हाम्रा संस्कृति, परम्परा र चाडपर्व लोप हुदै गएमा यसले निम्त्याउने खतरा

परम्परा र संस्कृति कुनै पनि देशका चिनारी हुन। कुनै पनि देश भित्र मनाईने चाडपर्व, अपनाईने संस्कार संस्कृति आदि लोप हुनु भनेको त्यो देशको पहिचान हराउनु हो। हाम्रो देशका परम्पराहरू विशिष्ट खालका छन्। छिमेकी देशले र हामीले मनाउने पर्व र संस्कार नामबाट मिले पनि सो मनाउने तरीका बिल्कूल फरक हुन सक्छ। यही विविधताले राष्ट्रिय पहिचान कायम गराएको छ । एउटै धर्म, सम्प्रदायमा मानिने पर्व पनि समाज अनुसार फरक हुन्छन्। यही फरकपनमा नै त्यो स्थानको पहिचान रहेको हुन्छ। यस्तो पहिचान कायम राख्ने चाड, पर्व, संस्कार,मेलाहरू र यिनको मौलिकता हराउदै जानाले हामीले हाम्रो पहिचान समेत गुमाउन पुग्छौ।

Advertisement 1

यो मामिलामा हामी हिजोको पुस्ता जत्तिको छैनौ र भोलीको पुस्ता हामी जत्तिको पनि हुने छैन, तेश्रो,चौथो पुस्ताले त यस्ता पर्व र संस्कारको नाम पनि सुनेको हुदैन । हरेक पुस्ता संगै यी चाडपर्व र संस्कारको महत्व क्रमशः स्खलन भएर गएको पाईन्छ। हाम्रा चाड पर्वहरू केवल भित्ते पात्रोमा मात्र सीमित हुन पुग्नेछन्।यसरी हुने स्खलनले हाम्रो पहिचानलाई समेत नामेट गराउछ।

यस्तो किन हुदैछ ? यदि यस्तो स्थिति रही रहेमा हाम्रो पहिचान कसरी दिने ? के हामी नेपाली हौ भन्नु पर्यो भने एशियाको एउटा देश जसको उत्तरमा चीन र दक्षिणमा भारत पर्छ भनेर मात्र हुन्छ ? यो पनि एउटा परिचय होला तर यो मात्र भौतिक परिचय हो यसले नेपालको आत्मा बोलेको हुदैन। यसको आत्मिक परिचय भनेको यहांको संस्कार र संस्कृति सहितको चिनारी हो जुन हाम्रो कला, संस्कृति, चालचलन, मेलापर्व संग जोडिएको हुन्छ। यसमा बिचलन आउनु वा यो लोप हुदै जानु भनेको हाम्रो देशको चिनारी लोप हुदै जानु हो। यसलाई जीवन्त राख्न हाम्रा भविष्यका पुस्तामा यी मूल्य र मान्यतालाई अभ्यस्त गराउन सक्नु पर्छ।

Advertisement 2

हामी संग भएका बिभिन्न धार्मिक आस्था र ती आस्थाले सृजना गरेका चाडपर्वको महत्व र तिनलाई मनाउने तरीकाहरू हाम्रा सन्ततीलाई जुन तवरले बुझाउन पर्ने हो त्यसरी बुझाउन नसक्नु हाम्रो कमजोरी हो। हामीले प्राथमिक तहको सामाजिक शिक्षामा हाम्रा सबै आस्था संग जोडिएका चाडपर्व र परम्परालाई समावेश गरेर थालिएको पठनपाठनको ब्यबस्थालाई अझै कृयाशील बनाउन जरूरी छ।

हाम्रा केही राजनीति गर्ने दलहरूले हाम्रा कतिपय संस्कार र चालचलनलाई अन्ध विश्वास संग जोडी दिने र त्यसैलाई विद्यालयमा पढाईने गर्नाले पनि हाम्रा मौलिक परम्परा एवं चाडपर्व ओझेलमा पर्न गएका छन्। हाम्रा चाडपर्व र संस्कृतिलाई पर्यटन ब्यबसाय संग जोड्न सके नेपालको भूगोल हेर्न खोज्ने पर्यटकको वसाई लम्ब्याउन सकिन्छ। हाम्रा वेशभूषा र गर गहनाले हाम्रो आत्मीक परिचयलाई सम्बोधन गर्ने हुनाले यिनको संरक्षणले रोजगारी बढ्ने र सम्बन्धित ब्यबसायलाई उन्नत गराउन सकिन्छ।

Advertisement 3

हामीले हाल मान्दै आएको संस्कार र संस्कृति समेत हाम्रा पिता पूर्खाको समयको तौर तरीका संग धेरै अन्तर हुदै आएको छ। त्यसै गरी हामीले मनाए जत्तिकै मात्रामा पनि हामी पछिको पुस्ताले मनाउन सक्दैन, यसरी नै हुने क्षयीकरणले यसको ह्रास हुने हो। त्यसैले यसलाई बचाउन वा जीवन्त राख्न राज्यले समेत चासो लिनु पर्ने हुन्छ। यसको लागि निःशुल्क रूपमा यसको पठनपाठनको ब्यबस्था मिलाउनु पर्छ।आज हाम्रा विभिन्न जातजातीले बोल्ने मातृ भाषा लोप हुदै जानाले त्यो समुदायको समेत परम्परा एवं संस्कार लोप हुन थालेको छ। यस्ता भाषालाई लिपीबद्ध गर्न नसक्दा पुस्तान्तरण हुन सकेनन् र हराउदै गए। यसरी हाम्रा सांस्कृतिक सम्पतिहरू हराउदै जादा त्यसो संरक्षण र प्रवर्द्धनमा राज्यले देखाउन पर्ने चासो देखाउन सकेन।
हामीले मुलुकमा बिभिन्न मातृ भाषाको विद्यालय प्राथमिक तह सम्म मात्र भए पनि खोल्ने भनेर शुरूवात त गरेका हौ तर यसलाई निरन्तरता दिन सकेनौ। यसको सट्टा बरू अंग्रेजी भाषालाई कक्षा १ बाटै पढाउन थाल्यौ। हामीले सोच्यौ कि मातृभाषाको पढाईले जागीर पाईने पनि हैन ,विदेश जाने माध्यम हुने पनि हैन, माथिल्लो तह सम्म निरन्तरता दिन सकिने पनि हैन भन्ने ठानेर आफ्नो मातृ भाषा छाडेर अरूको मातृ भाषा पढ्न पट्टी लाग्यौ। यो कारणळे पनि हाम्रो संस्कार र संस्कृति लोप हुने स्थिति आयो।

यसरी हाम्रो मौलिक परम्परा, संस्कृति लोप हुदै जादा सो रिक्त ठाऊमा आधुनिक संस्कृति र पर्वका नाममा विभिन्न बिकृति र बिसंगति भित्रिदै आए जसमा हाम्रा भावि पुस्ता झुम्मिन पुग्छन् र अन्त्यमा हाम्रो राष्ट्रियता खतरामा पर्छ। त्यसैले यो परिस्थिति नआओस् भनेर बेलैमा राज्य, समाज र हरेक अभिभावक सजग हुन जरूरी देखिन्छ।

प्रकाशित :२०८० भाद्र १५, शुक्रबार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry