुनसुकै अवस्थामा पनि नपढी नहुने। आइएपछि उनी बनारसमै होस्टेल बसिन्। त्यहीँ बसेर बनारस हिन्दु विश्वविद्यालयबाट बिए उत्तीर्ण गरिन्। बल्ल उनले बिहेअघि राखेको सर्त पूरा भएको थियो। बिए सकेर विराटनगर फर्किएकी उषाले पढाउन सुरु गरिन्। जुन विद्यालयबाट एसएलसी दिएकी थिएँ, त्यहीँ शिक्षण सुरु गरेँ, उनलाई सम्झना छ, त्यहाँ लगभग एक वर्ष पढाएँ। उनको घरमा पाहुना टुट्दैनथे। जसले पनि पढाइबारे चासो राख्ने भएकाले उनलाई थप हौसला मिलेको थियो।

ुपरिवारको अन्य सदस्यले मलाई पढाउन त्यति रुचि देखाएका थिएनन्,ु उनी भन्छिन्, तर, त्यहाँको वातावरणले काम गर्‍यो। मैले बिए पास गरेपछि त सबैले मेरो ससुरालाई तपाईंले राम्रो काम गर्नुभयो भनेर प्रशंसा गर्थे। ससुराले उनको सर्त त पूरा गरिदिएका थिए। तर उषालाई एमए पढ्ने हुटहुटी जाग्यो। पढाएर मात्रै समय कटाउन मन थिएन। एउटै प्रश्नले लखेटिरहन्थ्यो उनलाई– मैले कसरी एमए गर्ने ?

Advertisement 3

पत्रिकामा आँखा डुलाउँदै गर्दा भारतबाट दिइने छात्रावृत्तिका लागि गोरखापत्रमा सूचना छापिएको देखिन्। ढुंगा खोज्दा देउता मिल्यो भनेझैं तत्कालै उनले फाराम भर्ने निर्णय गरिन्। तर, घरमा कसैलाई थाहा दिइनन्। मेहनत र संघर्षको प्रतिफल, उनको नाम निस्कियो। कन्फर्नमेसन लेटर र टिकट घरमै पुग्यो। तबमात्रै उनले भूमिगत शैलीमा गरेको कामको पोल खुल्यो। घरमा उनलाई रोक्ने प्रयासमा थिए, सबै सदस्य। किनकि घरबाट टाढा जान नदिने पक्षमा थिए उनीहरु। आठ वर्ष प्रशिक्षण केन्द्रमा काम गरेपछि उनलाई त्यहाँ बसिरहन मन लागेन। आपूर्ति मन्त्रालयमा सरुवा मागिन्। त्यसबेला अमेरिकाको हबर्ट एच हम्फ्रे फेलोसिपका लागि आवेदन खुलेको थियो। मन्त्रालयका सचिव सन्तबहादुर राईबाट अनुमति पाएपछि उनले छात्रवृत्तिका लागि परीक्षा दिइन्। नाम पनि निस्कियो। राईको अर्को मन्त्रालयमा सरुवा भएपछि भने उषालाई पढ्न जानका लागि रोक्न खोजियो।

अमेरिका उड्ने मिति नजिकिँदै थियो। मेरा केही विरोधीले सचिवलाई उचालेर बिदा नै काटिदिएछन्, उनी सम्झिन्छिन्, त्यसको परवाह नगरी म अमेरिका उडेँ। तर, मन्त्रालयले बिदा रद्द भएको पत्र अमेरिका नै पठाएछ। अध्ययन बिदा लिएको मन्त्रालयले तलब काट्ने गरी पत्र पठाएको रहेछ। मन्त्रालयभित्रै उषाको लडाइँ जारी थियो। गृह मन्त्रालयको विपद् व्यवस्थापन र लागुऔषध सम्बन्धी महशाखा हेर्ने मुरारीराज शर्मा त्यहाँबाट सरुवा भए।उषालाई गृहसचिवले बोलाएको खबर लिएर एकदिन आपूर्तिमै एक जना गृह(सहसचिव आए। अरु कर्मचारीले उषालाई जिस्क्याए, आपूर्तिको उपसचिवलाई बोलाउन गृह(सहसचिव आउने रहेछन्।

त्यसपछि उषा गृहसचिव भक्तबहादुर कोइरालाकहाँ पुगिन्। उनलाई त्यहाँ नसोचेको प्रस्ताव आयो। प्रमुख जिल्ला अधिकारी लागि। गृहसचिवले हुन्छरहुँदैन यहीँ भन्दिनुस् भन्नुभयो। मैले हुन्छ भनेँ,’ उषा त्यो दिन सम्झिन्छिन्। आपूर्ति र सामान्य प्रशासन मन्त्रालयको एउटै भवन थियो। खाजा खाने समय कर्मचारीहरु तल झर्थे। एक जना पुरुषले उषालाई जिस्क्याउँदै भनेछन्, अब हामीले फ्रक लगाए भइहाल्यो नि।उषाले सुरुमा बुझ्न सकिनन्। उनलाई प्रमुख जिल्ला अधिकारी बनाउन पहिले नै आपूर्तिबाट गृह मन्त्रालय सार्न चिठ्ठी सामान्य प्रशासनमा पुगिसकेको रहेछ। पछि उनले थाहा पाइन्, महिला नै सिडिओ हुन थालेपछि पुरुषले फ्रक लगाउनु परेन तु भनेर उनलाई गिज्याएका रहेछन् ।

उषा नेपालबाट आरम्भ
उषा नेपाल नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुभयो । उहाँ २०४६ सालको परिवर्तनपछि भक्तपुर जिल्लाको प्रजिअ बन्नुभएको हो । उहाँ २०४७ साल फागुनमा पहिलोपटक महिला प्रजिअका रूपमा नियुक्त हुनुभएको हो । हाल अवकाश प्राप्त उहाँले ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङ जिल्लाको समेत प्रजिअको जिम्मेवारी निर्वाह गरिसक्नुभएको थियो ।

त्यसैगरी २०४९ पुसमा अम्बिका केसी दोस्रो महिला प्रजिअका रूपमा भक्तपुरमा नै नियुक्त हुनुभएको थियो । उहाँ नेपालको दोस्रो महिला प्रजिअ हुनुहुन्छ । हाल दुवै जना सेवा निवृत्त भइसक्नुभएको छ । त्यस्तै हीरादेवी पौडेल, मुनाका न्यौपाने र गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरे पनि प्रजिअ भइसक्नुभएको छ । सहसचिव र उपसचिव गरी हाल प्रजिअ बन्ने महिलाको सङ्ख्या ११ रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित :२०७७ फाल्गुन २४, सोमबार १०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry